सबै क्षेत्रले खोज्छ जोनजस्तै मान्छे

अर्जुन अधिकारी २०७९ साउन २३ गते १६:१३

असल मानिस र ठूला मानिसको महत्व समाजले छुट्याउन नसकुञ्जेल यो देश र समाज यस्तै रहने छ । यो भनाइको उत्तर आजको नेपाली समाजले उठाइरहेको प्रश्न हो । यतिबेला यस प्रश्नको उत्तर कहि कतैबाट प्राप्त गर्न सकिने अवस्था छैन । किनकी हाम्रो समाजमा आज पनि असल मानिसको महत्व हैन ठूलो मानिसको महत्वलाई बढावा दिएको पाइन्छ । असल मानिसको महत्वलाई हैन ।

विसं १९८९ (सन् १९३१) साल भदौ २३ गते दक्षिणी भारतको केरलालमा जन्म भई विस २०१७ सालदेखि पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको ज्योति छर्दै पोखरालाई कर्मथलो बनाउँदै आउनु भएका अनुकरणीय व्यक्ति एवम् असल गुरु (असल मानिस) को नाम हो जोर्ज जोन । टलक्क टल्कदैमा सबै बस्तु हीरा हुँदैनन् । पहेंलो र टल्कने जलप लगाइएका सबै बस्तु सुन हुँदैनन् । कागजको फूलमा गुलाब छर्दैमा अत्तर बन्न सक्दैन । तर जोन सर भने पश्चिमाञ्चलको शिक्षा क्षेत्रको कर्म रमाउने हीरा हो भनेर कतिपय शिक्षा क्षेत्रका अगुवाहरू बताउँदै आएका छन् । किन भने जसले आफ्नो जन्मथलो र मातृभूमि जहाँ सम्पन्नता थियो ।

समाज र राष्ट्रलाई ठूलो मान्छेभन्दा पनि असल मानिसको खाँचो छ । त्यो आवश्यकता पूरा गर्न जोन सरका सबै विद्यार्थीले असल मानिस बन्ने प्रण गर्दा मात्रै पनि जोन सरप्रति सच्चा सम्मान हुन्छ

Advertisement

सुखसयलरुपी विकसित मातृभूमिलाई छाडेर निकै ठूलो कठिन र अप्ठेरोमा सपना देख्नु कम चुनौती र संघर्षको विषय नै थिएन । जहाँ विशाल पहाडै पहाड थियो, मरुभूमिको अवस्थामा थियो । त्यसलाई आज समथर र हरियाली बनाउनुभएको छ । त्यो जोन सर जस्तो असल विचार, निस्वार्थ भावना र दुरदर्शिताबाट मात्र सम्भव भएको हो । पृथ्वीनारायण कलेजलाई आजको कलेज बनाउन जोन सरले खेल्नुभएको भूमिकाले मात्र सम्भव भएकोमा कसैको दुईमत छैन । उहाँले निरन्तर रूपमा आउने सवैखाले कठिन बाधा र अवरोधहरूलाई चिर्दै अगाडि बढ्नुभयो । बिचलित कहिल्यै हुनुभएन । त्यो नै जोन सरको महानता हो ।

आज पनि हाम्रो समाजमा दैनिक संचार माध्यमहरूमा शिक्षकले विद्यार्थी पिटेर विद्यार्थी घाइते शिक्षकलाई मुद्दा दायर जस्ता समाचारहरू सुन्नमा आइरहनछन् । जुन कुराबाट आज पनि हाम्रो नेपाली समाज अछुतो रहन सकेको छैन । यो हाम्रो विडम्वना हो । आजको बदलिँदो विश्व बजारले शिक्षामा नयाँनयाँ विधि र माध्यमहरूको विकास गरेको छ । शिक्षक र विद्यार्थीमैत्री वातावरण बनाउन राज्यले हरेक बर्ष शहरका महंगा तारे होटलहरूमा लाखौं रकम खर्चेर शिक्षण विधि र पद्धतिका विषयमा छलफल चलिरहेकै छन् । तर पनि आजसम्म शिक्षक र विद्यार्थीबिचको सुमधुर सम्बन्ध स्थापना हुन सकिरहेको छैन ।

Advertisement

बिहान विहानै शिक्षकले विद्यार्थी देख्नु पर्‍यो वा विद्यार्थीले शिक्षकलाई देख्नु पर्दा साइत नपर्ने जस्ता संर्कीणता अहिले पनि हाम्रो समाजमा विद्यमान नै छन् । जतिबेला जोन सरले न कुनै मन्टेसरी न त कुनै शिक्षक विद्यार्थी मैत्री तालिम नै, तर पनि जोन सर र विद्यार्थीबिचको जुन सुमधुर सम्बन्ध थियो । त्यो नै विद्यार्थीलाई गलत बाटोमा जानबाट रोक्ने उपयुक्त माध्यमको धनुषवाण नै थियो । त्यो धनुषवाण के थियो त जतिबेला कलेजमा अहिलेका जस्ता रुखहरु थिएनन् । बयरका रुख र पातीघारीहरू मात्रै थियो । जव विद्यार्थीलाई चुरोटको तल–तल लाग्थ्यो ।

त्यो बेला भकारीले बारेको चर्पीमा लुकेर विद्यार्थीले सिगरेट पिउँदै गर्दा सिगरेटको धुवाँ बाहिरसम्म आउँथ्यो । त्यो बेला धुवाँ देखेर जोन सर बाल्टीमा पानि लिएर आउनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘ए ! म आगो लागेछ भनेर निभाउन आएको त तपाईंहरू पो हुनुहुँदोरहेछ’ भनेर सरले भन्दा विद्यार्थी लाजले पानी पानी हुन्थे र चुरोट फ्याँकेर लुसुक्क भाग्थे । कतिले चुरोट पिउन छाडे भने कतिले कलेज भित्र खान छाडे । जुन तलिका थियो जोन सरको त्यसले विद्यार्थीमा गहिरो गरी प्रभाव छाड्न सफल भयो । यस्तै खालको विधि र व्यवहार शिक्षक विद्यार्थीमा हुन जरुरी छ त्यसलैे मात्र आजको समाजको असली परिचय दिन सम्भव छ ।

एकजना भारतको मान्छे नेपालमा आएर पोखराको जन–जनमा स्थापित भएको देख्दा सुरु–सुरुमा कतिपयले त शंकाको दृष्टिले मात्र हेरेनन् । कतिपयले धर्मको प्रचारको आरोप लगाए र केरलाबाट कम्युनिज्मको बिऊ रोप्न आएको समेत आरोप लगाए । तर ती सबैखाले आरोप निराधार र कपोकल्पीत रहेको कुरा उहाँले पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्चलको शिक्षामा निरन्तर शिक्षाको विकास र उन्नयनमा उहाँले खेलको भूमिका नै जवाफ बन्न पुग्यो । जसका लागि उहाँको अन्तरनिहित सरलता, निश्चलता र निश्वार्थ भावले माथि उठेर कर्म गर्दै अगाडि बढेपछि हिजो ती आरोप लगाउनेहरू नै श्रद्धा र स्नेह व्यक्त गर्न थाले ।

जोन सर जस्तै सर्वगुण सम्पन्न १ सय एक मान्छे नेपालमा हुने हो भने यो धर्ती आफै स्वर्ग बन्नेछ । त्यसै भनिएको होइन यो भनाई आज पनि हाम्रो समाजमा असल मानिस र ठूलो मानिस बीचको अन्तरभिन्नताको खाडल निकै गहिरो र फराकिलो छ । जसले गर्दा प्रत्येक दिन समाजमा अराजकता र बेथितिहरू कम हुनुको सट्टा अराजकता र उदण्डताले प्रश्रय पाइरहेको देखिन्छ । यसको न्यूनीकरणका लागि आजका शिक्षकहरू नै असल शिक्षक बन्नु न्यूनतम र अनिवार्य सर्त हो । त्यो भयो भने मात्र हाम्रो समाज असल र समुन्नत बन्नेछ । जसका लागि हामीलाई ठूला शिक्षक हैन असल शिक्षक बन्ने धेरै जोनसरहरू आजको आवश्यकता हो ।

जसले पिएन क्याम्पसलाई आफ्नो घर सम्झेर पराइको देशमा आएर आफ्नो सिप, विवेकको प्रयोग गरी लाखौं विद्यार्थीलाई बाटो देखाउनुभयो । आफू घरमुली बनेर शिक्षक, विद्यार्थी र कर्मचारीलाई एकै परिवारका सदस्य बनाएर सेवा भावले इमान्दारीपूर्वक कुशल नेतृत्व गर्नुभयो । त्यस्तो खालको नेतृत्व आज राष्ट्रले खोजिरहेको छ—उहाँका अनुयायीहरू समेत बताउँदै आएका छन् । भारतको केरलाबाट जागिरे जीवन बिताउन परदेश आएको मान्छेले शिक्षाको ज्योति ल्याएर पश्चिमाञ्चललाई नै उज्यालो पार्नुभयो । जागिरे जीवनभन्दा माथी उठेर निष्ठा र कर्मशील भावले समर्पित बन्नुले नै आजको पोखरा र शिक्षाको विकास सम्भव भएको हो ।

विसं २०१३ मा पोखरामा आएर २०१७ सालदेखि पोखरालाई कर्मथलो बनाउनु भएको भएपनि २०३३ साल २० बर्षपछि मात्र उहाँलाई राज्यले सम्मानित नागरिकता उपलब्ध गराएको थियो । स्कुले जीवनदेखि नै अरू विद्यार्थी भन्दा कम उमेरका रूपमा देखिने जोन सर कलेजमा पनि त्यस्तै देखिनुहुन्थ्यो । सबैसँग घनिष्ट सम्बन्ध राख्न सफल जोन सरलाई जीवन साथीका रूपमा कसैका आँखाले पढ्न भ्याएका थिएनन् । तर पनि उहाँले विवाद गर्ने बेलामा भने केटी नै नहेरी परिवारले गरेको निर्णयमा सहमत बन्नु भएको थियो । मद्रास, मनरम्पुर, सुनौली रक्सौल हुँदै अमलेखगन्जसम्मको उहाँहरूको हनिमुन यात्रा पनि कम अविस्मरणीय छैन । जीवनमा जतिसुकै दुःख, कष्ट, बाधा र व्यवधानहरू आइपरे पनि कहिल्यै सामान्य पनि मनमुटावपूर्ण जीवन विताउन नपरेको जोन सर र मेडमले बताउँदै आउनु भएको छ ।

उमेरका हिसाबले आठ नौ दशकभन्दा बढी काटिसकेको भएपनि उहाँहरूको जीवन २२–२५ वर्षे हनिमुनी जोडीको भन्दा कम रमाइलो छैन । ख्याल ठट्टा गर्न र अहिले पनि त्यत्तिकै रमाइलोमा नै समय व्यतित् गर्ने उहाँहरू नै बताउनुहुन्छ । हाल उहाँका १ छोरा १ छोरी २ सन्तानका अभिभावक छोरा–छोरी हुनुहुन्छ । उहाँहरू पोखरा–१० बुद्धचोक स्थित खाफ्नै निवासमा हुनुहुन्छ ।
जोन सर पृथ्वीनारायण क्याम्पसको मात्र नभएर समग्र पश्चिमाचल क्षेत्र र राष्ट्रकै शिक्षा क्षेत्रको नक्षत्रको रूपमा विभिन शिक्षालयहरूमा आफ्नो जीवन सर्मपण गरिसक्नु भएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस बागलुङ, दिपेन्द्र प्रहरी महाविद्यालय, गौरीशंकर क्याम्पस, जनप्रिय क्याम्पस, माउन्ट अन्नपूर्ण क्याम्पस, गण्डकी बोर्डिङ स्कूल, सेन्ट मेरिज, वालिङ बहुमुखी क्याम्पस, वन्दीपर क्याम्पस, त्रिविवि र पोखरा विश्वविद्यालय लगायतका दर्जनौंभन्दा धेरै शिक्षालयहरूको निर्माण, विकास र प्रर्वद्धनमा निरन्तर निष्ठापूर्वक योगदान पुर्‍याउँदै आउनुभयो । यस्तो धेरै शिक्षालयहरूमा प्रमुख, अध्यक्ष, सल्लाहकार, संयोजक लगायतका भूमिकाबाट समेत कुशल र नेतृत्वदायी भूमिका निभाउन सफल हुनुभयो । विशेषगरी उहाँले अध्ययन अध्ययापन गराएका विद्यार्थीहरू नेपालका मात्र नभएर विश्वमा नै विभिन्न निकायमा अहिले पनि पदासिन रहेका छन् ।

ती सबै विद्यार्थीहरूले जोन सरको सम्झनामा जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा आयोजित शिक्षा सेवीको सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई कसरी सम्झना गर्न सक्छन्, सम्झने प्रयास गरुन भन्ने हाम्रो अपेक्षा हो । विसं २०५३ सालमा पृथ्वीनारायण क्याम्पसबाट आफ्नो शिक्षण पेसालाई पूरा गरेर विदाई हुँदै गर्दा विद्यार्थी, शिक्षक, कर्मचारी सबैका आँखाबाट टलपल, टलफल आँसु बगिरहेका देखिन्थे । जुन पिडाबोधको अनुभुती सबैमा थियो । त्यही पीडाबोधलाई कम गर्न र जोन सरलाई पृथ्वीारायण क्याम्पससँग जोडीरहनको लागि प्राध्यापक संघको अगुवाइमा जोर्ज जोन शिक्षा प्रतिष्ठान नामक संस्था स्थापना भयो ।

संस्था स्थापना भए पश्चात् पश्चिमाञ्चलको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरू, गरिब तथा जेहेन्दार विद्यार्थी एवम् असहाय र अशक्तहरूलाई समेत सहयोग र सम्मान गर्दै आइरहेको छ । शिक्षासेवीको सम्मान, विपन्न एवम् जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु संस्थाको मुख्य उद्देश्य छ । मेरा मनमा बाल्यकालदेखि नै धेरै प्रश्नहरू उब्जिइरहन्थे । ती प्रश्नहरू मध्ये एक प्रश्न थियो, कस्तो होला ठूलो मान्छे ? अनि असल मान्छे ? लाग्ने गर्दथ्यो । ठूलो मान्छे बनेर मात्र असल मान्छे बन्न सकिन्छ होला । यस्तै–यस्तै प्रश्नहरूले जरा गाडीरहन्थ्यो मनभित्र ।

त्यहि मन डुलीरहन्थ्यो कसरी ठूलो मान्छे बन्ने, अनि असल मान्छे पनि । प्रश्नहरू खेल्ने गर्दथे आफैभित्र । तर त्यसको उचित जवाफ प्राप्त गर्न सकेको थिइन कहिल्यै पनि । जव म प्रवेशीका परिक्षा उत्र्तीण गरी पृथ्वीनारायण क्याम्पसमा अध्ययनका लागि पुगे । त्यतिबेला संयोगबस एक कार्यक्रममा सहभागी बन्ने अवसर प्राप्त भयो । जुन कार्यक्रमको ब्यानरमा लेखिएको थियो । शिक्षासेवीको सम्मान एवम् जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम । जसको आयोजकमा लेखिएको थियो । जोर्ज जोन शिक्षा प्रतिष्ठान, पोखरा ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ–आफ्नो भनाई राख्ने क्रम निरन्तर चलिरहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले असल मान्छे भनेको यस्तो हुनुपर्छ । मेरो मनमा बाल्यकादेखि उब्जिएका कैयौं प्रश्नहरू मध्येको एउटा प्रश्न एउटा असल मान्छे (असल गुरु) को बारेमा चर्चा र बहस सुन्दा लाग्थ्यो, समाज परिवर्तन गर्न ठूलो मान्छे हैन असल मानिस चाहिने रहेछ । जसका कारण मेरा मनमा उब्जिएका प्रश्नहरूको जवाफ, बदलिन पुग्यो । असल मान्छे बन्न ठूलो मान्छे हैन सानो मान्छे भएर पनि असल मानिस बन्न सकिने रहेछ । ठूलो मानिस हैन आज हामीलाई असल मानिसको अभाव छ ।

जो मानिस असल बनेर समाजमा अगुवाइ गर्नेछ, त्यो नै वास्तवमा ठूलो मानिस बन्दोरहेछ । तसर्थ आज हाम्रो नेपाली समाजमा ठूलो हैन असल नेतृत्वको खाँचो देखिएको छ । सोही दिनबाट नै जोन सरलाई नजिकबाट चिन्ने अवसर प्राप्त भयो, मेरो मनमा जहिले पनि ठूलो मन्छे, सम्पनशाली मान्छे बन्न त सकिएला तर असल मान्छे बन्ने प्रयन्त गर्नुपर्छ भन्ने उत्प्रेरणा जागृत बनेर आयो । जुन उत्प्रेरणाले मलाई आज जीवन जिउनका लागि मार्गदर्शन बनिरहेको छ ।

तसर्थ समाज र राष्ट्रलाई ठूलो मान्छेभन्दा पनि असल मानिसको खाँचो छ । त्यो आवश्यकता पूरा गर्न जोन सरका सबै विद्यार्थीले असल मानिस बन्ने प्रण गर्दा मात्रै पनि जोन सरप्रति सच्चा सम्मान हुन्छ । जोन सरले पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्लको शिक्षामा गर्नुभएको कर्मलाई चिरस्थायी बनाउन कोसेढुंगा बन्नेछ । समाज आफै सफल मार्गमा हिँड्नेछ । शतत् शुभकामना ।

(लेखकः जोर्ज जोन शिक्षा प्रतिष्ठानका सदस्य हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया