सक्नेरीको महायज्ञमा ७१ लाख संकलन

समाधान संवाददाता २०७९ साउन २४ गते ११:०३

लेखनाथ l
पोखरा महानगरपालिका वडा नं २६ को बूढीबजार, सक्नेरीमा सञ्चालित शिवपुराण ज्ञान महायज्ञ लक्ष्य अनुसारको सफलता हात पर्दै सकिएको छ । साउन १४ देखि सुरु भएको महायज्ञ २२ गतेसम्म तय थियो । पछि भत्तजनको आग्रहमा १ दिन थप गरिएको हो ।

महायज्ञ समापनको दिन सोमबार र एकादशीसमेत परेकाले भक्तजनको बाक्लो उपस्थिति रह्यो । ११ दिनसम्म चलेको महायज्ञको समापनसम्म आईपुग्दा ७१ लाख २९ हजार ४ सय ३६ रुपियाँ संकलन भएको छ । सुरुमा आयोजकले आन्तरिक रुपमा करिब ६० लाख संकलन हुने अनुमान गरे पनि समापनसम्म आईपुग्दा लक्ष्यभन्दा बढीको सफलता हात पार्दै महायज्ञ सकिएको आयोजक संस्थाका संयोजक जगन्नाथ तिमिल्सेनाले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धर्मले मानिसलाई अनुशासित बनाउने बताए । जीवनलाई नैतिकवान्, संघर्षशील र सामाजिक क्षेत्रमा लगाउनुपर्ने उनको सुझाव छ । यस प्रकारका धार्मिक कार्यले समाजमा सकरात्मक सन्देश दिने र मानवीय सभ्यता एवं संस्कृतिको रक्षा गर्ने उनको ठम्याइ छ ।

Advertisement

कार्यक्रममा नेकपा एमाले पोखरा २६ का अध्यक्ष रामचन्द्र तिमिल्सेना, नेपाली कांग्रेस पोखरा २६ का सभापति शिवबहादुर रानाभाट, बह्मकुमारी टीका, संस्थाका सह संयोजक सरस्वती गौतम, महासचिव तारा शर्मा ढकाल लगायतले सबैको साथ र सहयोगले महायज्ञले लक्ष्यभन्दा बढी सफलता हात पारेको बताए । कार्यक्रम आयोजक समिति संयोजक जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा भएको थियो ।

महायज्ञको समापनको दिन सोमबारमात्र ५ लाख ७९ हजार संकलन भएको आर्थिक संयोजक राममणि बरालले जानकारी दिए । महायज्ञमा बोल काबोल नभई सबै रकम नगदै नै उठेको आयोजकले जनाएको छ । सोमबार पोखरा २६ निवासी गिरिराज गौतमको परिवारबाट ५१ हजार १ सय ५१, दीर्घनाथ बरालको परिवारबाट ५० हजार ५ सय ५५ र रत्नप्रसाद चापागाईको परिवारको तर्फबाट ५१ हजार १ सय ११ रुपैयाँ दान प्राप्त भएको छ ।

Advertisement

महायज्ञमा दिग्दर्शन वाचन शिरोमणि दीपक सापकोटा र युवा पण्डित रामप्रसाद सिग्देलले प्रवचन दिएका थिए ।

तपाईको प्रतिक्रिया