सडक मानव मुक्त प्रदेशमा वृद्धको बिचल्ली !

सञ्जय रानाभाट २०७९ साउन २२ गते १०:११

सञ्जय रानाभाट

पोखरा ।
शुक्रबार एकैबिहानै पोखरा ६ डिहिकोपाटनको करिब सुनसान सडक पेटी । चिसो हावा चलिरहेको छ । दिउँसो पानी पर्ला कि घाम लाग्ला, ठम्याउन नसक्ने खालको मौसम थियो । एउटा सटरबाहिरको पिँढीमा एक वृद्धको बिचल्ली देखियो ।

शरीरभरि घाउ नै घाउ भएका उनी ६० वर्ष नाघेको अनुमान गर्न सकिन्थ्यो । घाउ बिग्रिएर त्यहाँ कीरा परैबाट देखिन्थ्यो । काँपिरहेका हात, आँखामा छचल्किइरहेको आँसु, खाली सिमेन्टको पिँढीमा सुतिरहेका वृद्ध । पर्यटनको राजधानी दाबी गरिरहेको पोखरा महानगर र एक वर्षअघि सडक मानव मुक्त प्रदेश घोषणा गरेको प्रदेश सरकारलाई उनको अवस्थाले गिज्याइरहेको थियो ।

Advertisement

सडक पेटीमा वेवारिसे अवस्थामा भेटिएका ती वृद्ध बेसुरे जस्ता थिए । आफ्नो नाम च्याङ्वा लामा बताउने उनी थप जानकारी दिन सक्ने अवस्थामा छैनन् । घर कहाँ हो ? परिवार छन् कि छैन ? सडकमा कसरी आइपुगे ? यावत् प्रश्नमा उनी उत्तर दिन सक्दैनन् । बेला बेलामा अहिले पनि उनी बेसुरमै बोल्छन् ।

प्रदेश सरकार र पोखरा महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी उद्धार गर्ने गरे पनि सडक मानवको संख्या घटेको छैन

Advertisement


स्थानीय, प्रहरी, विभिन्न आश्रम कसैले गर्न उनलाई पहिचान गर्न सकेका छैनन् । सडकमा वेवारिसे अवस्थामा वृद्ध भेटिएपछि आफूहरुले मावन सेवा आश्रमलाई खबर गरी उद्धार गरेको पोखरा ६ का वडा सदस्य दीपेन्द्र पाहरीले बताए । ‘स्थानीय, हामी जनप्रतिनिधि र प्रहरीको सहयोगमा लामालाई उद्धार गरेका छाैं । उहाँको शारीरिक अवस्था एकदमै कमजोर भएकाले मानव सेवा आश्रमको सहयोगमा अस्पताल पुर्‍याएको छ,’ उनले भने ।

लामाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । खुट्टाको घाउ सफा गरी डाक्टरले ड्रेसिङ गरिसकेको मानव सेवा आश्रमका कास्की जिल्ला संयोजक सदिस पुनले बताए । ‘हामीलाई वडा सदस्यले खबर गर्नुभयो । यसपछि एम्बुलेन्स लिएर हामी घटना स्थलमा पुर्‍यौं । उहाँको खुट्टामा गहिरो घाउ थियो । हेर्न पनि डर लाग्ने अवस्था थियो,’ उनले भने, ‘बोल्न पनि उहाँ डराइरहन ुभएको छ । घाउ बिग्रिएर कीरा परेको देख्दा म नर्भस भएँ ।’

पुनले लामाको अवस्था ठीक भएपछि आश्रममा राखेर रेखदेख गरिने बताए । ‘यदि उहाँको परिवार आएर वा उहाँ घर फर्किनु चाहनुभयो भने हामी घरपरिवारसँग पुनर्मिलन गराइदिन्छौं । उहाँ बस्न चाहनुभयो भने आश्रममै बस्नुहुन्छ ।’ आश्रमले सकेसम्म घरपरिवारसँग पुनर्मिलन गराउने उद्देश्य लिएको छ । ‘अहिले पनि हाम्रो आश्रममा १ सय ६५ जना हुनुहुन्छ । आश्रमबाट ८ सय ७७ जनालाई पुनर्मिलन गराइसकेको छाैं । उहाँहरुलाई पनि पोखराका सडकबाट वेवारिसे अवस्थामा भेटेर ल्याएका थियौं ।’
पोखरामा सडकमा सडक मानवभन्दा पनि मागेर खानेहरु बढी देखिएको संयोजक पुनले सुनाए । लामा जस्तै यति बेला पोखराका चोक चोकमा वेवारिसे मानिसको संख्या बढ्दो छ ।

यहाँ सडक बालबालिका पनि बढिरहेका छन् ।
पर्यटनको केन्द्र मानिएको लेकसाइडमै पनि सडक मानव देखिन्छन् । उनीहरुको दैनिकी माग्ने, खाने, बजार डुल्ने नै हो । न त उनीहरुको गन्तव्य हुन्छ, त खास उद्देश्य । आज जसरी चलेको छ, भोलि पनि करिब उस्तै गरी बित्छ । यसरी भेटिने सडक मानव व्यवस्थापन गर्न पोखरा महानगरले ध्यान दिएको छैन । पोखरा महानगरपालिका सामाजिक विकास शाखाकी निर्देशक निर्मला शर्माले आफूहरुले सडक मानव देख्नेबित्तिकै उद्धार गर्ने गरेको बताइन् । ‘सडक मानवको तथ्यांक हुँदैन । देख्नेबित्तिकै उद्धार गर्ने, संरक्षण गर्ने गर्छौं,’ उनले भनिन, ‘सडक मानवलाई व्यवस्थित गर्ने एकमात्र संस्था मानव सेवा आश्रम हो । प्रदेश सरकार र महानगरले आश्रमलाई नै आर्थिक सहयोग गर्ने गरेर सम्झौता गरेका छौं ।’

गण्डकी प्रदेश सरकार, मानव सेवा आश्रम पोखरा र पोखरा महानगरको संयुक्त पहलमा सडक मानिसको उद्धार हुँदै आएको छ । बेला बेलामा उद्धार भए पनि सडक मानव फेरि देखिने गरेका छन् । पोखरा महानगरपालिकामा ३ महिला र १४ पुरुष सडकमै खाने, सडकमै सुत्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । गण्डकी प्रदेश १ वर्षअगाडि सडक मानव मुक्त घोषणा भएको थियो । तर, घोषणा भएको १ वर्षपछि पूरा हुँदा पनि सडक मानव कम भएका छैनन् । उल्टो बढ्दै छन् ।

गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ०७८ मंसिर ९ गते प्रदेशलाई सडक मानवमुक्त घोषणा गरेको थिए । प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश गरिएको थियो । सरकारले मानव सेवा आश्रमसँग प्रतिव्यक्ति मासिक ३ हजार उपलब्ध गराउने सम्झौता छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया