अनुदानको मलमा अनियमितता

पोखरा ।
पोखरा गगनगौंडास्थित कृषि सामग्री भण्डारण केन्द्रले अनुदानमा आएको मलमा अनियमितता गरेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालको संयोजकत्वमा बुधबार भएको अनुगमनका क्रममा यो भण्डारण केन्द्रले अनुदानमा लिएको मलको अनियमितता गरेको भेटिएको हो ।
‘पब्लिकको गुनासोको आधारमा हामीले अनुगमन गरेका थियौं,’ जिल्ला प्रशासन कार्यालय कास्कीका नायब सुब्बा शिव गौतमले भने, ‘अनुगमनका क्रममा खरिद गरेको मलको विवरण उपलब्ध गराउन भनेका थियौं तर उपलब्ध हुन सकेन ।’ नेपाल सरकारमार्फत साल ट्रेडिङले केन्द्रलाई अनुदानमा दिएको युरिया मलको स्टक मेल खाएन । ‘केन्द्रले ३० बोरा लागेकोमा १० बोराको मात्र हिसाब देखाउँदा अरु अन्तै कतै बेचियो कि भन्ने आशंका रह्यो,’ उनले भने, ‘स्टकसहितको विवरण तुरुन्त पेस गर्न भनी भण्डारण केन्द्रलाई निर्देशन दिइएको छ ।’
वैशाख, जेठमा तेलको मूल्य ३४० थियो, अहिले घटेर २६० भएको छ । तर उपभोक्ताले पुरानै मूल्य तिरिरहेको पाइयो ।
कपिलनाथ कोइराला
अध्यक्ष, उपभोक्ता मञ्च गण्डकी
अनुगमनका क्रममा विरौटाका केही पसलमा मूल्यको अभिलेख नराखेको र म्याद सकिएका खाद्यान्न राखेको पाइएको नासु गौतमले जानकारी दिए । ‘अनुगमनका क्रममा पसलमा म्याद सकिएका खाद्यान्न फेला परे, म्याद सकिएका फिर्ता गर्नुपर्ने भए छुट्याएर राख्नुपर्ने हो तर म्याद सकिएका र नसकिएका सामान एउटै ठाउँमा राखेको पाइयो । त्यसैले हामीले म्याद सकिएका सामान नष्ट गर्यौं,’ उनले भने ।
बजारमा तेलको मूल्य घटेर आए पनि पुरानै मूल्यमा बिक्री भइरहेको छ । उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले व्यवसायीले मूल्य घट्दा पनि पुरानै मूल्यमा खानेतेल बेचिरहेको गुनासो आएको बताए । ‘वैशाख, जेठमा १ लिटर तेलको मूल्य ३ सय ४० थियो, अहिले घटेर २ सय ६० भएको छ । तर उपभोक्ताले पुरानै मूल्य तिरिरहेको पाइयो । व्यवसायीलाई सचेत बनाएका छौें,’ उनले भने, ‘उपभोक्ताले तेल किन्दा प्याकेटको मूल्य हेरेर खरिद गर्नुपर्छ ।’
बजारमा कपाल काटेको मूल्य पनि नाई संघले बढाएकोमा यसमा छिट्टै नै अनुगमन हुने उनले बताए । ‘नेपाल सरकारको नियम अनुसार नगरी आपसी छलफलमा मूल्य बढाएको पाइएको छ, आगामी दिनमा यसको अनुगमन गर्छौं,’ कोइरालाले भने । हाल बजारमा खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय तोकिएको छ । उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कोइरालाले ग्यास बिक्रेताले तोकिएको मूल्यभन्दा बढी लिएको गुनासो आएको सुनाए ।
‘ग्यासको मूल्य सरकारले तोकेको १८ सय हो, बिक्रेताले १ रुपैयाँ बढी लिन पाउँदैनन्,’ उनले भने, ‘घरमै पुर्याएर सेवावापत मूल्य लिन पायो तर बिक्री कक्षबाट १ रुपैयाँ बढी लिए कानुनविपरीत हुन्छ ।’ आगामी अनुगमनमा यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने कोइरालाले बताए । गृह मन्त्रालयले नेपालभर एउटै समयमा सरकारका ३ वटै तहले संयुक्त रुपमा बजार अनुगमन गर्नू भनी परिपत्र गरेको थियो । सोही बमोजिम संघीय, प्रदेश र स्थानीय तहको संयुक्त समितिले विरौटा, गगनगौडा लगायतका क्षेत्रमा बजार अनुगमन गरेको हो ।
अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो, प्रदेशका प्रतिनिधि, महानगरका प्रतिनिधि, खाद्य निरीक्षक, नापतौल विभागका प्रतिनिधि, उपभोक्ता मञ्च र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया