नवौं राष्ट्रिय खेलकुद: नयाँ रेकर्ड बनाए ५० हजार

रिखिराम जिसी २०७९ साउन १८ गते १०:३९

पोखरा ।
गण्डकी प्रदेशमा आगामी असोजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ राष्ट्रिय रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को हालैको बैठकले नवौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय रेकर्ड भंग गरी नयाँ रेकर्ड बनाउनेलाई जनही ५० हजार प्रदान गर्ने निर्णय गरेको हो । प्रतियोगिताको विजेता टोलीलाई यसअघि नै १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने निर्णय भइसकेको छ ।

हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडी १५ हजार प्रदान गर्ने बैठकले निर्णय गरेको छ । प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई दैनिक २ हजार भत्ता प्रदान गरिनेछ । बैठकले प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । प्रदेश तथा विभागीय टिमले आगामी भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने छ ।

आगामी असोज/कात्तिकमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । २ खेलको प्रर्दशनीसमेत हुनेछ । ३६ खेलमा ४ सय ७ खेल इभेन्टस् हुनेछन् । ७ प्रदेशसहित ३ विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रत्येक टिमबाट ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ ।

Advertisement

बैठकले प्रतियोगिताको ट्रफीलाई सातै प्रदेश तथा ३ विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गर्ने निणर्य गरेको छ । बैठकले विभिन्न समितिसमेत गठन गरेको छ । परिषद्को कर्मचारी सेवा, शर्तसम्बन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्व समिति गठन गरिएको छ । परिषद्को भौतिक संरचना तथा सम्पत्ति यकीन तथा प्रदेशमा हस्तान्तरणसम्बन्धी परिषद सदस्य अञ्जन धमलाको संयोजकत्वमा र खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

परिषद् अन्तर्गत कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाइने निर्णय बैठकले गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले गत जेठ ११ गते पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने जनाएको थियो । प्रतियोगिता २०७७ मै आयोजना गर्नुपर्ने भए पनि कोभिड र अन्य कारणले पटक पटक स्थगित भएको थियो । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना गर्ने प्रतियोगिता सञ्चालन हुनेछ ।

Advertisement

नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी दिइएको थियो । प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुने छन् । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा एउटा गेम गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषदलाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने निर्णय गर्नेछ ।

गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगिता २०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा स्पोट्र्स कम्प्लेक्समा सञ्चालन भएको थियो । प्रतियोगिताको उद्घाटन राजा वीरेन्द्रबाट भएको थियो । १४ अञ्चल समावेश रहेको उक्त प्रतियोगितामा ५० स्वर्ण पदकसहित कुल १३७ पदक जित्दै वाग्मती अञ्चल प्रथम हुन सफल भएको थियो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया