रेडक्रस मार्फत पोखरा महानगरलाई सूचना प्रविधि सामग्री हस्तान्तरण

समाधान संवाददाता २०७९ साउन २४ गते १५:५६

पोखरा ।
नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामग्रीहरू हस्तान्तरण गरेको छ । विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कास्की मार्फत पोखरा महानगरपालिकालाई ती सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताए । कुनै पनि प्रकारका विपदहरुमा तत्काल रेस्पोन्स सहित राहत तथा उद्धारको काम गर्ने गरी विपद् सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घण्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताए । रेडक्रसको समन्वयमा प्राप्त विपद् जोखिम सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामग्रीहरूको पूर्ण सदुपयोग गर्ने विश्वास समेत दिलाए ।

सूचना केन्द्र तथा सामग्रीहरू हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यवाहक अध्यक्ष दण्डराज शर्माले विपदमा परेका नागरिकहरूलाई तत्काल उद्धारका लागि व्यवस्थित सूचना प्रणाली सहयोगी बन्ने विश्वास व्यक्त गरे । शर्माले पोखरा र आसपासका क्षेत्रमा बेलाबखतमा देखिने विपद्का घट्नाहरुलाई तत्काल व्यवस्थापन गर्न आफूहरू महानगरसँग मिलेर काम गर्न तयार रहेको बताए । सो अवसरमा मनिन्द्र स्थापितले सूचना केन्द्रका बारेमा जानकारी दिए ।

Advertisement

समुदाय स्तरदेखि नै जनचेतना अभिवृद्धि गर्दै विपद् न्यूनीकरण र पूर्व तयारीलाई भरपर्दो बनाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्युनिकरणलाई विकास योजनामा प्रवाहीकरण गरी जनसहभागितामा आधारित उत्थानशील समुदाय निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्रले समुदायमा आइपर्ने विभिन्न प्रकारका विपद् तथा जलवायु परिवर्तनका असर र तिनका कारक तत्त्वहरूको पहिचान र त्यसबाट सुरक्षित रहन आवश्यक सूचना व्यवस्थापनमा सहयोग गर्नेछ ।

रेडक्रसले सूचना केन्द्र सञ्चालन सम्बन्धी ६ प्रकार र फर्निचर सम्बन्धी ६ प्रकारका सामग्रीहरू प्रदान गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका कार्यक्रम संयोजक देवनारायण पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया