७ वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सिटी स्क्यान सेवा

रिखिराम जिसी २०७९ साउन १८ गते २१:१२

पोखरा ।
७ वर्षदेखि गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आउने बिरामीले सिटी स्क्यान गर्न अस्पतालबाहिर जानुपर्ने बाध्यता थियो । ८ वर्षअघि आएको सिटी स्क्यान मेसिन १ वर्षमै बिग्रिएपछि अस्पतालमा यो सेवा बन्द थियो । अब बिहीबारदेखि क्षेत्रीय अस्पतालमा सिटी स्क्यान सेवा फेरि सुरु हुने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीका अनुसार बिहीबारदेखि आउने बिरामीको सिटी स्क्यान अस्पतालमै हुनेछ । मेसिन जडानका सबै प्रक्रिया पूरा गरिएको प्रमुख डा खत्रीले बताए । ‘मेसिन जडान प्रक्रिया सकियो, आज(बुधबार) परीक्षण गरेका थियौँ, सफल भयो,’ उनले भने, ‘भोलि (बिहीबार)देखि सेवा सञ्चालन गछौँ ।’

प्रक्रिया पूरा गर्दा र कम्पनीले समयमै मेसिन नल्याउँदा ढिला गरी सेवा सुरु भएको निर्देशक डा खत्रीको भनाइ छ । ‘७ वर्षअघि मेसिन बिग्रियो, पछि त्यही बन्छ कि भन्ने क्रममा २÷३ वर्ष गयो । बन्दैन भनी टेक्निकल टिमबाट भेरिफाइ हुनुप¥यो,’ उनले भने, ‘नयाँ किन्ने स्वीकृति भईसकेपछि बजेट लगायतका प्रक्रिया अगाडि बढ्यो ।’ बजेट प्राप्त भएपछि खरिद प्रक्रिया थालेको उनले सुनाए ।

Advertisement

१ वर्षअघि मेसिन खरिदका लागि अस्पतालले फिलिक्स कम्पनीसँग ७ करोडमा सम्झौता गरेको थियो । नेदरल्यान्डबाट किनिएको उक्त मेसिन ल्याउन १ वर्षभन्दा धेरै समय लाग्यो । सम्झौता अनुसार कम्पनीले मेसिन समयमा उपलब्ध गराउन नसकेको निर्देशक खत्रीले उल्लेख गरे । ‘कम्पनीलाई हालसम्म ८० प्रतिशत भुक्तानी गरेका छौं,’ उनले भने, ‘कम्पनीले मेसिन ल्याउन ढिला ग¥यो, हामी नियम अनुसार कम्पनीलाई जरिवाना लगाउँछौं ।’

यो मेसिनमा ५ वर्ष वारेन्टी हुने सम्झौता छ । ‘मेसिन सस्तो र बिना वारेन्टीको किन्दा बिग्रिइरहने समस्या भयो,’ उनले भने, ‘अहिले खरिद गरिएको मेसिन ५ वर्षसम्म बिग्रिँदा कम्पनीले जिम्मा लिन्छ, मर्मत गरिदिन्छ, पार्टपुर्जा फेरिदिन्छ ।’
अस्पतालले उपचारका लागि आउने स्वास्थ्य बिमा गरेका बिरामीको सिटी स्क्यान गर्नुपर्दा निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको थियो । मेसिन जडान भएसँगै यो समस्या समाधान भएको छ । बुधबारसम्म सर्वसाधारण निजी क्षेत्रले सञ्चालन गरेको अस्पतालमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।

Advertisement

अस्पतालका निर्देशक खत्रीले सिटी स्क्यान सेवा लिनेको संख्या बढ्ने बताए । ‘७ वर्षअघि दैनिक २०÷३० जनाले यो सेवा लिन्थे,’ निर्देशक प्राडा खत्रीले भने, ‘अहिले त जनसंख्या बढेको छ, सेवाग्राहीको संख्या पनि बढी हुन्छ ।’ यसको शुल्क बिमा अनुसार हुने उनले बताए । अस्पतालका अनुसार प्लेन सिटी स्क्यानका लागि ५ हजार र जटिल सिटी स्क्यानका लागि ६ हजार शुल्क तोकिएको छ ।

८ वर्षअघि ७० लाखमा अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरिएको थियो । जुन मेसिन १ वर्षपछि नै बिग्रिएको थियो । पौने करोड खर्चेर किनिएको मेसिन १ वर्ष नहुँदै बिग्रिनु र बारम्बार बनाउँदासमेत काम नगर्नुमा आर्थिक चलखेल भएको स्रोत बताउँछ । क्षेत्रीय अस्पतालमै कार्यरत चिकित्सकको बाहिरका अस्पतालमा लगानी रहेको र कमिसनसमेत पाउने लोभमा विभिन्न परीक्षणका लागि बिरामीलाई बाहिर पठाउने गरेको गुनासो गर्दै आएका छन् । नयाँ आएको मेसिनमा त्यस्तो नहोस् भनी सरोकारवालाको खबरदारी जरुरी छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया