चितवन मेडिकल कलेजले बनायो क्यान्सर अस्पताल

राष्ट्रिय समाचार समिति (रासस) २०७९ साउन २४ गते ११:४६

चितवन ।
चितवन मेडिकल कलेजले २ अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो ।

अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँअघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिए ।

उनले भने, ‘नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन ।’ भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उनको भनाइ छ । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै १ अर्ब २७ करोड खर्च गरेको छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी २ अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।

Advertisement

क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ ।

भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अङ्कोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह यहाँ ल्याइँदै छ । उनले भने, ‘हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौं ।’ गुणस्तरमा कमी हुन नदिने गरी सय शड्ढयाको आधुनिक अस्पताल निर्माण गरिएको हो ।

Advertisement

निर्देशक डा लम्सालले थपे, ‘क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नुपर्ने र विदेश जानुपर्ने बाध्यता अन्त्य होस् भनेर अस्पताल सुरु गरेका हौं । धेरै बिरामी भारतको दिल्ली जान्छन्, त्यहाँको ठूलो अस्पताल राजीवगान्धीको भन्दा एक स्तर उच्च उपकरण हामीले यही ल्याएका छौँ ।’

क्यान्सरका बिरामी उपचारका लागि भारत लगायतका अन्य देश जाने गर्दछन् । अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ । उनको भनाइमा यो उपकरणले दैनिक १ सय जनासम्मलाई रेडिएसन गर्न सक्छ । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । ट्रियुबिममोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो ।

चितवन मेडिकल कलेजसँगै ६ तले ४८ हजार स्क्वायर फिटको भवनमा बंकरसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्युटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहेका रेडिएसन अङ्कोलोजिस्ट डा सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६डि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने जानकारी दिए । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको हो ।

ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । एसबिआरटी प्रविधिमार्फत उपचार भइरहेको बिरामीको ट्युमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उनी बताउँछन् ।

इन्स्टिच्युटले क्यान्सर उपचारका क्रममा विकिरण बाहिर आएर नागरिक र कर्मचारीलाई असर नगरोस् भन्नका लागि निर्माणको समयदेखि नै भारतीय विज्ञको निगरानीमा काम भइरहेको छ । सुरक्षा अधिकृत सलोनी चावलाले बाहिरी वातावरणमा रेडिएसन नजानका लागि निर्माणको समयदेखि नै निगरानी गरिएको बताइन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बङ्कर निर्माण गरिएको छ । यससँगै सफल परीक्षणसमेत गरिएको जनाउँदै उहाँले विकिरण काममा खटिनेमा के कस्तो रहेको छ भन्ने विषयमा नियमित परीक्षण भइरहेको उनले जानकारी दिइन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया