मैदिपाखोको पहिरोमा रुख रोपियो

समाधान संवाददाता २०७९ साउन २६ गते १३:२५

पोखरा ।
सातौं राष्ट्रिय सामुदायिक दिवसको अवसरमा पोखराका ३ वडालाई समेटेको मैदिपाखो सामुदायिक वनमा पहिरो गएको स्थानमा बुधबार बिरुवा रोपिएको छ । २०७६ भदौमा गएको पहिरोमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको समन्वय एवं मैदिपाखो सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बाँस, तेजपात, अमला लगायतका ४ सयभन्दा बढी विरुवा रोपिएको हो ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवमं प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोलाले तेजपातको विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । उनले रोपिएका विरुवाको संरक्षण गर्नु सबैको दायित्व भएको औंल्याए । सामुदायिक वनबाट प्राकृतिक स्रोत काठलाई मात्र आम्दानीको स्रोतका रुपमा हेर्न नहुने बताउँदै उनले काठको विकल्प रुपमा सम्भाव्यता अध्ययनका आधारमा कृषि उत्पादनसँगै पर्यापर्यटनको विकास गरेर थप आयअर्जन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

सामुदायिक वनको संस्थागत सुदृढीकरण, पारदर्शिता र प्रभावकारी रुपमा सञ्चालन गर्ने र अगुमन, नियमन र सहजीकरण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने हो भने वन विकासमा थप जोड पुग्ने विश्वास उनको छ ।
पोखरा २८ का वडा सदस्य वीरेन्द्र भण्डारीले सामुदायिक वनको विकास र थप उपयोगका लागि वडा स्तरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्की अध्यक्ष विश्वनाथ लामिछानेले सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वनबाट २०३० साल साउन २५ सुरु भएको दिनलाई लोकतान्त्रिक सरकारले सामुदायिक वन दिवसका रुपमा मनाउन सुरु गरेको जानकारी दिए । समूहका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ र मैदापोखो सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष भरतराज न्यौपाने लगायतले वनको विकास र उपभोक्ताले पुर्‍याएको योगदानका बारेमा प्रकाश पारेका थिए ।

पोखरा २८, २९ र ३० पर्ने ५२ हेक्टर क्षेत्रफल फैलिएको सो सामुदायिक वन समूहमा १ हजार २ सय उपभोक्ता आवद्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया