
जोमसोम ।
हिमाली जिल्ला मुस्ताङका ९६ वटै गाउँवस्तीमा मुखिया प्रथा छ । मुखियाले गाउँभित्र भएका समस्या सुल्झाउने गर्छन् । लोमान्थाङमा सम्बन्ध बिच्छेदका लागि एक जोडी मुखियाको शरणमा पुग्यो । लोमान्थाङ गाउँका मुखिया हुन् ढुक्के बिष्ट । उनी लोमान्थाङ ५ का वडाध्यक्षसमेत हुन् । मुखियाको शरणमा पुगेका विवाहित जोडीलाई यस पटक भने गाउँपालिका पठाइयो ।
सोमबार सम्बन्धबिच्छेद गर्ने हिसाबले त्यो जोडी गाउँपालिका कार्यालयमा पुगेको थियो । यसपछि लोमान्थाङमा पहिलो पटक सम्बन्ध विच्छेदको झगडा छिनोफानो गर्न न्यायिक समितिको बैठक बस्यो । संघीयताको पहिलो कार्यकालमा न्यायिक समितिमा कुनै मुद्दा परेको थिएन । सम्बन्ध तोड्ने उद्देश्यले ४० वर्षीय झाङजुक गुरुङ र श्रीमती छिरिङ ढिकी गुरुङ न्यायिक समितिको ढोकामा पुगेका थिए । श्रीमान् तिब्बती नागरिक हुन् । श्रीमती लोमान्थाङकै एक गरिब र विपन्न परिवारकी हुन् ।
झाङजुक सानै उमेरमा तिब्बतबाट भागेर काठमाडौं बसे । उनी त्यहाँ लामा भई बसेका थिए । उनी विस्तारै युवा हुँदै गए । त्यसपछि उनलाई घरको यादले तड्पायो । उनको घर उत्तरी कोरलानाकाबाट करिब ४ घण्टामा पुग्न सकिन्थ्यो । बर्सेनि असार र साउनमा कोरला नाकामा व्यापार मेला लाग्ने गथ्र्याे । त्यही मेलामा कोरला नाकाबाट घर जान सकिन्छ भन्ने ठानेर उनी उपल्लो मुस्ताङ आए । तर उनी कोरला नाकाबाट घर जान पाएनन् । उनलाई चिनियाँ सुरक्षाकर्मीले कोरलाबाटै फर्काइदिए । त्यसपछि उनी काठमाडौं नफर्की लोमान्थाङमै लामा काम गरेर बसे ।
छिरिङकी आमा मात्र थिइन् । उनका बुवा बितिसकेका थिए । सानै उमेरदेखि आमासँगै लोमान्थाङको खर्कमा याकचौरी र भेडाच्याँग्रा हेर्दै बस्थिन् । समय परिवर्तनसँगै छिरिङ पनि परिपक्क भइसकेकी थिइन् । दुवै जना लोमान्थाङमा बस्ने क्रममा भेट भयो । त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध बस्यो । उनीहरूले एक अर्कालाई मन पराए, त्यसपछि वैवाहिक बन्धनमा बाँधिए । अहिले विवाह भएको १२ वर्ष भयो । उनीहरूको साथमा ११ वर्षकी छोरीसमेत छिन् । बिहे गरेको केही वर्षपछि सम्बन्धमा चिसोपना आउन थाल्यो । छिरिङ मिलेर बस्ने अवस्था नभएको र विभिन्न समस्या आएको भन्दै १ वर्षअघि सम्बन्धबिच्छेदका लागि मुखिया कहाँ पुगेकी थिइन् ।
त्यस बेला मुखियाले उनीहरूलाई सम्झाएर पठाए । पुनः सम्बन्धमा फाँटो आउन थाल्यो । यसको प्रमुख कारण थियो श्रीमानले मदिरा पिउनु । मदिराको नसामा यातना दिएको भन्दै श्रीमतीले सम्बन्धबिच्छेद गर्ने बताइन् । त्यसपछि उनीहरू अलग हुने निर्णयमा पुगे । गाउँका केही भद्रभलादमी राखेर सम्पत्ति बाँडफाँड गरे । त्यसपछि अनौपचारिक रूपमा यो जोडी अलग बस्यो । तर घरको केही बढी अचल सम्पत्ति श्रीमतीको नाममा रहेको भन्दै फेरि श्रीमान् झाङजुकले मदिरा सेवन गरी श्रीमतीकोमा पुगेर दुःख दिन थाले ।
मुखियाकै सल्लाहमा गाउँपालिका उपाध्यक्ष छिमी बिष्टको घरमा उनले पुगेर समस्या भनिन् । उपाध्यक्ष छिमीले यो समस्या घरबाट होइन, गाउँपालिकाको न्यायिक समितिले समाधान गर्ने भन्दै गाउँपालिकामा आउन सुझाव दिइन् । सोमबार गाउँपालिका कार्यालयको न्यायिक समितिमा पुगेका यो जोडीको समस्या र विवाद न्यायिक समितिले सुन्यो । श्रीमान् झाङजुक र श्रीमती छिरिङबीचको सम्बन्धमा दरारको प्रमुख कारक तत्व थियो मदिरा । तर यी दुवैबीच मायाप्रेमको सम्बन्ध अझै जीवितै थियो । गाउँपालिकामा दुवैका गुनासा पोखिए । न्यायिक समितिले सकभर छुटाउनेभन्दा मिलाउन उपयुक्त हुन्छ भन्ने ठान्यो ।
उनीहरूको साथमा ११ वर्षकी छोरीको भविष्य जोडिएको थियो । न्यायिक समितिमा छिरिङको एउटै शर्त थियो मदिरा छोड्नुपर्ने । छिरिङसँग अलग हुन नचाहेका श्रीमान् झाङजुकले अब कहिल्यै मदिरा नपिउने प्रतिवद्धता गरे । उनी मदिरा पिएमा कानुन अनुसार सजाय भोग्न राजी भए । यही शर्तलाई आधार बनाएर दुबै जाडीलाई मिलापत्रको कागज गराइयो ।
गाउँपालिकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक छिमी बिष्टले संघीयतापछि न्यायिक समितिमा पहिलो मुद्दा आएको र त्यसलाई सहज ढंगले निकास दिएको बताइन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया