नवौं राष्ट्रिय खेलकुद: ३६ खेलमा ४०७ पदक

रिखिराम जिसी २०७९ साउन २० गते १०:३६

पोखरा ।
गण्डकी प्रदेशमा आगामी असोजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा ४ सय ७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङका अनुसार खेलाडीले ३६ खेलमा ४ सय ७ इभेन्टमा ४ सय ७ स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने छन् ।

पुरुषतर्फ २ सय २० र महिलातर्फ १ सय ८७ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार प्राप्त गर्ने छन् । खेलकुदमा राष्ट्रिय रेकर्ड भंग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गरिनेछ । प्रतियोगिताको विजेता टोलीलाई यसअघि नै १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने निर्णय भइसकेको छ ।

प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई दैनिक २ हजार भत्ता प्रदान गरिनेछ । प्रदेश तथा विभागीय टिमले आगामी भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने हुन्छ । प्रतियोगितामा २ खेलको प्रर्दशनीसमेत हुनेछ । ७ प्रदेशसहित ३ विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रत्येक टिमबाट ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ ।

Advertisement

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने जनाएको थियो । प्रतियोगिता २०७७ मै आयोजना गर्नुपर्ने भए पनि कोभिड र अन्य कारणले पटक पटक स्थगित भएको थियो । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना गर्ने प्रतियोगिता सञ्चालन हुनेछ । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी दिइएको थियो ।

प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुने छन् । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा १ खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषदलाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने निर्णय गर्नेछ । गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

Advertisement

उक्त प्रतियोगिता ०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा स्पोट्र्स कम्प्लेक्समा भएको थियो । त्यो प्रतियोगिताको उद्घाटन तत्कालीन राजा वीरेन्द्रबाट भएको थियो । १४ अञ्चल समावेश रहेको उक्त प्रतियोगितामा कुल ५१ पदकसहित गण्डकी अञ्चल दोस्रो भएको थियो । ५० स्वर्णसहित १ सय ३७ पदक जित्दै वाग्मती अञ्चल प्रथम बनेको थियो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया