विसंगत बस्ती पढेपछि
डा. ऋषि बस्ताकोटीको विसङ्गत बस्ती पढ्ने मौका मिल्यो । उहाँको दोस्रो साहित्यिक कृति रहेछ यो । सवा सय मुक्तकहरूको सँगालोमा विसङ्गत बस्ती बसिसकेको रहेछ । त्यसभित्र लुकेका सङ्गत बस्तीहरू पनि अँगालिएको पाएँ । उदाहरणको रूपमा पहिलो र दोस्रोजस्ता धर्तीका गीतहरू शायद संगत बस्तीमा नै गन्न र भन्न सकिएला जस्तो लाग्छ । यी सबै मार्मिक, रोचक, घोचक र पोषक पनि छन् ।
सर्जकले देशको दुरवस्था ओकलेका छन् प्राय: मुक्तकहरूमा । विकृत राजनीति खोतलेका छन् । विभेदलाई सरापेका छन् । सामाजिक यथार्थ अलापेका छन् । मातृभूको शूल फुकेका छन् । मायाममताको फूल रोपेका छन् । सरुभक्त र विवश पोखरेलको सिद्धहस्त विवेचनाले यसको गरिमा बढाएको छ । सरुभक्तको ऋषि, मुक्तक र प्रतिबद्धता ले मुक्तक जगत्लाई सारमा भन्नुपर्दा यसरी चिनाएको पाए :
छोटो, मीठो, मन छुने र स्वतन्त्र मार्ग खनेर
कहिले फूलतुल्य कमलो त कहिले झटारो झैँ हानेर,
मर्मभेदीविरुद्ध सञ्जीवनी बन्दो रहेछ मुक्तक ।
उता विवश पोखरेलजीको बुझाइमा हामी साँच्चै नै विसङ्गत वर्तमानको चक्रव्यूहमा छौँ । शायद बस्ताकोटीजी मुक्तकको यही परिभाषा र हाम्रो वर्तमानप्रति चिन्तित हुनुहुन्छ । यसै भावनाले विसङ्गत बस्ती बसाल्न सक्रिय हुनुहुन्छ ऋषिजी डाक्टर र साहित्यिक इन्जिनियर बनेर । उहाँ एउटा सशक्त कवि तथा गजलकार मात्र नभई मुक्तककार पनि भएर फुर्नु भएको छ । व्यङ्ग्यवाणबाट सुधार आउने आशामा भविष्य कुर्नु भएको छ ।
माटोको पुजारी हो , ऊ धर्तीकै पुत्र हो … भन्ने मुक्तकलाई त दुवै विश्लेषक साहित्यकारहरूले बढी मन पराएर उद्धृत गरेको पाइयो । मुक्तकका पारखी र सर्जकहरूबाट भएको विश्लेषणबाट आफू पनि लाभान्वित हुने कोसिस हामी पाठकले गर्न सकिँदो रहेछ । त्यही भावनालाई बुझ्दै मुक्तकलाई एउटा सामान्य पाठकले सर्सर्ती पढ्दा यहाँभन्दा बढी के भेट्टाउन सकिन्थ्यो र ! देश, काल, परिस्थिति, मानव समाज र जनजीवनका सुखदुःख तथा द्वन्द्वहरूमा सन्देशमूलक भविष्यप्रति चिन्तित छन् यस कृतिका मुक्तकहरू ।
त्यसैले त विसङ्गति–७ र नाङ्गो बादशाहका कथाजस्ता सम्झना दोहोरिइरहन्छन् सर्जकका शब्द तथा भाव दुबैमा । मुक्तककार आफ्नो भूमिकामा भन्नुहुन्छ: विकृति र विसङ्गतिमाथि व्यङ्ग्य कस्ने सशक्त माध्यम बन्यो मेरा लागि मुक्तक । उहाँका झैँ जीवनको भोगाइ नै रचनामा व्यक्त हुनु सच्चा साहित्य हो भन्ने लाग्छ मलाई पनि । म पनि उहाँको भावनालाई आत्मसात् गर्दै मन परेकामध्ये एउटा मुक्तक तल सार्वजनिक गर्न चाहन्छु ।
१२१. सम्बन्ध
सानासाना कुरामा बाँडियौँ भने हामी
अर्कैले भाँड्न खोज्दा भाँडियौँ भने हामी
जून र घाम झैँ हुनेछ हाम्रो सम्बन्ध
आत्मीयता नबुझी टाढियौँ भने हामी ।
मुक्तक जगत्को प्रारम्भमा नै यस्ता सरस, सरल र मर्मस्पर्शी मुक्तकहरू रचना गर्ने सर्जकको प्रतिभाको प्रशंसा गर्नेपछ । यस प्रकाशनको मूल्य रु. २५०। अङ्कित रहेछ । सायद सामान्य पाठकको क्रयशक्ति भित्रै पर्ने ठानिएको हुनुपर्छ । बिएन पुस्तक संसार प्र.लि.ले प्रकाशन गरेकोमा लेखक र प्रकाशक दुवै धन्यवादका पात्र ठान्दछु । अक्षर र फन्ट सबै उमेर र समूहका पाठकवर्गले पढ्न सकिने झैँ राम्रो लाग्यो । यद्यपि एक पृष्ठमा एउटा मात्र मुक्तक रहने हुँदा अझै ठूलो प्वाइन्टमा भए खाली ठाउँ पनि भरिने र जेष्ठ नागरिकसमेतका लागि अझ पठनीय हुने थियो जस्तो लाग्छ । जे होस्, मुक्तक जगत्मा डा. साहेबको प्रयास स्तुत्य छ ।
बासु क्षितिजको आवरण कला र राजकुमार कान्छाको लेआउटसँगै उत्प्रेरक र सहयोगी सबैको भूमिका स्वागतयोग्य देखिन्छ । समष्टिमा प्रस्तुत मुक्तक सङ्ग्रह उपयोगी तथा पठनीय त छँदैछ, आकर्षक र प्रशंसायोग्य पनि छ । चिटिक्क पुस्तकाकारमा करीब १५० पृष्ठको यस कृतिले बजार पनि सहजै पाउने अपेक्षा गर्न सकिन्छ । सर्जकबाट भविष्यमा पनि मुक्तकहरू निरन्तर सिर्जना गरी नेपाली साहित्यमा थप योगदान हुने मेरो विश्वास छ । आफ्ना अभिव्यक्तिका यी केही शब्दसहित एउटा पाठकीय दृष्टिकोणलाई यहीँ बिट मार्दछु ।
तपाईको प्रतिक्रिया