मुस्ताङमा ५० वर्षअघिको बम डिस्पोज

सुन्दरकुमार थकाली २०७९ साउन २२ गते १०:२७

जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङमा ५० वर्षअघि तिब्बती खम्पाले राखेको बम भेटिएको छ । जिल्ला प्रशासन कार्यालय र प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले शुक्रबार वारागुङ मुक्तिक्षेत्र ३ तेताङमा फेला पारेको ८ थना बम डिस्पोज गरेको हो ।

Advertisement

जिम्बु टिप्न म्याग्दीको मालिकाका गाउँपालिका ३ का १२ युवा डेढ महिनाअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ३ को तेताङ लेक पुगेका थिए । समुन्द्री सतहदेखि करिब ५ हजार मिटरमा पर्ने तेताङको प्याङ लेकमा मगलबार जिम्बु खोज्ने क्रममा सोही स्थान आसपास नजिकको ओढारमुनि जिम्मु खोज्ने युवाले बम देखेका थिए ।

तेताङको जंगल भित्रको ओढारमा करिब एक दर्जन बिस्फाेटक पदार्थ (बम) युवाले देखेका थिए । त्यसपछि ३ युवाले ३ थान बम उठाएर आफू बस्ने ठाउँमा ल्याएर खोल्न खोज्दा बम पड्किएको थियो । बम पड्किएर म्याग्दीका ४ जना युवा घाइते भएका थिए । घाइते भएर उपचारका लागि जोमसोम अस्पतालमा ल्याइएका युवाले सो स्थानमा बम रहेको प्रशासन र प्रहरीलाई जानकारी दिएका थिए ।

Advertisement

घटनाको भोलिपल्टै जिल्ला प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय छुसाङबाट ३ जनाको प्रहरी टोली बम रहेको नरहेको यकीन गर्न घटनास्थलतर्फ पठाइएको थियो । लेक पुगेको प्रहरी टोलीले बम रहेको रिपोर्टिङ गरेपछि जोमसोमबाट नारायण दल गणको २५ सदस्यीय बम डिस्पोजल टोली तेताङ लेकमा पुगेको थियो । उनीहरुले तेताङ लेंकको ओढारमा रहेको बम जम्मा गरी डिस्पोज गरेको सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिए ।

तेताङको लेकमा फेला परेको बम करिब ५० वर्षअघि तिब्बती खम्पाहरुले राखेको अनुमान गरिएको छ । जिल्ला स्तरबाट पनि उपल्लो निकायमा खम्पाले राखेको बम भनी रिपोटिङ भएको छ । तिब्बतमा सांस्कृतिक विद्रोह हुँदा तिब्बतको खामबासीले चीनको हस्तक्षेपविरुद्ध विद्रोह गरेका थिए । २०३१ सालअघि उत्तरी कोरलानाका हुँदै भागेर मुस्ताङ पसेका खम्पाले चीनविरुद्ध युद्ध लड्न विभिन्न स्थानमा आधार शिविर खडा गरेका थिए । खम्पाको मुस्ताङमा सबैभन्दा ठूलो सैन्य हेडक्वाटर घरपझोङ गाउँपालिकाको कैसाङमा थियो ।

Advertisement

उनीहरुलाई विदेशीले हातहतियार, बिस्पोटक पदार्थ र सैन्य अभ्यास सिकाउने गर्थ्याे । २०३१ सालमा नेपाली सेनाले खम्पालाई मुस्ताङबाट धपाएका थिए । त्यस बेला खम्पाले भण्डारण गरेर राखेको बममध्ये केही तेताङ लेकमा फेला परेको हो । सेनाले डिस्पोज गरेको बम धेरै पुरानो भएकाले पूर्ण रुपमा खिया लागेको थियो । तर भेटिएका बम ज्यादै पुराना भए पनि निस्क्रिय भइसकेको थिएनन् ।

अझै पनि तेताङको लेकमा जस्तै अन्य स्थानमा पनि यस्ता बम फेला पर्न सक्ने स्थानीय बताउँछन् । बम रहेको ठाउँबाट केही माथि खम्पा बस्ने घरहरुका भग्नावशेष छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया