डेभिड इस्टनकाअनुसार राजनीतिको शाब्दिक अर्थ स्रोतहरुको उचित ब्यवस्थापन हो । स्रोत भन्नाले आर्थिक, मानवीय, खनिज या अन्य जुनसुकै वस्तु या विचार पनि हुन सक्छन् । परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको पनि उचित व्यवस्थापन गर्नु भनेको अर्थ राजनीति गर्नु हो । द्वन्द्व, युद्ध भनेको राजनीतिको असफलता हो । राज्य सञ्चालनका लागि गरिने हरेक क्रियाकलाप राष्ट्रिय राजनीति हो र सबैले बुझ्ने राजनीति भनेको यही नै हो ।
यो आफैंमा कुनै नकारात्मक शब्द होइन । जुन अहिले आम मानिसको बुझाइ छ– राजनीति फोहोरी खेल हो । राजनीति कसरी फोहरी हुन्छ, जब यो नै राज्य सञ्चालनको एकमात्र आधार हो । यो खेल फोहोरी होइन । यहाँका खेलाडी फोहोरी भएका छन् । सत्ता र पैसाको लोभ र उन्मादले यसलाई यसरी धुमिल्ल्याइएको छ कि यो फोहोर सफा गर्ने आँट गर्न पनि एक सच्चा इमान्दार देशप्रेमी नागरिकलाई असम्भव प्रायः बनाइएको छ ।
देश बनाउन कुनै ठुलो वाद होइन, बिषयगत दक्षता, मानवीयता र इमान्दारी भए पुग्छ
यसो भनिरहँदा के हाम्रो राजनीति यसरी नै चलिरहन्छ त ? अवश्य पनि छैन । विश्वमा भएका अनेकन परिवर्तनका कारण हामीले असल राजनैतिक संस्कारभन्दा पहिले असल व्यवस्था पायौं । हाम्रो मानसिकता उदार नहुँदै हामीले उदारवादी लोकतन्त्र पाएका छौं जसका कारण अहिले हामीले लोकतन्त्र र संघीयता पूर्ण रूपले संस्थागत गर्न सकिरहेका छैनौं । यो अन्तर्कालीन अवस्था हो र यसबाट हामी विस्तारै परिष्कृत हुँदै अघि बढ्ने प्रक्रियामा छौं भन्ने मलाइ विश्वास छ ।
राजनीति कस्तो र कसले गर्नु पर्छ त ? यो प्रश्न प्रचीन कालदेखि नै बारम्बार सोधिएको छ र बिभिन्न विद्वानले आ–आफ्नै दर्शन दिएका पनि छन् । मनुस्मृति, चाणक्य नीति, प्लेटोको आदर्श राज्य, मेकियभेलीको प्रिन्स आदि रचनामा यस विषयमा तत्कालनि समय सापेक्ष सोच हामी पाउन सक्छौं । ती तत्कालीन परिवेशका सोचहरु थिए र केही अझै पनि समय सापेक्ष हुन सक्छन् तर हामीले वर्तमान समयको आवश्यकता अनुसार विचार बनाउँदै जानु पर्छ र यो अनन्त चलिरहने प्रक्रिया हो ।
एउटा शिक्षक, डाक्टर, इन्जनियर या जुनसुकै विज्ञानको ज्ञाता हुन विषयगत शैक्षिक योग्यता र परीक्षा उत्तीर्ण हुनु पर्छ । विज्ञान अनुभवका आधारमा मात्र परिपूर्ण हुँदैन, सैद्धान्तिक शिक्षा अपरिहार्य हुन्छ । राजनीति पनि एउटा विज्ञान नै हो । डेभिड इस्टन, रोबर्ट डाहल, आल्मन्ड लगायतका धेरै विद्वानले राजनीति शास्त्रलाई वैज्ञानिक ढंगबाट अध्ययन गर्ने परिपाठी सुरु गरेका थिए । भलै यो पूर्ण विज्ञान हुन सकेको छैन तर यसमा पनि अनेक नीति, नियम स्पष्ट छन् । जुन कुराको ज्ञानका लागि राजनैतिक शिक्षा अपरिहार्य छ ।
अब हाम्रो देशको राजनीति हेरौं, हाम्रा राजनीतिज्ञहरु हेरौं । विगतको राणाकालीन र निरंकुश राजतन्त्रात्मक राज्यको परिवेशका कारण नेपालीहरुले उचित शिक्षा प्राप्त गर्न नसकेको अवस्थामा नागरिकको हकहित र व्यवस्था परिवर्तनको लागि हाम्रा राजनैतिक दलका नेताहरुले ठूलो बलिदानीका साथ हामीलाई यो अवस्थामा ल्याईपुर्याएको कुरामा कुनै दुईमत हुनु हुँदैन । तर अब अवस्था बदलिसकेको छ । अब हामी स्वयम् अनुशासनमा बस्न सक्ने हो भने हामीले सबैभन्दा उन्नत व्यवस्था प्राप्त गरिसकेका छौं ।
अब हाम्रा नेताको दायित्व भनेको भावी पुस्ताका लागि जोन राउलले भनेको जस्तो अनविज्ञताको पर्दामा रहेर भविष्यको परिकल्पना गरेर सोका लागि जग तयार गर्नु हो । यसका लागि उनीहरुबाट राज्यले अझै ठूलो त्यागको आश गरेको छ ।
भलै प्लेटोले भनेको जस्तो आदर्श राज्यको परिकल्पना अहिलेको युगमा सम्भव नहोला तर जोन राउलले भनेको जस्तो आफूलाई अज्ञानताको पर्दामा राखेर हेर्दा आफू कस्तो व्यवस्थामा जिउने परिकल्पना गरिन्छ सो अवस्था निर्माण गर्न चाहिने एकमात्र तत्व होः इमान्दारिता ।
इमान्दारितामा इच्छाशक्ति थप भएमा जस्तोसुकै कार्य पनि सम्भव हुन्छ । अमेरिका अठारौं शताब्दीमा व्याप्त विकृत प्रणालीबाट मेरिट प्रणालीमा गएको जसरी अब हामीले निर्माण गर्ने राज्य भनेको सोही प्रणालीमा हुनुपर्छ । नभए जसरी अमेरिकामा राष्ट्रपति गार्फिल्डलाई एक असन्तुष्ट कर्मचारीले हत्या गरेका थिए, त्यस्तै अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न ।
हामी नेपाली आफूलाई अन्तर्यामी सम्झन्छौं । एकै व्यक्ति कहिले अर्थमन्त्री, कहिले गृहमन्त्री, कहिले परराष्ट्रमन्त्री या पाए जुनसुकै मन्त्री पनि पड्काउन सक्ने खूबी राख्छौं । न विषयगत शैक्षिक योग्यता, न अनुभव, तै पनि सबै कुरा बुझ्न सक्ने हामी नेपाली वास्तवमै महान् छौं । नेतामात्र होइन, हामी जनता पनि उस्तै छौं । चियापसल, चौबाटो जहाँ पनि जुनसुकै बिषयमा पनि हामी निर्धक्कसँग यसो र उसो हुनु पर्छ भनेर आफ्नो अद्भुत विज्ञता देखाउन पछि पर्दैनौं ।
किन यस्तो गर्छौं त हामी ? किनकी हामी आफैंले आफैंलाई सर्वोपरि ठान्छौं, विज्ञ ठान्छौं, विज्ञानलाई एकदमै सहज ढंगले लिने गर्छौं । गुरुत्वाकर्षणको एउटा सिद्दान्त संसारले पाउन कति समय कुर्नु पर्यो, आइन्सटाईनले आफ्नो सापेक्षताको सिद्दान्तको लागि कति मेहनत गरेका थिए । हामी त क्षणभरमै यसो र उसो हुनु पर्छ भनेर निस्कर्ष निकालिहाल्छौं । यो हाम्रो सबैभन्दा ठूलो भूल हो । हामीले विज्ञानलाई समय दिनु पर्छ, विज्ञलाई स्थान दिनु पर्छ ।
बिषयगत विज्ञहरु सम्बन्धित ओहदामा रहनु पर्छ । विज्ञ हुँदैमा व्यवस्थापन गर्न सक्छन् त भन्ने प्रश्न अशिक्षितहरुले गर्न पछि पर्ने छैनन्, तर विषय विज्ञ एकले नसके अर्कोले सक्ने सम्भावना जति धेरै हुन्छ, त्यति अनुभव भएका मात्र भनिएकाहरुबाट हुने सम्भावना एकदमै कम हुन्छ । जब राजनीतिमा पनि विषयगत विज्ञताको कसी राखिनेछ तब सबै नागरिकलाई अध्ययन गर्न कर नै लाग्नेछ, शिक्षा बिना राजनीति असम्भव भयो भने त विद्यालय, क्याम्पसमा ढुंगामुढा, तालाबन्दी स्वतः हराउनेछ । यो विषय वर्तमान संसदबाट सम्भव नहोला, कारण सहजै बुझ्न सकिन्छ तर अब बिस्तारै जुन बौद्धिक चेतनाको विकास हुँदै गइरहेको छ, एक दिन अवश्य पनि यो कुरा सम्भव हुनेछ ।
बालेनको उदयपश्चात अब अरनिको पाण्डे, सागर ढकाल, निकोलश भुसाल जस्ता विषयविज्ञको राजनीतिमा प्रवेश एक लहर हो । यसलाई सार्थक बनाउनु आम राष्ट्रचिन्तक नेपालीको भविष्यको लागि सुखद सुरुवात हुने कुरामा म निश्चिन्त छु । ढुंगामूढा गर्नेले जान्ने, पढेलेखेकाले नजान्ने भन्ने राजनीति फोहोरी रीजनीति हो जुन अब हामीलाई अब स्वीकार्य छैन । अबको राजनीति बौद्धिक वर्गले गर्नु पर्छ । अबको आन्दोलन पद्दद्धि विकासका लागि हुनुपर्छ, हुनेछ पनि ।
जुनसुकै विधामा भए पनि बिना निश्चित योग्यता सो विषयमा काम गर्नु भनेको सो विषयमा योग्यता भएका विज्ञ उत्पादन नहुञ्जेल कामचलाउका लागि मात्रै हुनुपर्छ । जब विषयगत विज्ञहरु उत्पादन हुन्छन्, तब ती जनशक्तिको पुनस्र्थापना हुनु जरुरी हुन्छ । त्यसका लागि राज्यले नीति बनाउन आवश्यक हुन्छ । पुराना नेताहरुले देशको लागि जे जति योगदान दिए, सोको कदर गर्दै उनीहरुको उचित पुनस्र्थापना हुनु पर्छ र अब राजनीति गर्ने विज्ञहरुले उनीहरुको अनुभवको ज्ञानलाई आत्मसाथ गरी देश विकासमा इमान्दारीका साथ लाग्नु पर्छ ।
सम्पत्ति कमाउने उद्देश्य भएकाहरु व्यापार या अन्य जुनसुकै व्यवसायमा लाग्दा हुन्छ, राजनीतिको अर्थ निःस्वार्थ जनताका लागि काम गर्नु हो र सोका लागि प्लेटोले भने जस्तो कम्तीमा पनि नेताहरुलाइ सम्पत्तिमा साम्यवाद लागु गर्नु म अपरिहार्य ठान्छु । देश बनाउन कुनै ठुलो वाद होइन, बिषयगत दक्षता, मानवीयता र इमान्दारी भए पुग्छ भन्ने मलाई लाग्छ ।
डा सञ्जय कोइराला
नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।
तपाईको प्रतिक्रिया