नवौं राष्ट्रिय खेलकुदलाई छैन महानगरको बजेट

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदै छ । ३९ वर्षपछि हुन लागेको उक्त प्रतियोगिताको रौनक प्रदेशभर नै छाएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समिति तथा उपसमिति गठन गरी तयारी सुरु गरिसकेको हो । प्रतियोगिताको अधिकतम खेलहरु पोखरा रंगशाला हुनेछन् ।
(हामीले बजेट छुट्याउनुपर्ने कार्यक्रम होइनः मेयर आचार्य)
पोखरा रंगशाला पोखरा महानगरमा पर्छ । अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन सहरमा प्रतियोगिता हुन्छ, त्यहाँका मेयर महत्वपूर्ण भूमिकामा हुन्छन् । आफ्नो सहरलाई कसरी प्रचार गर्ने, कसरी आथितिलाई स्वागत सत्कार गर्ने जिम्मेवारी मेयरले लिने प्रचलन छ ।
तर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो महानगरले बजेट छुट्याउनुपर्ने कार्यक्रम नभएको तर्क गर्छन् । ‘महानगरले बजेट छुट्याउनुपर्ने कार्यक्रम होइन यो । नवौं राष्ट्रिय खेलकुद नेपाल सरकार खेलकुद मन्त्रालयले आयोजना गर्ने हो,’ आचार्यले भने ।
महानगरले प्रतियोगितामा स्थानीय स्तरबाट गर्नुपर्ने काम भने गर्ने मेयर आचार्यले बताए । ‘यसलाई बजेट छुट्याएर गर्नुपर्ने केही छैन,’ उनले भने, ‘स्वागत, सत्कार गर्ने, स्वागत गेट बनाउने आदि कार्य गर्नुपर्ला भन्ने हिसाबले केही बजेट छुट्याएका छौं ।’
खेलाडी स्वागत, सत्कार तथा प्रतियोगितामा जनपरिचालन गर्ने कार्य महानगरले गर्ने मेयर आचार्यले बताए । ‘जे आवश्यकता होला त्यो गर्ने भनेर भनेका छौं तर यति बजेट खर्च गर्ने भनेर हेरफेर गरेका छैनौं,’ मेयर आचार्यले भने ।
तपाईको प्रतिक्रिया