नवौंं खेलकुद सर्दैनः घिसिङ

रिखिराम जिसी २०७९ साउन २४ गते १०:५९

पोखरा ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौंं राष्ट्रिय खेलकुद नसर्ने बताएका छन् । पोखरा रंगशालामा सोमबार पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले नवौं खेलकुदको मिति बारम्बार परिवर्तन भए पनि यसपालि भने तोकिएकै मितिमै हुने प्रष्ट पारे ।

सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै नवौं खेलकुद निर्धारित मितिमा नहुने शंका बढेको थियो । जसको खण्डन गर्दै घिसिङले यो या त्यो बाहनामा खेलकुद नसर्ने स्पष्ट पारे । ‘प्रतियोगिता २०७५ सालमा हुने भनिएको थियो, १० औं खेलकुद हुने बेलासम्म पनि नवौं खेलकुद भएको छैन । कोरोनाका कारण भनिएको छ । आरोप कसैलाई लगाउँदिनँ,’ उनले भने, ‘अब यो या त्यो बहानामा पछाडि सार्नु हुँदैन ।’

१० औं खेलकुद हुने बेलासम्म पनि नवौं भएको छैन । अब यो या त्यो बहानामा पछाडि सार्नु हुँदैन ।
टंकलाल घिसिङ
सदस्य सचिव, राखेप

Advertisement

निर्वाचनले प्रतियोगितालाई प्रभाव नपार्ने गरी कार्यसूची निकाल्न निर्वाचन आयोगलाई राखेपबाट परिपत्र गरिएको घिसिङले बताए । ‘सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेको छ, नोमिनेसन दर्ता कार्यक्रम १ महिनाअघि जसो हुन्छ । निर्वाचनले नोमिनेसनका कार्यक्रम नवौं खेलकुदसँग नजुध्ने गरी मिति तोक्न परिपत्र गरेका छौं,’ उनले भने ।

प्रतियोगितामा ३६ खेलमा ४ सय ७ इभेन्ट समावेश गरिएको छ । पुरुषतर्फ २ सय २० र महिलातर्फ १ सय ८७ इभेन्ट समावेश छन् । प्रत्येक इभेन्टमा ४ भन्दा कम प्रतिस्पर्धी भएमा सो इभेन्ट सञ्चालन नगरिने सदस्य सचिव घिसिङले बताए । हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार प्राप्त गर्ने छन् । खेलकुदमा राष्ट्रिय रेकर्ड भंग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गरिनेछ ।

Advertisement

प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने सदस्य सचिव घिसिङले बताए । उक्त ट्रफी ३ विभागीय टिम र सबै प्रदेश भ्रमण गराई अन्तिम प्रतियोगिताका लागि गण्डकी प्रदेश ल्याउने उनको भनाइ छ । प्रदेश तथा विभागीय टिमले आगामी भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने हुन्छ । निर्धारित समयमा दर्ता नभएकालाई पुनः परिपत्र गरी कारण बुझ्ने घिसिङले सुनाए ।

प्रतियोगितामा २ खेलको प्रर्दशनीसमेत हुनेछ । ७ प्रदेशसहित ३ विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रत्येक टिमबाट ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ ।
नवौं खेलकुद प्रतियोगिता २०७७ मै आयोजना गर्नुपर्ने भए पनि कोभिड र अन्य कारणले पटक पटक स्थगित भएको थियो । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना गर्ने प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी दिइएको थियो । गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा रंगशालामा भएको थियो । प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुने छन् । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा १ खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषदलाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ, कुन खेल आयोजना गर्ने निर्णय गर्नेछ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया