पाेखरामा भाइरल ज्वराे आएका बालबालिकाले भरिए अस्पताल

अस्पताल पुगेका ५० प्रतिशतमा एडिनो भाइरसका लक्षण, पोखराका केही स्कुल बन्द

सञ्जय रानाभाट २०७९ साउन २६ गते १०:२६

सञ्जय रानाभाट

पोखरा ।
पोखरामा एडिनो भाइरसका बिरामी बढेका छन् । भाइरसले बालबालिकामा उच्च ज्वरो, टाउको दुख्ने, रुघाखोकी लाग्ने, वान्ता र झाडापखला जस्ता लक्षण देखिएपछि पोखराका अधिकांश विद्यालय बन्द भएका हुन् । उच्च ज्वरोले अस्पतालमा पुगेका ५० प्रतिशत बालबालिकामा एडिना भाइरसका लक्षण भेटिएको छ ।

विरामीका कारण बेडहरु भरिभराउ भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले जानकारी दिए । क्षेत्रीय अस्पालको बच्चा वार्डमा भर्ना भएका अधिकांश बालबालिकामा एडिना भाइरसका लक्षण देखिएको छ । भाइरसले विद्यार्थी संक्रमिण भएपछि पोखराका स्कुल बन्द हुने क्रम बढेको छ । विद्यार्थीमा उच्च ज्वरो आएपछि पोखरा १४ मा रहेको सहिद स्मृति विद्यालयले आइतबारबाटै पठनपाठन बन्द गरेको छ ।

Advertisement

विद्यार्थीमा उच्च ज्वरो आउने, रुघाखोकी, वान्ता र झाडापखला लाग्ने दर बढ्दै गएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कल्पना चिलुवालले बताइन् । होस्टलमा रहेका विद्यार्थी ज्वरोले निस्लोट हुन थालेपछि १ हप्ता पठनपाठन बन्द गरिएको हो ।
‘एकपछि अर्को विद्यार्थी विरामी परे । होस्टलमा रहेका त अधिकांश विद्यार्थी विरामी भए । पठनपाठन गर्न सक्ने वातावरण नै भएन । हामीले स्वास्थ्य निर्देशनालय र वडाका जनप्रतिनिधिलाई सोध्यौं । उहाँहरुले पनि १ हप्ता बिदा दिएर उपचार गराउन भनेपछि अहिले हाम्रो विद्यालय बन्द छ,’ चिलुवालले भनिन् ।

विद्यार्थी स्कुल आउनै छाडेपछि पोखरा १९ मा रहेको गण्डकी बोडिङ स्कुलले पनि बुधबारबाट पठनपाठन रोक्ने सूचना जारी गरेको छ । स्कुलका सूचना अधिकारी यज्ञराज शर्माका अनुसार ३ सय विद्यार्थी आउन छाडेपछि स्कुल बन्द गरिएको हो । ‘स्कुल नआएका अधिकांश विद्यार्थीका अभिभावकलाई फोन गर्दा बच्चा बिरामी भएको पुष्टि भयो,’ उनले भने । विद्यालय आइपुगेका र होस्टेल बस्ने विद्यार्थीमा पनि उच्च ज्वरो देखियो । सूचना अधिकारी शर्माले भने, ‘पछिल्ला दिनमा विद्यार्थीलाई पढाउन सक्ने वातावरण नै भएन र विद्यालयमा हुनुभएका डाक्टरसँग सल्लाह लिँदा बिदा दिनुपर्ने सुझाव दिनुभयो ।

Advertisement

बिहीबार बिदा दिइएको छ । शुक्रबार त सार्वजनिक बिदा नै छ । त्यसपछि विद्यार्थीको अवस्था अनुसार पठनपाठन गर्छौं,’ शर्माले भने । केही विद्यार्थीमा कोभिडको लक्षणसमेत देखिएको उनले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ बास्तोलाले यसरी अस्पताल आइपुगेका ५० प्रतिशत बालबालिकामा एडिनो भाइरस देखिएको पुष्टि गरे । अस्पतालको ओपिडी र इमर्जेन्सीमा दैनिक आउने १ सय ५० जनामध्ये ७५ जनामा भाइरल ज्वरो अर्थात एडिनो भाइरस भएको उनले बताए । ‘हामीसँग चेकजाँच गर्ने कुनै मेसिन, ल्याब छैन । तर, सम्पूर्ण लक्षण हेर्दा यो एडिनो भाइरस भएको पुष्टि हुन्छ ।

अस्पताल आइपुगेका अधिकांशमा यो एडिनो हो भनेरै उपचार गराइरहेका छौं ।’ अस्पतालमा मंगलबार विरामी नातिको कुरुवा बसेकी पोखरा लामास्वाँराकी सीता पोखरेल चिन्तित देखिन्थिन् । उनका नाति विरामी भएको १० दिन बितिसक्दा पनि निको भएको छैन । अस्पताल बसाईंको ५ दिन बितिसक्दा समेत नातिलाई ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, वान्ता हुने, छाती दुख्ने पूर्ण सञ्चो भएको छैन ।

पोखरेल भन्छिन्, ‘स्कुलबाट घर फर्केपछि ज्वरो आउन थाल्यो । ५ दिनसम्म त घरमै औषधीपानी गरियो । सञ्चो नभएदेखि अस्पताल ल्याएको अझै निको भएन ।’ चिकित्सकले घरमै लगेर उपचार गर्न सुझाव दिए पनि उनको मन मानेको छैन ।
सीता जस्तै छोरा निको हुने दिन कुरेर बसेका छन् पोखरा १४ चाउथेका रमेश खत्री । सकुशल स्कुल पठाएको छोरालाई सास फेर्न गाह्रो भएपछि उनले आइतबारदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना गरेका हुन् । दुई दिन बित्दा पनि छोरालाई सास फेर्न अझै कठिनाइ भएको उनले बताए । ‘अझै सास फर्न गाह्रो भयो भनिरहेको छ,’ खत्रीले भने, ‘छातीमा समस्या देखिएकाले डाक्टरले चिसोबाट जोगाउनुपर्छ भन्नुभएको छ ।’

तनहुँको बेलचौतारा घर भएकी लक्ष्मी गौतम गण्डकी अस्पतालमै छिन् । उनका छोरालाई एडिना भाइरसको लक्षण छ । एडिनो भाइरसलाई बालबालिकामा देखिने एक प्रकारको फ्लुको रूपमा अमेरिकी सरकारको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सडिसी)ले परिभाषित गरेको छ । अन्य मौसमी रुघाखोकी जस्तै भए पनि बालबालिकामा यसले दीर्घकालीन समस्या हुन सक्ने बताइन्छ ।

यो भाइरस नेपालमा काठमाडौं हुँदै पोखरा छिरेको हुन सक्ने डाक्टर बास्तोलाले बताए । उनले पोखरामा भाइरस पत्ता लगाउने कुनै पनि मेसिन पोखरामा नभएको जनाए । ‘यो भाइरस पत्ता लगाउन काठमाडौंको टेकु अस्पताल जानुपर्छ,’ डाक्टर बास्तोलाले भने । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीले उच्च ज्वरो आउने बिरामी बालबालिकाको संख्या बढिरहेको बताए । उनले पोखरामा एडिनो भाइरस चेकजाँच गर्ने मेसिन नहुँदा के भएको हो ठ्याक्कै भन्न नसकिने जनाए । समस्या बढ्दै गए काठमाडौं चेकजाँचका लागि नमुना पठाएर भए पनि समस्याको समाधान खोजिने उनले जानकारी दिए l

एडिनो जाँच्न ल्याब छैन


नेपालमा काठमाडौं उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरो देखिएपछि परीक्षण गर्दा एडिनो भाइरस पुष्टि भएको थियो । पोखरामा पनि त्यसको एक महिनापछि यो रोगबाट ग्रसित बिरामीको संख्या बढेको छ । अस्पताल पुगेका ५० प्रतिशत बालबालिकाको चेकजाँच गर्दा बिरामीको लक्षणले एडिनो भाइरस भएको पुष्टि हुन्छ । त्यस्ता लक्षण भएका दैनिक ६० देखि ७० बालबालिका आउने गरेका छन् । १० वर्षभन्दा माथिका बालबालिकालाई कोभिड पनि देखिएको छ । मौसमी रुघाखोकीस्तै यो बालबालिकामा आम रूपमा देखिएको छ । नेपालमा यसअघि पनि गर्मीयाम र मौसम परिवर्तन हुने समयमा धेरै बालबालिकामा संक्रमण देखिन्थ्यो । यो भाइरस स्वासप्रश्वासको माध्यमबाट सर्ने हुनाले छिट्टै फैलिन्छ । यसले छातीमा संक्रमण गराएमा जटिलता पनि निम्त्याउन सक्ने विज्ञहरुको चेतावनी छ । अस्पताल भर्ना भएका धेरै बिरामीलाई अहिले निमोनिया नै देखिएको छ । बूढो हुँदासम्म छातिमा दाग देखिरहन सक्छ । बच्चालाई सधेैं चिसोबाट बचाउनुपर्छ । ग्रन्थीहरू सुन्निने, एकतिरको आँखा रातो हुने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने, पिसाब गर्दा दुख्ने, पिसाबमा रगत आउने जस्ता समस्या पनि समस्या देखिन सक्छन् । अहिले अस्पताल आउने बालबालिकाको चाप बढे पनि भर्ना नै गरेर राख्नुपर्ने बिरामी भने कम छन् । धेरैलाई औषधीले सञ्चो भएको छ । उहाँहरु घरमै गएर आराम गर्दा पनि यो रोग निमोनिया नदेखिए ७ हप्तामा सञ्चो हुन्छ । यस्ता बिरामीलाई पानी खुवाउने, ज्वरो आए बाक्ला कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, सिटामोल खुवाउने गर्नुपर्छ । पोखरामा कोभिड चेक जाँच गर्न मिल्छ । एडिना भाइरस चेक जाँच गर्न काठमाडौंको टेकु पुग्नुपर्छ । पोखरामा चेकजाँच गर्ने प्रविधि छैन । भर्ना भएका सम्पूर्णलाई एडिना भाइरसका लक्षण छन् । ६ महिनासम्म आमाको दूध नखाएका बच्चामा बढी यसको संक्रमण देखिएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया