४ कृषक समूहलाई महानगरकाे २० लाख अनुदान

समाधान संवाददाता २०७९ साउन २० गते ११:४४

पोखरा ।
पोखरा महानगरपालिकाले कृषकलाई २० लाख अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तर्गत ती समूहलाई ५ लाखका दरले २० लाख अनुदान वितरण गरिएको हो । मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनुदान वितरण गरे ।

Advertisement

अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक समूह पोखरा ३२ र बेगनास बाख्रा पालन समूह पोखरा ३१ छन् । अनुदानले १ सयभन्दा बढी कृषक लाभान्वित हुने छन् । सो क्रममा मौजा हिल लाइभ स्टक फार्म पोखरा २० का कृषक दुर्गाबहादुर गुरुङलाई ‘सर्वाेत्कृष्ट वर्ष कृषक’ घोषणासहित सम्मान गरिएको छ ।

गुरुङले पोखराका विभिन्न स्थानलाई बाख्रा पालनको पकेट क्षेत्रको रूपमा विकास गर्न तथा कृषकलाई प्रोत्साहन गरेका छन् । पोखरा महानगरपालिका भित्र रहेका १७ उत्कृष्ट कृषि फार्मलाई सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्ममा १ सयभन्दा बढी बाख्रा पालिएका छन् । कार्यक्रममा प्रमुख आचार्यले आगामी ५ वर्षभित्र पोखरा महानगरपालिकालाई कृषि तथा पशुजन्य उत्पादन, तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने प्रतिवद्धता गरे ।

उनले कृषकलाई निर्वाहमुखी भन्दा पनि व्यवसायीकरणमा जोड दिइने बताए । कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि कोल्ड स्टोरसहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको छ । प्रमुख आचार्यले महानगरभरी अनुकूलता अनुसारको कृषि व्यवसाय सञ्चालन गर्न उनले सुझाव दिए ।

कृषि तथा पशु बिमामा सबै किसानलाई सामेल हुन अनुरोध गर्दै उनले बिमालाई थप व्यवस्थित गरिने पनि सुनाए । ग्रामीण क्षेत्रमा बाँदरको आतंक रोक्नका लागि उपयुक्त निकास खोजिने उनले विश्वास दिलाए । कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बराल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की प्रमुख शम्भुराज पाण्डे, कृषि विकास महाशाखाका प्रमुख मनोहर कोडरिया, बाख्रा पालन किसान समूह कास्की अध्यक्ष एवं वर्ष उत्कृष्ट कृषक दुर्गाबहादुर गुरुङ, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ बराल र बाख्रा पालक किसान मिना गुरुङ, मोहोर पानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, बाख्रा पालक कृषक कृष्णराज बराल लगायतले बोलेका थिए ।

Advertisement

मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वाका अध्यक्ष ऋषिराम पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । बाख्रा पालनतर्फ शंकर बराल, ऋषिराम बराल, रमा बराल र बद्रीप्रसाद देवकोटा क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए भने बोकापालनतर्फ ईश्वरबहादुर सिं, विष्णुबहादुर बराल, गीता बराल र कमल बराल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल भए ।

पोखरा महानगरपालिकाका ६७ कृषकले व्यवासायीक कृषक परिचय पत्र प्राप्त गरेका छन् । वर्णशंकर र शुद्ध गरी पोखराका कृषकका फार्ममा ६७ हजार बढी बाख्रा पालिएका छन् ।

तपाईको प्रतिक्रिया