कालीगण्डकी करिडोरमा पौने ६ अर्ब खर्च
आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत

जोमसोम ।
कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडक आयोजनामा ५ अर्ब ८४ करोड खर्च भएको छ । कोरला नाकासम्मको सडक पहुँच विस्तार गर्न आयोजनाले सडक तथा पुलमा यति रकम खर्च गरेको हो । भारतीय नाकाबन्दीपछि सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने उद्देश्यले यो आयोजना सुरु गरेको थियो । आयोजनाको लागत १० अर्ब ३५ करोड रहेकोमा ७ अर्ब ५५ करोडमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
आयोजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । आयोजनाले सडकतर्फ ६ अर्ब ३१ करोडको ठेक्का सम्झौता गरेकोमा ५ अर्ब २ करोड र पुलतर्फ १ अर्ब २४ करोड बजेटको ठेक्का सम्झौता गरेकोमा ८२ करोड खर्च भएको सडक आयोजनाका प्रमुख जगत प्रजापतीले जानकारी दिए । सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म ठेक्का सम्झौता गरेको बजेटमध्ये अझै १ अर्ब ७१ करोड बजेट बराबरको काम हुन बाँकी छ ।
सरकारले आर्थिक वर्ष ०७९/०८० का लागि आयोजनालाई १ अर्ब ३८ करोड ७६ लाख बजेट विनियोजन गरेको छ । यो सडक आयोजना ०७४ देखि सुरु भएको हो । पछिल्लो समय गौरवको सडक अन्तर्गत मालढुंगा बेनी १३ किमी र जोमसोम कागबेनी १३ किमी सडक कालोपत्र गर्ने योजना थपिएको छ । यसअघि बेनी गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालय म्याग्दीले लिएकोमा सो सडक पनि अहिले कालिगण्डकी करिडोरलाई नै जिम्मेवारी हस्तान्तरण भइसकेको छ ।
बेनी–जोमसोम ७४ किमी सडकको लागत ३ अर्ब ४३ करोड रहेकोमा २ अर्ब ८० करोडमा ठेक्का सम्झौता भएको थियो । बेनी जोमसोम ४ खण्डमा काम भइरहेकोमा ठेक्का रकमको २ अर्ब २० करोड खर्च भइसकेको छ । बेनी जोमसोम ७४ किमी कालोपत्र सडकको भौतिक प्रगति ७५ प्रतिशत छ भने वित्तीय प्रगती ७० प्रतिशत छ । जसअन्तर्ग बेनी जोमसोम ७४ किमी सडकमध्ये हालसम्म २६ किमी सडकमा कालोपत्र भइसकेको छ ।
पटक पटक म्याद थपिँदै आएको बेनी जोमसोम सडकको ०७९ असार मसान्तसम्म पुन म्याद थप भइसकेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । यो सडक अहिले निर्माणको अन्तिम चरणमा छ । जोमसोम कोरला १ सय १० किमी सडकका ७ खण्डमध्ये ६ खण्डको काम सकेर कालिगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ । चराङ छोसेर २५ किमी सडकको भौतिक प्रगति ९० प्रतिशत छ ।
यो खण्ड चालु आर्थिक वर्षभित्र सकिने प्रजापतिले बताए । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत छ । जोमसोम कोरला सडकको लागत ४ अर्ब १५ करोड रहेकोमा २ अर्ब ६५ करोडमा ठेक्का सम्झौता भएको थियो ।
पर्वतको मालढुंगादेखि बेनीसम्म १३ किमी स्तरोन्नतिसहित अस्फाल्ट पिच गर्न ९९ करोड लागत स्टमेट गरिएकोमा ५२ करोडमा ठेक्का सम्झौता भएको छ । अहिले यो सडकको भौतिक प्रगति २० प्रतिशत छ ।
बेनी जोमसोम कोरला सडकमा १९ वटा पुल छन् । जसमध्ये ५ पुल बनिसकेका छन् भने बाँकी १४ पुल निर्माणाधीन छन् । म्याग्दीतर्फ २ वटा र मुस्ताङतर्फ ३ पुल सम्पन्न भएको आयोजना प्रमुख प्रजापतीले बताए । म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल बनेका छन् । मुस्ताङखण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोलामा पुल बनिसकेका छन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया