कर वृद्धि फिर्ता गर्न कांग्रेसको माग

पोखरा l
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० लाई लक्षित गरी बढाइएको कर तत्काल खारेज गर्न लागि नेपाली कांग्रेस गण्डकीले माग गरेको छ l कांगेस प्रदेश कार्य सम्पादन समितिको बैठकले शनिबार प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो । जनताका समस्या समाधान गर्नुको साटो जनतालाई नै सास्ती दिने तरिकाले गरिएको योे निर्णय तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत गर्न ध्यानाकर्षण गराइएको पार्टी प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावना अनुरुप काम गर्नका लागि पठाइए पनि केही व्यक्तिवादी सोंचका साथ काम भएको उनले बताए । गण्डकी प्रदेश सरकारको आव २०७९/०८० को बजेटमा यातायात तथा भूमीसम्बन्धी कर, अघिल्लो वर्षको तुलनामा अनपेक्षित रुपमा बढेको भनी आम नागरिकबाट आएको गुनासोमा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको ध्यानाकर्षण भएको जनाइएको छ ।
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको र प्रजातन्त्रको सुन्दर पक्ष भनेको नै जनताका भावनाको सम्मान भएकाले कर फिर्ता फिर्ता लिन विज्ञप्तिमा माग गरिएको छ । नेपाल सरकारले आउने मंसिर ४ गते एकै दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न गरेको घोषणाको नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले स्वागत गरेको छ ।
आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउनका लागि उच्च मनोवलका साथ जनताका बीचमा जान पार्टीका सबै तहका नेता, कार्यकर्तालाई बैठकले आह्वान गरेको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै गण्डकी प्रदेशभित्रका सबै क्षेत्र, प्रदेश, क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नका लागि गण्डकी प्रदेश कार्यसमितिको तर्फबाट यथासक्य चाँडो सबै प्रदेश क्षेत्रीय कार्यसमितिमा प्रतिनिधि खटाइने भएको छ ।
संघीयता कार्यान्वयनपछि गण्डकी प्रदेशमा, प्रदेश स्तरीय भातृ संघ, संस्था नभएको हुँदा आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश स्तरीय भातृ तथा शुभेच्छुक संस्था गठन गर्न वा गठन गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिलाई अधिकार प्रत्योजन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत भएको प्रवक्ता बास्तोलाले जानकारी गराए ।
तपाईको प्रतिक्रिया