पाेखरा महानगरका करार कर्मचारीकाे म्याद ६ महिना थप

समाधान संवाददाता २०७९ साउन २७ गते १०:२९

पोखरा ।
पोखरा महानगरपालिकाले करारमा नियुक्त भएका कर्मचारीको म्याद ६ महिना थप्ने निर्णय गरेको छ । म्याद सकिएको १ महिना बित्दा पनि महानगरले कुनै निर्णय नगर्दा करार कर्मचारीसँगै उनीहरुले सम्पादन गर्ने कार्यमा अन्योल थियो । महानगरको २४ असारमा बसेको कार्यपालिका बैठकले ६ महिना थप म्याद थप्ने निर्णय गरेको मेयर धनराज आचार्यले बताए ।

अघिल्लोपटक लोक सेवा आयोग नपठाई करार कर्मचारीको म्याद थप्दा महानगरलाई अख्तियारले परिपत्र गरेको थियो । लोकसेवामा दरबन्दी कम पठाई करार कर्मचारीको म्याद थपेमा तलब, भत्ता आफैंले व्यहोर्नुपर्ने अख्तियारको पत्रमा उल्लेख छ । सुशासन प्रवद्र्धन गर्न महानगरलाई अख्तियारले बारम्बार करारमा कर्मचारी नराख्ने निर्देशन दिँदै आएको छ ।

३ सय ५९ करार कर्मचारीको म्याद महानगरले ६ महिना थपेको छ

Advertisement

०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका कर्मचारीको म्याद थप हुँदै आएको छ । त्यसअघि पनि महानगरले ठूलो संख्यामा करार कर्मचारी नियुक्त गरेको थियो । करार कर्मचारी तत्काल हटाउँदा काम गर्न कठिन हुने देखिएपछि म्याद थप गरिएको मेयर आचार्यले जानकारी दिए ।

तर, कार्यपालिकामा बहुमत सदस्य रहेको नेपाली कांग्रेसका जनप्रतिनिधिले करारका कर्मचारी हटाउनुपर्ने माग गरेका थिए । उनीहरुले पुराना करारका कर्मचारीलाई बिदा गरेर नयाँ कर्मचारी राख्नुपर्ने माग गरेकाले कर्मचारीको म्याद थप गर्न ढिलाइ भएको एक कार्यपालिका सदस्यले बताए । अहिले महानगरमा कार्यरत अधिकांश करार कर्मचारी गएको कार्यकालय र त्यसअघि पनि एमाले नेतृत्वको कार्यकालमा नियुक्त गरिएका हुन् ।

Advertisement

कांग्रेसबाट निर्वाचित वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानांगका अनुसार कर्मचारीको म्याद अन्तिम पटक ६ महिना थप गरिएको छ । ‘विगतका मेयरले नियुक्त गरेका कर्मचारी कहाँ, कता छन् । केही थाहा भएन । कसको जिम्मेवारी के हो, केही थाहा भएन । यसपछि ६ महिना अन्तिमपटक थप गर्ने कार्यपालिकाबाट निर्णय भएको हो,’ उनले भने ।

महानगरमा आउने कर्मचारी लोक सेवा पास गरेर आउनुपर्ने आफूहरुले सुरुबाटै माग गर्दै आएको उनले उल्लेख गरे । ‘६ महिना म्याद थप भएको छ । भदै १५ सम्म लोक सेवासम्म जानका लागि थालनी गर्ने हाम्रो माग थियो,’ उनले भने । पोखरा महानगरपालिकामा ३ सय ५९ जना करार कर्मचारी छन् । महानगरमा स्वास्थ्यतर्फ १ सय ९ र अन्यतर्फ २ सय ५० करारका कर्मचारीले काम गर्छन् । करारका कर्मचारीको तलब, भत्तामा वार्षिक स्वास्थ्यतर्फ ९ करोड र अन्यतर्फ १० करोड खर्च हुने गरेको छ ।

करार कर्मचारीको तलब, भत्तामा मात्र महानगरको वार्षिक १९ करोड खर्च हुन्छ । १८ वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई एकै पटक हटाउँदा पनि समस्या आउने भएकाले ६ महिनामात्र म्याद थप गर्ने निर्णय गरिएको स्रोतले जनायो । करार कर्मचारी कटौती गर्दा एकतर्फ पालिकालाई परेको अर्थभार कम हुन्छ भने अर्काेतर्फ एकैपटक धेरै जनाको जागिर खोसिन्छ । कर्मचारीलाई स्वेच्छिक अवकास दिन यो आर्थिक वर्षमा पोखरा महानगरले १३ करोड विनियोजन गरेको छ । बैठकले नगर प्रहरीको संख्या वृद्धि गर्ने निर्णयसमेत गरेको छ । पोखरा महानगरमा नगर प्रहरी ५० पुर्‍याउने निर्णय भएको छ ।

सहिदका छोरालाई पढाइ खर्च
दोस्रो जनआन्दोलनका प्रथम सहिद भीमसेन दाहालका छोरा विस्तृत दाहाललाई पोखरा महानगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) पढाउने भएको छ । पोखरा महानगरको मंगलबार बसेको कार्यपालिका बैठकले दाहाललाई एमबिबिएस पढ्न लाग्ने खर्चको व्यवस्थापन गरेको हो ।

जनआन्दोलनका क्रममा नेपाली सेनाले चलाएको गोली लागेर महेन्द्रपुलमा भीमसेनले ज्यान गुमाएका थिए । जनआन्दोलनमा भीमसेनले ज्यान गुमाउँदा विस्तृत २ वर्षका थिए । छोराले एमबिबिएस पढ्न नाम निकालेपछि भीमसेनकी श्रीमती सविता र विस्तृतले विभिन्न नेतालाई भेटेका थिए । उनीहरुको प्रयासका बाबजुद छात्रवृत्तिको अवसर मिलेको थिएन ।

आन्दोलनका सहिद, घाइते र वेपत्ताका परिवारलाई सरकारले छात्रवृत्तिमा पढाउने भने पनि दाहाल त्यो अवसरबाट बञ्चित छन् । विस्तृत दाहालले पोखराको एसओएसबाट १२ कक्षा पास गरेका छन् ।

तपाईको प्रतिक्रिया