गलकोटमा पार्किङ अभाव खड्किदैं

समाधान संवाददाता २०७९ साउन २३ गते १५:२२

बागलुङ ।
बागलुङकाे गलकोट नगरपालिकामा पछिल्लो समय तिव्र रुपमा बजारीकरण विस्तार भईरहेको छ । मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा चौबिसै घण्टा सवारी साधन ओहोर दोहोर गर्ने गर्दछन् ।

सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको अभाव खड्किदैं आएको छ । गलकोट नगरपालिकाको केन्द्र रहेको हटिया बजार क्षेत्रमा बसपार्क नहुँदा प्रहरीले वैकल्पिक ट्राफिक व्यवस्थापन गर्दै आईरहेको छ ।

एक दशक अघि सम्म बेशी–खेत र सामान्य बजार रहेको गलकोट यति बेला नगरपालिका बने सँगै घरहरु निर्माण कार्य बढदै गएको छ । गाउँका नागरिकहरुले बेशीका खेतमा घर निर्माण गर्ने र खेत नहुनेहरुले घडेरी किनेर घर बनाउने क्रम बढेपछि केहि वर्ष यता बजारीकरण बढदै गएको हो ।

Advertisement

बढदो जनघनत्व त्यस माथि मध्य पहाडी लोकमार्गमा रुकुम, रोल्पा देखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाण्डौं चल्ने ठुला तथा साना सवारी साधनको आवत जावतले बसपार्कको अभावमा ट्राफिक व्यवस्थापन समस्या बनेको छ ।

बजारीकरणको तिव्र विकास भए सँगै शहरको झल्को मेटाउने गलकोटको हटिया बजारमा बसपार्क नहुँदा नेपाल प्रहरी र गलकोट नगरपालिकाले वैकल्पिक ट्राफिक व्यवस्थापन गर्दै आएको प्रहरी चौकी हटियाका प्रमुख तथा प्रहरी नायव निरिक्षक विष्णु शर्माले जानकारी दिए ।

Advertisement

उनले आफु गलकोटमा आए लगत्तै सडकमै वान साईड पार्किङ्गको व्यवस्थापन गरे पनि व्यवस्थित बसपार्कको निकै अभाव रहेको बताए पहिले सडकको दुबै तर्फ गाडी पार्किङले दुर्घटनाको जोखिम निकै बढि रहेकोमा वान साईड पार्किङले न्यूनिकरणमा सहयोग पुगेको उल्लेख गरे ।

गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य तथा कार्य वहाक वडा अध्यक्ष रबिन बोहोराले मध्य पहाडी लोकमार्गमा सवारी साधनको आवत जावत अनि नगरपालिका बने सँगै हटिया बजार क्षेत्रमा जनघनत्व बढेको र सवारी साधनको पनि दिनहुँ चाँप बढिरहेकोले बसपार्कको निकै अभाव खड्किएको बताए ।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बसपार्कको अभाव अत्यन्तै भएपनि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिएको भएता पनि जग्गा नपाउँदा वैकल्पीक ट्राफिक व्यवस्थान गरिएको बताए ।

उनले जग्गा भाडामा लिएर भएपनि अब छिट्टै बसपार्क निर्माणको प्रकृया अगाडी बढाउन नगरपालिका गृहकार्य गरिरहेको बताए । हटिया बजार गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र मात्र नभई पश्चिम बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला रुकुम र रोल्पाका मानिसहरु मध्यपहाडी लोकमार्गको गलकोट हुँदै यात्रा गर्ने गर्दछन । बजारीकरणको विस्तार सँगै भविष्यमा शहर बन्ने स्थानीयले अपेक्षा गरेका छन् ।

बागलुङ बुर्तिबाङ सडक खण्डको निर्माण हुनु पुर्व नुन, तेल, चामल समेत बुटवल र पोखराबाट बोकेर खाएको अनुभव सुनाउने गलकोट नगरपालिकाका नगर प्रमुख गैरेले बागलुङ बुर्तिबाङ सडक खण्ड निर्माण सँगै पछि नेपाल सरकारले यस सडकलाई मध्य पहाडी लोकमार्गमा परिणत गरेपछि उक्त सडक यस क्षेत्रकै विकासको मेरुदण्ड बन्न पुगेको र यहाँको जनजीवन बदलिएको बताउँछन् ।

बसपार्क निर्माण लगायतको सार्वजिनक हितका संरचना निर्माणमा नगरपालिकाले स्थानीय बिच बृहत्तर छलफल र निकासको बाटो खोज्ने तर्फ ध्यान दिए गलकोट नगरको बजार क्षेत्रले विकासमा छलाङ्ग मार्ने स्थानिय सवारी चालक विष्णु काउचाले बताए । स्थानिय सरकारले यस विषयमा गम्भिर भएर पहल कदमी गर्ने हो भने समस्याको समाधान छिट्टै निस्कने ट्याक्सी चालक दिपक गौतमले बताए ।

कुनै समय अलि धेरै मानिसहरु पुग्दा खान खाने होटलको समेत अभाव रहेको गलकोटमा यति बेला विदेशी पर्यटकहरु समेत बस्न मिल्ने सुविधा सम्पन्न होटल रेष्टुरेण्ट र सपिङ्ग सेन्टर गलकोट स्क्वायर निर्माण भएको छ । ६ करोडको लागतमा स्क्वायर स्थानिय हिरा भण्डारीले निर्माण गरेका हुन । युवाहरुलाई व्यापार व्यवसायमा आकर्षित गर्दै पर्यटन प्रर्वद्वनमा टेवा पुर्याउने उद्येश्यले सपिङ मलको स्टाईलमा बिल्डिङ निर्माण गरेको भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया