विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

समाधान संवाददाता २०७९ साउन २५ गते १०:४१

काठमाडौं ।
अधिकांश सरकारी संस्थान आर्थिक रुपले धराशायी भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष १६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा ६ अर्ब रुपैयाँमात्र थियो ।

कुनै बेला प्राधिकारणलाई २८ अर्ब सञ्चिति घाटा नेपाल सरकारले भड्ताल हालिदिएको थियो । उक्त घाटा भड्ताल गरेर पनि प्राधिकरण हरेक वर्ष औसतमा ८ अर्ब रुपैयाँका दरले घाटा खाँदै आएको थियो । प्राधिकरणमा पहिलोपटक कार्यकारी निर्देश भएर कुलमान घिसिङ आएपछि क्रमिक रुपले लोडसेडिङ र घाटा अन्त्य भई संस्था नाफामा जान थालेको हो ।

केपी ओली सरकारले २०७७ सालमा घिसिङको पुननियुक्ति नगरेका कारण प्राधिकरणको नाफा अघिल्लो वर्ष ६ अर्ब रुपैयाँमा सीमित भएको थियो भने विद्युत् चुहावट १५.२ प्रतिशतबाट उकालो लागेर १७.१८ प्रतिशतमा पुगेको थियो । प्राधिकरण स्रोतका अनुसार माथिल्लो तामाकोसी (४५६ मेगावाट) को सस्तो बिजुली प्रणालीमा जोडिनु, वर्षायामको बिजुली भारतमा निर्यात हुनु, चुहावट घट्नु, बिजुली आयात कम हुनु, स्वदेशमा पनि विद्युत् खपत बढ्नु लगायतका कारण समग्र व्यवस्थापन चुस्त भएकाले नाफा बढेको हो ।

Advertisement

यसपालि प्राधिकरणले वर्षभरिमा बिजुली बेचेर ८८ अर्ब कमाएको छ

‘यसपालि माथिल्लो तामाकोसी आएपछि सिस्टम स्टेबल (प्रणाली स्थिरता) भयो, बिजुली आयात स्वात्तै घट्यो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तामाकोसीको बिजुली प्रतियुनिट ४ रुपैयाँ ६ पैसा भएकाले पनि नाफालाई बल पुग्यो ।’ गत वर्ष माथिल्लो तामाकोसीसहित मुलुकको विद्युत् प्रणालीमा ७ सय ३५ मेगावाट विद्युत् थप भएको थियो । यसमा खुद निजी क्षेत्रको २ सय ६१ मेगावाट, देवीघाटको सौर्य १८ मेगावाट छन् ।

Advertisement

गत आर्थिक वर्षको असार मसान्तसम्म प्राधिकरणले ३ अर्ब ८० करोड रुपैयाँको बिजुली निर्यात ग¥यो । अघिल्लो आर्थिक वर्ष २८ सय गिगावाट घण्टा (२ अर्ब ८० करोड युनिट) बिजुली आयात भएको थियो । गत वर्ष जम्मा ४९० गिगावाट घण्टा (४९ करोड युनिट) मात्र हिउँद याममा आयात भएको थियो ।

‘तामाकोसी आउनुअघि भारतबाट कुल विद्युतमा ३५ प्रतिशतसम्म आयात भएको हुन्थ्यो,’ ती अधिकारीले भने, ‘अहिले समग्र आयात १४ प्रतिशत हो भने अझ खुद आयात (निर्यात घटाउँदा) त ९ प्रतिशतमात्र हो ।’ नाफा वृद्धिको अर्काे कारण विद्युत् चुहावट पनि घट्नु हो । प्राधिकरणको सधैको टाउको दुखाइको विषय रहँदै आएको विद्युत् चुहावट यसपाला १५.३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो चुहावट १७.१८ प्रतिशत थियो । प्रणालीमा उपलब्ध ११ हजार गिगावाट घण्टा (११ अर्ब युनिट) बिजुलीमा एक प्रतिशतमात्र चुहावट घटबढ हुँदा ११ करोड युनिट बिजुली तलमाथि पर्छ ।

प्राधिकरणको प्रतियुनिट औसत बिक्री मूल्य ९.३५ रुपैयाँका दरले हेर्ने हो भने एक प्रतिशत चुहावट झर्दा एक अर्ब २ करोड रुपैयाँ जोगिन्छ । यसपालि प्राधिकरणले वर्षभरिमा बिजुली बेचेर ८८ अर्ब रुपैयाँ कमाएको छ । अन्य आयसमेत जोड्दा प्राधिकरणको कुल आय करिब ९६ अर्ब रुपैयाँ छ । कारोबारका हिसाबले प्राधिकरण पनि आयल निगमले गर्ने कारोबार वर्षको १ खर्ब रुपैयाँ हाराहारीमा आइसकेको छ ।

गत वर्ष प्राधिकरणमा ५.२ प्रतिशतले ग्राहक संख्या बढ्न गई ४७ लाख ५० हजार पुगेको छ । अघिल्लो वर्ष प्राधिकरणको कुल ग्राहक संख्या ४५ लाख थियो । प्राधिकरणको प्रणालीमा बिजुली खपत परारको भन्दा पोहोर बढेको देखिन्छ । गत वर्ष उच्चतम विद्युत् खपत (पिक) १७४५ मेगावाट पुग्यो ।

अघिल्लो वर्ष १४८० मेगावाटमात्र थियो । यता, देशभरको विद्युतीकरण हेर्ने हो भने हालसम्म ग्रिड जडित ९२.५ प्रतिशत पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समेत जोड्दा कुल विद्युतीकरण ९४ प्रतिशत पुगेको छ । प्राधिकरणले हरेक वर्षको भदौ १ गते आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्छ ।

तपाईको प्रतिक्रिया