मुक्ति समाजको गण्डकीको सम्मेलन

समाधान संवाददाता २०७९ साउन २५ गते ११:२५

पोखरा ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीले प्रथम गण्डकी सम्मेलन गर्न लागेको छ । ‘जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं’ भन्ने मुल नाराका साग आगामी भदौ ४ गते पोखरा उद्योग वाणिज्य संघमा सम्मेलन गर्न लागेको समाजका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक धनबहादुर नेपालीले जानकारी दिए ।

सम्मेलन गर्न नेपालीको संयोजकत्व र प्रेम विश्वकर्मा सहसंयोजक रहेको ५ सय ५ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ । सम्मेलनमा प्रदेश कमिटी, जिल्ला समिति, प्रतिनिधि तथा गण्डकी प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट हुने व्यवस्था छ । उनले भदौ १ गतेसम्म प्रतिनिधि छनोट गरी २ गते प्रदेश कमिटीमा बुझाउनु पर्ने व्यवस्था गरेको संयोजक नेपालीले बताए ।

मुक्ति समाजले केन्द्रीय कमिटीको काठमाडाैंमा भएको छैटौं राष्ट्रिय सम्मेलन पछि देश व्यापी रुपमा संगठन विस्तार तथा सुदृढिकरण गर्ने योजना बनाएको छ । ‘जातीय विभेदको विरुद्ध राष्ट्रिय आन्दोलन अगाडि बढाउनुपर्ने छ,’ केन्द्रीय सचिव नेपालीले भने, ‘विकास र समृद्धिका लागि राष्ट्रिय मुद्दालाई विभेद रहित समतामूलक समाज स्थापनाको अर्थपूर्ण राष्ट्रिय सवाल बनाउनु परेको छ ।’ उनले आधारभूत तहका जनताले घर आँगनमा सबै खालको विभेदको सामना गर्नु परेको उल्लेख गरे ।

Advertisement

समतामुलक तथा समावेसी प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै उनले सामूहिक र संस्थागत प्रयासबाट समतामुलक राष्ट्र निर्माण गर्न सकिने विश्वास व्यक्त गरे । सम्मेलन गर्न प्रदेशका जिल्ला समिति तथा निर्वाचित जनप्रतिनिधिलाई आर्थिक दायित्व तोकिएको छ । उद्घाटन सत्रलाई भव्य बनाउन कास्कीका सबै पालिका, पोखरा महानगरका सबै वडा तथा कास्कीका छिमेकी जिल्ला पर्वत स्याङजा, लमजुङबाट जनसहभागिता र जन परिचालनको लागि विशेष योजना बनाउने निर्णय गरेको सचिव नेपालीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया