व्यवसाय प्रवद्र्धन गर्न समझदारी

समाधान संवाददाता २०७९ साउन २२ गते १२:१५

पोखरा ।
पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ र नेपाल सहरी उत्थानशील परियोजना सार्वजनिक निजी संवादसमेतका माध्यमबाट “उद्यमशीलता विकास तथा नवउद्यम प्रवद्र्धनका लागि व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र सञ्चालनसम्बन्धी समझदारी भएको छ ।

६ बुँदे त्रिपक्षीय समझदारी पत्रमा पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापति र नेपाल सहरी उत्थानशील परियोजनाको तर्फबाट सविता थापाले हस्ताक्षर गरे ।

समझदारी अनुसार पोखरा महानगरपालिकामा उद्यम गर्न चाहने व्यक्ति वा समूहलाई उद्यमशीलताको अनुसन्धान र विकास प्रविधि हस्तान्तरण तथा बजार, सह–कार्यस्थल, उद्भवन, प्रशिक्षण, वित्तीय तथा कानुनी परामर्श प्रदान गरिनेछ । व्यवसाय प्रवद्र्धन केन्द्र सञ्चालन कार्यविधि–२०७९ बमोजिम स्थापना हुने व्यवसाय प्रवद्र्धन केन्द्र अन्तर्गत गठन हुने सार्वजनिक निजी संवाद मञ्च समेतका माध्यमबाट निजी तथा सार्वजनिक क्षेत्रबीच नियमित, नतिजामुखी र पारदर्शी रूपमा संवाद, छलफल तथा अन्तरक्रियाको अभ्यासलाई संस्थागत गरिनेछ ।

Advertisement

समझदारी पत्रमा पोखरा महानगरपालिकामा विद्यमान व्यवसाय सञ्चालन गर्ने वातावरणमा सुधार र बजार प्रणालीको सुदृढीकरणमार्फत उद्यमशीलता विकासलाई प्रोत्साहन, सहजीकरण तथा सहयोग गर्ने, महानगरपालिकाले थालनी गरेको मेयर नवउद्यम (स्टार्टअप) विकास कार्यक्रम तथा उपमेयरसँग महिला कार्यक्रमलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन आवश्यक नीति, रणनीति तथा कार्य योजना तयार गरी कार्यान्वयनमा सहयोग गर्ने, पोखरा महानगरपालिकाले स्थापना गर्ने व्यवसाय प्रवद्र्धन केन्द्र एवं सो अन्तरगतको सार्वजनिक निजी संवाद मञ्चलाई संस्थागत गर्न र संस्थागत क्षमता अभिवृद्धि गर्न आर्थिक, भौतिक, प्राविधिक तथा बौद्धिक सहयोग प्रदान गर्ने लगायत उल्लेख छन् ।

यसका अलवा त्रिपक्षीय जिम्मेवारीसमेत समझदारी पत्रमा तोकिएको छ । रोजगारीको अभाव र उद्यमशीलताको क्षेत्रभन्दा बाहिर रहेका व्यक्तिलाई व्यवसाय सुरु गर्न यस कार्यक्रमले सहयोग गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । व्यवसाय सञ्चालन गरी उद्यमशील बन्न चाहने जो कोहीलाई व्यवसाय प्रवद्र्धन केन्द्रको पूर्ण सहयोग रहने विश्वास समेत उनले दिलाए ।

Advertisement

यसका लागि आवश्यक पुँजीको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने प्रमुख आचार्यले जनाए । रोजगारी सृजना तथा उद्यमशीलता विकासका लागि केन्द्रमार्फत सञ्चालन गर्ने गरी ३० करोड पुँजी व्यवस्थापन महानगरपालिकाले गर्ने छ ।
यस क्षेत्रका विज्ञहरूले अनुसन्धान र विकास प्रविधिलाई जोड्ने एक महत्वपूर्ण कडीका रूपमा यसको व्याख्या गरेका छन् । उनीहरूले महानगरको यस प्रकारको प्रयासलाई उद्यमशीलता र रोजगारी सृजनाको अपरिहार्य तर, नवीन अभ्याससमेत भनेका छन् । यस कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया