सम्पादकीय: राजमार्ग केन्द्रीत विकास निर्माण
पोखरादेखि सुनौलीसम्मको जीर्ण अवस्थाको सिद्धार्थ राजमार्गको स्तरोन्नतीको सवाल वेला बखत उठ्ने गरेको छ । धेरै ठाउँमा घुम्ती र साँघुरो भएकाले दुरी छोटो भएतापनि यात्रा गर्दा धेरै समय लाग्ने भएकोले त्यसको सट्टामा द्रुतमार्ग (फाष्टट्रयाक) निर्माणको गर्नु पर्ने मागपनि चर्चामा आउने गरेको छ । भारत सरकारको सहयोगमा २०२० सालमा सुरु भएर २०२९ सालमा पुरा भएको राजमार्ग पृथ्वीराजमार्ग भन्दा पुरानो हो ।
समग्र विकासको पहिलो खुट्कीलो सडक पूर्वाधारलाई मानिन्छ । एक ठाउँबाट अर्को ठाउँलाई जोड्ने राजमार्ग खुलेपछि आसपासको जनताको जीवन स्तरमा सुधार हुन्छ, भने नयाँ नयाँ ठाउँको बस्ती विकास देखि नयाँ शहरको विकास पनि हुन सक्छ । छिमेकी मुलुक भारत तथा चीनलाई जोड्नको लागि महत्वपूर्ण भएतापनि यो राजमार्ग आसपास जनताको जीविकोपार्जनदेखि ठुला ठुला छलाङ मार्नको लागि सहयोगी बन्न सकेको छैन ।
यस्तो अवस्थामा राजमार्गको स्तरोन्नति लगायत अन्य विकास निर्माणका पूर्वाधार सामुहिक र संस्थागत रुपमा अगाडी बढाउन राजमार्ग आसपासका स्थानीय तहले काम थालेका छन् । राजमार्ग आसपासको आर्थिक तथा सामाजिक विकासको लागि पोखरादेखि सुनौलीसम्मका १५ स्थानीय तहहरु विगत तीन वर्षदेखि साझा मञ्च बनाएर जुटेका छन् । सिद्धार्थ आर्थिक करिडोरका स्थानीयतहका प्रमुखहरुको मञ्च (मेयर्स फोरम)ले पर्यटन केन्द्रीत गतिविधि गरेर अर्थतन्त्रको विकासलाई अगाडी सार्ने योजना बनाएको छ ।
सिद्धार्थ आर्थिक करिडोर राजमार्गसँग जोडिएका पालिकाहरुको सामाजिक र आर्थिक विकासको लागि अगाडी सारिएको साझा अवधारणा भएकोले सबै स्थानीय तह पर्यटनका अलवा कृषि, पशुपालन तथा जडिबुटी जन्य उद्योगलाई एकीकृत रुपमा अगाडी बढाउनमा सहमत छन् । विकास निर्माणलाई अगाडी बढाउने सवालमा हरेक पालिका गतिविधि निश्चित भूभागमा सिमित भएको अवस्था छन् ।
पालिकाको विकास भूगोलमा मात्र सिमित नराखेर स्थानीय तह सञ्चालन ऐनको दफा २६ अनुसार सबै पालिका एक आपसमा मिलेर काम गर्नको लागि ध्यान दिनु पर्छ । हरेक पालिकाले एक्लै भन्दा पनि एक भन्दा बढी पालिका मिलेर काम गर्दा कम लागतमा प्रभावकारी काम गर्न सकिन्छ । सार्वजनिक निजी साझेदारी (सानिसा)को मुल विषयबस्तुमा केन्द्रीत भएर कानुनी तथा संस्थागत संरचनाको निर्माणमा समेत जोड दिर्दै मञ्चमा आबद्ध सबै नगरपालिकाले सिद्धार्थ आर्थिक करिडोरको समग्र विकासको लागि आफ्नो नीति कार्यक्रममा समेटेर सामुहिक र संस्थागत काम गर्न ढिलाई गर्नु हुदैन ।
सिद्धार्थ करिडोर क्षेत्र श्रोत र साधनले सम्पन्न र धेरै सम्भावना र अवसर भएको क्षेत्र हो । त्यसैले राजमार्गसँग जोडिएका र सेरोफेरोका पालिकाहरुको आर्थिक विकास र समृद्धिका योजना कार्यान्वयन गर्न संस्थागत संरचना बनाउनु पर्छ । सबै योजनालाई द्रुतमार्गमा लैजान र आपसी संवाद र सहकार्यको माध्यमबाट द्विपक्षीय र बहुपक्षीय समन्वय र सहकार्यमा जोड दिनु पर्छ ।
तपाईको प्रतिक्रिया