खेतमा घर बने, डुबानमा परे

सञ्जय रानाभाट २०७९ साउन १७ गते १०:२८

पोखरा ।
२०३६ सालको कुरा हो । भरतबहादुर विश्वकर्मा २५ वर्षका थिए । म्याग्दीको दरबाङमा हुर्के, बढेका उनी विवाह गरी श्रीमतीलाई साथमा लिएर पोखरा सोझिए । पोखरा आएर सिधै अहिलेको डुबान क्षेत्र कमलपोखरीतिर बस्न थाले । भरतकै शब्दमा त्यति बेला पोखरा १३ कमलपोखरीतिर बयरघारी थियो । दिउँसै हिँड्दा पनि डर लाग्ने अवस्था भएको भरत सम्झिन्छन् । ‘एक्लै दुक्लै हिँड्नभन्दा साथमा एक जना लिएर हिँड्न सुरक्षित महसुस हुन्थ्यो,’ भरतले भने ।

त्यो बेला स्याल र खरायो हेर्न टाढा जान नपर्ने उनी सुनाउँछन् । ‘खोइ यो ठाउँमा कसरी आइयो थाहा नै छैन । गाउँबाट झरेदेखि यही ठाउँमा छु । अहिले यो घर बनाएको १२ वर्ष भयो,’ उनले भने, ‘योभन्दा पहिले म भाडामा बस्थें । दैनिक ज्यालादारी गर्थें ।’ पोखरा आएको ४९ वर्ष हुँदा पनि भरतबहादुर ज्यालादारी नै गर्छन् । ४ छोरी, श्रीमती र आफ्नो ज्यान उनैको भारमा छ । ‘गाउँबाट आउँदा रित्तै आएको थिएँ । पोखरामा आफ्नो भन्नु केही थिएन ।

अहिले आफ्नो भन्नु ४ कोठे अस्थायी एउटा घर छ । त्यही पनि डुबानले कहिले आफ्नै ज्यान लिन्छ, पत्तो छैन,’ उनले भने ।
भरतबहादुर विगतलाई स्मरण गर्दा निकै भावकु बने । उनी भक्कानिए । ‘दलालले कस्तो ठाउँमा ल्याएर फसाए । हुन त मेरै बुद्धि पुगेन,’ उनले भने, ‘न खानेपानी खान पाइन्छ । न त सुत्न, बुद्धि बिग्रिएर गलत ठाउँमा जग्गा किनेछु ।’

Advertisement

३६ सालमा आउँदा बयरघारी भएको कमलपोखरी अहिले पोखराको अत्यधिक महँगो घडेरी भएकोमध्येको एक ठाउँ हो । अहिले यही ठाउँमा मजदुरी गरेर घर बनाउने कुरा दिवा सपनामात्र हो । अझ भरत जस्ताका लागि भने यो कल्पना बाहिरको कुरा हो । तर, भरतले १२ वर्षअघि नै जग्गा किनेकाले घर बनाए । तर, भारतको मनमा शान्ति छैन । प्रत्येक वर्ष डुबानले उनलाई मात्र हैन स्थानीयको चैन लुटेको छ । जस्तो आइतबार पनि यहाँको बस्ती पानीले डुबायो र धेरै जना आफ्नै घरमा बस्न नमिलेर आफन्त र छिमेकीको शरण लिन बाध्य भए ।

घरैघरले भरिएको कमलपोखरी क्षेत्रको पानी काहुँखोला र दुई खोलाको मुहानतिर निकास निकाल्न सोमबार वडाध्यक्ष किरण बरालले उपाय खोजिरहेका थिए । २०३६ सालमा बयरघारी भएको कमलपोखरी क्षेत्र २०६० सालमा आइपुग्दा धान खेतमा परिणत भएको भरत बताउँछन् । ‘६० सालतिर यो सबै ठाउँमा धान रोपाइँ हुन्थ्यो । धान रोप्न मेला पात गएको भरतको सम्झना छ । तर, देशमा ०६२/६३ सालको जनआन्दोलनपछि खेत जति प्लटिङ बन्न थालेको उनले बताए । यति बेला २०६७ सालतिर आफूले ६० हजारमा अहिलेको जग्गा किनेको भरतले बताए ।

Advertisement

‘यति बेला खेत जति सबै प्लटिङ भएँ । यही बेला ६० हजारमा मैले जग्गामा किने यो साल नै ४ कोठे घर बनाएको हो,’ उनले भने । घर बनाएर बस्न थालेपछि विस्तारै बस्ती बढ्दै जाँदा अहिले ३/४ वर्षदेखि डुबान पर्न थालेको उनले सुनाए । भरत, मनेन्द्र भगत माली, रत्नकुमार कार्की जस्तै कमलपोखरीमा नयाँ नयाँ घर बनाउने अधिकांश बाहिरबाट बसाइसराइ गरेर आएका हुन् । उनीहरु धेरै ७० सालपछि घर बनाएका हुन् ।

पोखरा १३ मा कमलपोखरी डुबानको दीर्घकालीन समाधानका लागि काठमाडौंदेखि विज्ञहरु आएर पानी निकासको बाटो अनुसन्धान गरिरहेको पोखरा १३ का वडाध्यक्ष किरण बरालले बताए । ‘बर्सेनि यो ठाउँमा डुबान हुँदै आएपछि विज्ञलाई नै बोलाएर यसको दीर्घकालीन समाधान खोज्न लागिपरेका छौं,’ बरालले भने । जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी सुन्दर तिवारीका अनुसार गत वर्ष पनि २ वटा भैंसी डुबानमा परेर मरेको बताए । ‘पानी निकास गर्ने कुरा नै मुख्य कुरा हो । स्थानीय सरकारले दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले भने ।

जहाँ खानेपानीलाई ट्यांकरको भर छ, त्यहीं डुबान
पोखरा १३ कमलपोखरी यस्तो ठाउँ हो, जहाँका बासिन्दाले खानेपानीका लागि ट्यांक्टरको पानी घर घरमा झार्नुपर्छ । एकाबिहानै पानी लिएर ट्यांकर नआएको दिन हातमुख धुनदेखि भाँडाकुडा पखाल्न नपाएर दैनिकी अस्तव्यस्त हुन्छ । तर, बिडम्बना आइतबार साँझदेखि परेको अविरल वर्षका कारणले कमलपोखरी यति बेला डुबानमा छ । धेरैको घरको तल्लो भाग जलमग्न भयो । स्थानीय घरबाट बाहिर अग्लो ठाउँतिर बसेका छन् ।

वर्षा निरन्तर भएकाले बस्ती थप जोखिममा छ । कति बेला धनजनको क्षति हुने हो भन्ने त्रासमा स्थानीय छन् । स्थानीयलाई अन्नबाली, धनसम्पतिभन्दा पनि ज्यान जोगाउन धौ छ । यहाँ बासिन्दा आइतबार बेलुकाबाट छाडेर सुरक्षित ठाउँमा बसेका छन् । वर्षाका कारणले घर डुबानमा परेपछि आइतबार स्थानीय भरतबहादुर विश्वकर्माको परिवारले भाइको घरमा रात काट्यो । आइतबार बेलुका ११ बजेपछि घरमा पानी पस्न थालेपछि उनीहरु भाइको घरमा पुगे । ‘खानपिन गरेर सुतिसकेका थियौं ।

पानी परिरहेको थियो । तर, आकाशबाट पानी दर्किन थालेपछि बस्ती नै जोखिममा पर्छ भन्ने मनमा चिसो पसेको थियो,’ उनले भने, ‘नभन्दै ११ बजेपछि घरभित्रै पानी पस्यो । सुत्ने बिस्तारसम्म पानीले डुबाउन लागेपछि राति नै घर छाड्यौं ।’ कमलपोखरीका बासिन्दा घर भएर पनि सोमबार घरविहीन जस्ता छन् । उनीहरुसँग खाना र बस्नका लागि सुरक्षित ठाउँ छैन । भरत भन्छन्, ‘पोहोर साल पनि बल्लबल्ल बाँचियो । यस पटक पनि भगवानले बचाए ।’ डुबानबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट त बाँचे तर, उनलाई अहिले बस्ने र खाने समस्या छ । ४ छोरी र एक श्रीमतीका पति भरतलाई सोमबारको रात कसरी काट्ने चिन्ता छ ।

भरतकै छिमेकी रत्नकुमार कार्की पनि तनावमा परे । पोहोर साल बनाएको घर जमिनमा दबिएको छ । घर बनाउँदै केही भाग माथि उठाएर बनाए पनि डुबानले घर चर्कियो । केही भाग जमिनमा दबिएको रत्नकुमार बताउँछन् । ‘घर बनाएकै धेरै भएको छैन । नयाँ घर हो । पानीले असर गर्ला भनेर माथि उठाएर बनाएँ । अहिले घर चर्कियो । केही भाग जमिनमा दबिएको छ,’ उनले भने ।

स्थानीय मनेन्द्र भगत माली पनि प्रत्येक वर्षका डुबानले आजित भइसके । २०६५ सालमा आएर घर बनाएदेखि नै उनले डुबानको पीडा भोग्दै आएका छन् । उनी भन्छन्, ‘बिहान बेलुका खानेपानी चाहिँदा ट्यांकरबाट झार्नुपर्छ । के गर्नु नचाहिएको यो पानीले घरको तल्लो तला डुबानमा परेको छ ।’



पुरिँदा मृत्यु र घाइते
पोखरा महानगरपालिका ६ डिहिकोपाटन पँधेरोमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । आइतबार बेलुकादेखि परेको अबिरल वर्षाका घरमाथिबाट झरेको पहिरोले पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा पुरिँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला तातोपानीका सन्तोष उक्त घरमा डेरा गरी बस्दै आएका थिए । पहिरोमा परी सन्तोषकी दिदी २७ वर्षीया सुनीता सुनार घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सुनीताको १० वर्षीय छोराको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उद्धारमा जिल्ला प्रहरी कार्यालयको २५ जनाको टोली खटिएको छ । सन्तोषलाई राति नै उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा नै उनको मृत्यु भएको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया