पोखरादेखि सुनौलीसम्म राजमार्ग आसपास उद्योग एकीकृत रुपमा अगाढि बढाउन सहमत

समाधान संवाददाता २०७९ साउन २२ गते ११:५७

पोखरा ।
सिद्धार्थ राजमार्गसँग जोडिएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आसपासको क्षेत्रमा पर्यटन केन्द्रीत गतिविधिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् । पोखरादेखि सुनौलीसम्मको राजमार्गमा पर्यटनका अलवा कृषि, पशुपालन तथा जडिबुटी जन्य उद्योगलाई एकीकृत रुपमा अगाढि बढाउने उनीहरुले सहमत जाहेर गरेका छन् ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले सिद्धार्थ राजमार्गको स्तरोन्नति विना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । सिद्धार्थ आर्थिक करिडोरका स्थानीय तहका प्रमुखहरुको मञ्चले शनिबार आयोजना गरेको प्रभावकारी स्थानीय सेवाको लागि निजी साझेदारी तथा सिद्धार्थ आर्थिक करिडोर सिकाई गोष्ठीमा मेयर आचार्यले पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आवतजावतमात्र नभएर आसपासको सामाजिक तथा आर्थिक विकासमा समेत टेवा पुग्ने उल्लेख गरे ।

उनले भारत तथा चीनलाई जोड्ने उत्तर दक्षिण नाकालाई सुदृढ बनाएर व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने चर्चा गरे । महानगरले समुन्नत पर्यटकीय पोखरा भन्ने नाराका साथ काम गरेको जानकारी दिँदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न औपचारिक प्रस्ताव गरेको उनले बताए । मञ्चका संयोजक तथा तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले सिद्धार्थ राजमार्गसँग जोडिएका पोखरादेखि सुनौलीसम्मका १५ पालिका एकापसमा सहकार्य गरेर सामाजिक एवं भौतिक विकास तथा आर्थिक समृद्धिका योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।

Advertisement

उनले सिद्धार्थ आर्थिक करिडोर राजमार्गसँग जोडिएका पालिकाको सामाजिक र आर्थिक विकासका लागि अगाडि सारिएको साझा अवधारणा भएको जानकारी दिए । उनले मञ्चका गतिविधि २०७६ मंसिरदेखि सुरुवात भएको बताए । ‘हरेक पालिका गतिविधि निश्चित भूभागमा सिमित छ,’ मेयर श्रेष्ठले भने, ‘स्थानीय तह सञ्चालन ऐनको दफा २६ अनुसार सबै पालिका एकापसमा मिलेर काम गर्ने हो । पालिकाको विकास भूगोलमा मात्र सिमित हुनु हुँदैन ।’ मेर श्रेष्ठले मञ्चले अन्तरपालिकाको समन्वयमा गर्न सकिने साझा परियोजनालाई पहिचान गरी अगाडि बढ्ने जानकारी दिए ।

समुन्नति परियोजना (इपिआई)का टिम लिडर हीरामणि घिमिरेले स्थानीय तहका प्रमुखहरुको मञ्च स्वतस्फूर्त विकास भएको मञ्च भएको दाबी गरे । उनले एक्लैभन्दा पनि एकभन्दा बढी पालिका मिलेर काम गर्दा कम लागतमा प्रभावकारी काम गर्न सकिने जानकारी दिए । उनले राजनीतिक एवं वस्तुगत प्राथमिकतालाई विज्ञतासँग जोड्ने बताए । तानसेन नगरपालिकाका योजना अधिकृत विष्णु पौडेलले मञ्चमा आबद्ध सबै नगरपालिकाले सिद्धार्थ आर्थिक करिडोरको समग्र विकासका लागि आफ्नो नीति कार्यक्रममा समेट्नुपर्ने बताए । राजमार्ग आसपासका सबै विषयवस्तु आर्थिक सवालसँग जोड्नुपर्ने उल्लेख गर्दै उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे ।

Advertisement

उनले सिद्धार्थ राजमार्ग साँघुरो र बढी घुम्ती, आसपासको सेवा केन्द्र कमजोर भएको कारण गुणस्तरीय पर्यटक नआउने उल्लेख गरे । सुदृढ परियोजना (एनयुआरपी)का सरोज बस्नेतले स्थानीय तहको आर्थिक विकासमा सार्वजनिक निजी साझेदारी (सानिसा)महत्वपूर्ण स्थान रहेको बताए । उनले जोखिम र प्रतिकूलता दुबैले लिने सवाल सार्वजनिक निजी साझेदारीमा पर्ने जानकारी दिए । उनले पोखरामा भएको सिकाई गोष्ठीले घोषणापत्र जारी गर्ने उल्लेख गरे ।

युकेएड, समुन्नति परियोजना (इपिआई), सुदृढ परियोजना (एनयुआरपी)को समन्वयमा भएको कार्यक्रममा सुदृढ परियोजनाका सल्लाहकार कृष्ण ज्ञवाली, समुन्नति परियोजना (इपिआई)का विषय विज्ञ नरबहादुर थापा, बेलायती राजदुतावासका आर्थिक वृद्धि सल्लाहकार सविता थापा, सार्वजनिक निजी साझेदारी (सानिसा)का विज्ञ मणिरामसिंह महत, सानिसाका कानुन विज्ञ नारायण चौलागाई‌, लगानी बोर्डका उपसचिव रमेश अधिकारी, स्थानीय तह प्रमुखहरुको मञ्चका सचिवालयका प्रतिनिधि शंकर भण्डारी लगायतले सिद्धार्थ आर्थिक करिडोरको आर्थिक तथा सामाजिक विकासका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया