कर वृद्धिमा आएकाे आलाेचना सच्चाएका छाैं: मुख्यमन्त्री पोखरेल
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा यातायात, मालपात लगायतका कर वृद्धि सम्बन्धमा भएको आलाेचना सच्चाएर सरकार अघि बढेको बताए । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले करमा आएका टीकाटिप्पणीलाई मन्त्रालयगत छलफल गरेर अघि बढ्ने प्रतिबद्धतासमेत गरे ।
संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा विपरीत रहने गरेको बताए । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए ।
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले सम्मानपत्र सहित सम्मान गरे ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारको पक्षमा युनियनले काम गर्ने बताए । सरकारले तोकेको न्युनतम तलबले पत्रकारलाई नपुग्ने भन्दै उनले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे । ठूला संचारमाध्यममा काम गर्ने पत्रकार र साना संचारमाध्यममा काम गर्ने पत्रकारलाई सरकारले एउटै नीतिले हेर्नुपर्ने बताए । उनले संगठनले कसैलाई काखा कसैलाई पाख नगर्ने समेत सुझाव दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले लोकतन्त्रको पक्षमा लडेका संचारमाध्यम र पत्रकारलाई रक्षा गर्ने दायित्व सरकारको हुने बताए । युनियनका उपाध्यक्ष नकुल अर्याल, ऋषिकान्त पौडेल र महासचिव दिलिप पौडेलले पत्रकारलाई व्यवसायी बन्न आग्रह समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले पार्टी र युनियनका पत्रकारबीचको दूरी टाढा रहेको र यसलाई नजिक पार्नुपर्ने बताए । प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रदीप पौडेल र सहसचिव ज्योति हमालले पनि बोलेका थिए ।
युनियनका सदस्य हरि भट्टराईले रचना गरेको नेपाल विज्ञान तथा प्रविधि ‘नाष्ट’को नाष्ट गानका लागि सर्वोत्कृष्ट भई पुरस्कृत भएकोमा उनलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया