जहाँ खानेपानीलाई ट्यांकरको भर छ, त्यहीं डुबान

खेतमा घर बने डुबानमा परे

सञ्जय रानाभाट २०७९ साउन १७ गते १५:५२
६८ वर्षीय भरत विश्वकर्मा । जो पोखरा १३ कमलपोखरीमा डुबान हुँदा सबैभन्दा पिडित छन् ।

सञ्जय रानाभाट
पोखरा ।
पोखरा १३ कमलपोखरी यस्तो ठाउँ हो, जहाँका बासिन्दाले खानेपानीका लागि ट्यांक्टरको पानी घर घरमा झार्नुपर्छ । एकाबिहानै पानी लिएर ट्यांकर नआएको दिन हातमुख धुनदेखि भाँडाकुडा पखाल्न नपाएर दैनिकी अस्तव्यस्त हुन्छ । तर, बिडम्बना आइतबार साँझदेखि परेको अविरल वर्षका कारणले कमलपोखरी यति बेला डुबानमा छ ।


धेरैको घरको तल्लो भाग जलमग्न भयो । स्थानीय घरबाट बाहिर अग्लो ठाउँतिर बसेका छन् । वर्षा निरन्तर भएकाले बस्ती थप जोखिममा छ । कति बेला धनजनको क्षति हुने हो भन्ने त्रासमा स्थानीय छन् । स्थानीयलाई अन्नबाली, धनसम्पतिभन्दा पनि ज्यान जोगाउन धौ छ ।


यहाँ बासिन्दा आइतबार बेलुकाबाट छाडेर सुरक्षित ठाउँमा बसेका छन् । वर्षाका कारणले घर डुबानमा परेपछि आइतबार स्थानीय भरतबहादुर विश्वकर्माको परिवारले भाइको घरमा रात काट्यो । आइतबार बेलुका ११ बजेपछि घरमा पानी पस्न थालेपछि उनीहरु भाइको घरमा पुगे । ‘खानपिन गरेर सुतिसकेका थियौं । पानी परिरहेको थियो । तर, आकाशबाट पानी दर्किन थालेपछि बस्ती नै जोखिममा पर्छ भन्ने मनमा चिसो पसेको थियो,’ उनले भने, ‘नभन्दै ११ बजेपछि घरभित्रै पानी पस्यो । सुत्ने बिस्तारसम्म पानीले डुबाउन लागेपछि राति नै घर छाड्यौं ।’

Advertisement


कमलपोखरीका बासिन्दा घर भएर पनि सोमबार घरविहीन जस्ता छन् । उनीहरुसँग खाना र बस्नका लागि सुरक्षित ठाउँ छैन । भरत भन्छन्, ‘पोहोर साल पनि बल्लबल्ल बाँचियो । यस पटक पनि भगवानले बचाए ।’ डुबानबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट त बाँचे तर, उनलाई अहिले बस्ने र खाने समस्या छ । ४ छोरी र एक श्रीमतीका पति भरतलाई सोमबारको रात कसरी काट्ने चिन्ता छ ।


भरतकै छिमेकी रत्नकुमार कार्की पनि तनावमा परे । पोहोर साल बनाएको घर जमिनमा दबिएको छ । घर बनाउँदै केही भाग माथि उठाएर बनाए पनि डुबानले घर चर्कियो । केही भाग जमिनमा दबिएको रत्नकुमार बताउँछन् । ‘घर बनाएकै धेरै भएको छैन । नयाँ घर हो । पानीले असर गर्ला भनेर माथि उठाएर बनाएँ । अहिले घर चर्कियो । केही भाग जमिनमा दबिएको छ,’ उनले भने ।

Advertisement


स्थानीय मनेन्द्र भगत माली पनि प्रत्येक वर्षका डुबानले आजित भइसके । २०६५ सालमा आएर घर बनाएदेखि नै उनले डुबानको पीडा भोग्दै आएका छन् । उनी भन्छन्, ‘बिहान बेलुका खानेपानी चाहिँदा ट्यांकरबाट झार्नुपर्छ । के गर्नु नचाहिएको यो पानीले घरको तल्लो तला डुबानमा परेको छ ।’

खेतमा घर बने डुबानमा परे
२०३६ सालको कुरा हो । भरतबहादुर विश्वकर्मा २५ वर्षका थिए । म्याग्दीको दरबाङमा हुर्के, बढेका उनी विवाह गरी श्रीमतीलाई साथमा लिएर पोखरा सोझिए । पोखरा आएर सिधै अहिलेको डुबान क्षेत्र कमलपोखरीतिर बस्न थाले । भरतकै शब्दमा त्यति बेला पोखरा १३ कमलपोखरीतिर बयरघारी थियो । दिउँसै हिँड्दा पनि डर लाग्ने अवस्था भएको भरत सम्झिन्छन् । ‘एक्लै दुक्लै हिँड्नभन्दा साथमा एक जना लिएर हिँड्न सुरक्षित महसुस हुन्थ्यो,’ भरतले भने ।


त्यो बेला स्याल र खरायो हेर्न टाढा जान नपर्ने उनी सुनाउँछन् । ‘खोइ यो ठाउँमा कसरी आइयो थाहा नै छैन । गाउँबाट झरेदेखि यही ठाउँमा छु । अहिले यो घर बनाएको १२ वर्ष भयो,’ उनले भने, ‘योभन्दा पहिले म भाडामा बस्थें । दैनिक ज्यालादारी गर्थें ।’ पोखरा आएको ४९ वर्ष हुँदा पनि भरत ज्यालादारी नै गर्छन् । ४ छोरी, श्रीमती र आफ्नो ज्यान उनैको भारमा छ । ‘गाउँबाट आउँदा रित्तै आएको थिएँ । पोखरामा आफ्नो भन्नु केही थिएन । अहिले आफ्नो भन्नु ४ कोठे अस्थायी एउटा घर छ । त्यही पनि डुबानले कहिले आफ्नै ज्यान लिन्छ, पत्तो छैन,’ उनले भने ।


भरत विगतलाई स्मरण गर्दा निकै भावकु बने । उनी भक्कानिए । ‘दलालले कस्तो ठाउँमा ल्याएर फसाए । हुन त मेरै बुद्धि पुगेन,’ उनले भने, ‘न खानेपानी खान पाइन्छ । न त सुत्न, बुद्धि बिग्रिएर गलत ठाउँमा जग्गा किनेछु ।’


३६ सालमा आउँदा बयरघारी भएको कमलपोखरी अहिले पोखराको अत्यधिक महँगो घडेरी भएकोमध्येको एक ठाउँ हो । अहिले यही ठाउँमा मजदुरी गरेर घर बनाउने कुरा दिवा सपनामात्र हो । अझ भरत जस्ताका लागि भने यो कल्पना बाहिरको कुरा हो । तर, भरतले १२ वर्षअघि नै जग्गा किनेकाले घर बनाए । तर, भारतको मनमा शान्ति छैन । प्रत्येक वर्ष डुबानले उनलाई मात्र हैन स्थानीयको चैन लुटेको छ । जस्तो आइतबार पनि यहाँको बस्ती पानीले डुबायो र धेरै जना आफ्नै घरमा बस्न नमिलेर आफन्त र छिमेकीको शरण लिन बाध्य भए । घरैघरले भरिएको कमलपोखरी क्षेत्रको पानी काहुँखोला र दुई खोलाको मुहानतिर निकास निकाल्न सोमबार वडाध्यक्ष किरण बरालले उपाय खोजिरहेका थिए ।


२०३६ सालमा बयरघारी भएको कमलपोखरी क्षेत्र २०६० सालमा आइपुग्दा धान खेतमा परिणत भएको भरत बताउँछन् । ‘६० सालतिर यो सबै ठाउँमा धान रोपाइँ हुन्थ्यो । धान रोप्न मेला पात गएको भरतको सम्झना छ । तर, देशमा ०६२÷६३ सालको जनआन्दोलनपछि खेत जति प्लटिङ बन्न थालेको उनले बताए । यति बेला २०६७ सालतिर आफूले ६० हजारमा अहिलेको जग्गा किनेको भरतले बताए ।


‘यति बेला खेत जति सबै प्लटिङ भएँ । यही बेला ६० हजारमा मैले जग्गामा किने यो साल नै ४ कोठे घर बनाएको हो,’ उनले भने । घर बनाएर बस्न थालेपछि विस्तारै बस्ती बढ्दै जाँदा अहिले ३÷४ वर्षदेखि डुबान पर्न थालेको उनले सुनाए । भरत, मनेन्द्र भगत माली, रत्नकुमार कार्की जस्तै कमलपोखरीमा नयाँ नयाँ घर बनाउने अधिकांश बाहिरबाट बसाइसराइ गरेर आएका हुन् । उनीहरु धेरै ७० सालपछि घर बनाएका हुन् ।


पोखरा १३ मा कमलपोखरी डुबानको दीर्घकालीन समाधानका लागि काठमाडौंदेखि विज्ञहरु आएर पानी निकासको बाटो अनुसन्धान गरिरहेको पोखरा १३ का वडाध्यक्ष किरण बरालले बताए । ‘बर्सेनि यो ठाउँमा डुबान हुँदै आएपछि विज्ञलाई नै बोलाएर यसको दीर्घकालीन समाधान खोज्न लागिपरेका छौं,’ बरालले भने । जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी सुन्दर तिवारीका अनुसार गत वर्ष पनि २ वटा भैंसी डुबानमा परेर मरेको बताए । ‘पानी निकास गर्ने कुरा नै मुख्य कुरा हो । स्थानीय सरकारले दीर्घकालीन समाधान खोज्नुपर्छ,’ उनले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया