पर्यटन नीति बनाउँदै एमाले

समाधान संवाददाता २०७९ साउन १७ गते १०:४१

पोखरा ।
नेकपा (एमाले)ले पर्यटनसम्बन्धी नीति बनाउन थालेको छ । सबै प्रदेशका पर्यटन व्यवसायी, विज्ञको राय, सुझाव समेटेर नीति बनाउन थालेको पार्टीका स्थायी समितिका सदस्य तथा पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागका प्रमुख भीम आचार्यले बताए ।

Advertisement

पार्टीको विभागले सोमबार आयोजना गरेको पर्यटन व्यवसाय र आजको सन्दर्भ विषयक कार्यशाला गोष्ठीमा नेता आचार्यले नेपालको पर्यटन क्षेत्रका नीतिगत स्पष्टता र समस्यालाई समाधान गर्न हल गर्न लागेको बताए । ‘नेपालमा हरेक पर्यटन मन्त्री आउने बित्तिकै पर्यटन नीति फेर्ने परिपाटी छ । त्यस्तो परिपाटीले गन्तव्यमा पुग्न सकिन्न,’ पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका आचार्यले भने, ‘पर्यटन नीति तथा कानुनमा एकरुपता ल्याउन जरुरी छ । स्थायी प्रकृतिको पर्यटन नीति निर्माण गर्न पार्टीले प्रयास गरेको छ ।’

पार्टीको बुझाई अनुसार नीति बनाउँदा धेरै कमी, कमजोरी हुन सक्ने चर्चा गर्दै उनले स्थिर नीति बनाउन सके पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान हुन उल्लेख गरे । उनले देशभरीका सबै पार्टीका प्रतिनिधि, पर्यटन व्यवसायी तथा विज्ञको सुझाव समेटेर समग्र राष्ट्रको नीति बनाउने कोशिस गरेको जानकारी दिए । राज्यका निकायले समग्र पर्यटनको प्रवद्र्धन र दिगो बनाउन राज्यले कुन पहल नगरेको आरोप उनले लगाए ।

Advertisement

पछिल्लो पटक २०५३ मा संशोधन भएको पर्यटन ऐन धेरै पुरानो भएको जानकारी दिँदै उनले अहिलेको चुनौतीलाई ऐनले सम्बोधन गर्न नसक्ने दाबी गरे । अहिलेको विश्वव्यापीकरणको अवस्था र सूचना तथा प्रविधिको विकाससँगै सबै नीति कानुनलाई परिमार्जन गर्न आवश्यक भएको चर्चा गर्दै उनले सबै कानुनलाई अपडेट गर्नुपर्ने उल्लेख गरे । उनले पर्यटन क्षेत्रमा धेरै जसो लगानी निजी क्षेत्रको भएको र सरकारको लगानी कम भएको दाबी गरे ।

उनले नीति योजनामा समेट्दै भौतिक पूर्वाधारमा लगानी बढाउन सके महत्वपूर्ण योगदान पुग्नुका साथै पर्यटन क्षेत्रलाई उचाईमा पुर्‍याउन सकिने बताए । कोभिड १९ ले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रहार गरेको गरेको उल्लेख गर्दै उनले राज्यले पर्यटन प्रवद्र्धनका लागि कुनै पहल नगरेको जिकिर गरे । नेकपा (एमाले)को सरकारको पालामा १३ महिनाका लागि रहेको विदेशी मुद्राको सञ्चिति अहिले ६ महिनाको लागि पुग्ने गरी झरेको जानकारी दिँदै उनले विप्रेषण र पर्यटन क्षेत्रले त्यसलाई धान्नुपर्ने विचार राखे ।

Advertisement

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा ५ खर्बको लगानी रहेको जनाए । पर्यटन क्षेत्रका व्यवसाय दर्ता र नवीकरण एकद्वार प्रणालीबाट हुनु पर्ने माग गर्दै उनले यातायात व्यवस्था ऐनलाई पर्यटन मैत्री बनाउनुपर्नेमा जोड दिए । अन्नपूर्ण क्षेत्र आयोजनाको अनुमतिलाई बहुप्रवेश खालको बनाउनुपर्ने सुझाव दिँदै उनले नेपालको भिसा लिएर आएका पर्यटकलाई हरेक प्रदेश तथा पालिकापिच्छे अनुमति लिने व्यवस्था व्यवहारिक नहुने दाबी गरे ।

उनले गण्डकी प्रदेशको पर्यटन ऐनका केही दफा व्यवहारिक नभएको र कार्यदलले दिएको सुझावसमेत ऐनमा नसमेटेको गुनासो गरे । नेपाल राष्ट्रिय उद्योग तथा व्यापार महासंघकाका स्थायी समिति सदस्य सूर्यबहादुर भुजेलले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन योजनाका साथ पर्यटन नीति बनाउन लागेको बताए । पर्यटन नीति २०६५ व्यवहारिक नभएको दाबी गर्दै उनले सातै प्रदेशका पर्यटन व्यवसायी र विज्ञले दिएको आधारमा बन्ने पर्यटन नीति पार्टीको आधिकारिक धारणा तथा अवलम्बन गर्ने नीतिमा सिमित नहुने उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष केदारनाथ शर्मा, केन्द्रीय सचिव जीवन सापकोटा, पोखरा महानगर पालिका वडा नम्बर २१ का पूर्व वडा अध्यक्ष खगराज आचार्य लगायतले पर्यटन नीतिका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया