सम्पादकीय: अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षा

समाधान संवाददाता २०७९ साउन २४ गते १२:०१

लामो समय एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थलले धानेको नेपालको हवाई क्षेत्रमा पछिल्लो १ वर्षमै उलटफेर भएको छ । गत वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । यो वर्ष पोखराको नयाँ विमानस्थल खुल्दै छ । पर्यटनको राजधानी प्रस्तावित पोखरालाई विदेशका विभिन्न सहरसँग सिधै जोड्ने विमानस्थलले यहाँको अर्थतन्त्र जनजीवनमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । २०३१ सालमा ३१०६ रोपनी जग्गा अधिग्रहणबाट सुरु भएको अन्तर्राष्ट्रिय विमानस्थलको सपना अहिले आएर साकार हुने मोडमा आइपुगेको छ ।

सरकारले आउने अंग्रेजी नयाँ वर्षबाट यो विमानस्थल सञ्चालनमा ल्याउने भएको छ । अंग्रजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालनमा आएपछि नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ हुनेछ । पोखरा विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सकिएको छ । यो विमानस्थलबाट १ सय ८० सिट क्षमताका न्यारोबडी विमान चलाउने तयारी छ । सरकारले यो आयोजना निर्माणका लागि अहिलेसम्म ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको छ । विमानस्थल सञ्चालन मिति तय भए पनि नजिकै रहेको ल्याडफिल साइट अझै सारिएको छैन ।

पोखरा महानगरले नयाँ ल्याडफिल साइट निर्माणका लागि बजेट व्यवस्थापन गरे पनि जग्गाको विवादले कामअघि बढेको छैन । ल्यान्डफिल साइटकै कारण विमानस्थलको सञ्चालनमा वाधा पुग्न सक्ने चिन्ता अझै छ । पोखराबाट हङकङ, दिल्ली, दोहा, थाइल्यान्डमा जस्ता सहरमा सिधा उडान गर्ने लक्ष्य छ । आइकाओको मापदण्ड अनुसार फोर डी मोडलमा विमानस्थल बनेको छ । यो विमानस्थल चलेपछि अहिलेको पोखरा विमानस्थलको उपयोगबारे चर्चा सुरु भएको छ ।

Advertisement

विमानस्थल खाली हुने भएपछि प्राधिकरण, गण्डकी प्रदेश सरकार, नेपाली सेना, पोखरा महानगरपालिका र निजी क्षेत्रले सो ठाउँको उपयोगबारे फरक फरक योजना सार्वजनिक गर्ने गरेका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण मातहत रहेको यो जग्गा हवाई क्षेत्रकै लागि प्रयोग हुनु सबैभन्दा उत्तम हुन्छ । त्यसो हुन नसके अरु विकल्पमा जान सकिन्छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको केन्द्र भागमा यति ठूलो जग्गा पाउन निकै मुस्किल छ । यो जग्गालाई फाइदाका लागि निजी क्षेत्र वा कसैलाई भाडामा दिइनु हुँदैन ।

महानगरको करिब बीचमा रहेको यो जग्गामा धेरैको आँखा जानु स्वभाविकै हो । २०१४ देखि सञ्चालनमा आएको यस विमानस्थलको जग्गा ११ सय ५६ रोपनी छ । अहिले विमानस्थल सर्वसाधारणको अधिक हित हुने गरी प्रयोग गर्दै नयाँ विमानस्थलबाट चाडै अन्तर्राष्ट्रिय हवाई उठान हुनुपर्ने नेपालीको अपेक्षा छ । अर्बाै ऋण लिएर बनाइएको विमानस्थल उचित तवरले सञ्चालन र यसको चुस्त व्यवस्थापनमा प्राधिकरणले ध्यान दिनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया