अखण्ड संकीर्तन अन्तिम चरणमा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तन अन्तिम चरणमा पुगेको छ । कर्दम, कश्यप जस्ता ऋषिमुनिको साधना स्थलका रूपमा लिइने शुक्लागण्डकी र बगादी नदीको संगममा रहेको यस तीर्थस्थलमा लोक कल्याणको कामना गर्दै हरिनाम संकीर्तन गरिएको हो ।
यसबीचमा विभिन्न धर्मगुरुसहित महिला समूह, संघ, संस्था आदिको उत्साहपूर्ण सहभागिता रहेको नर्मदेश्वर मोक्षाश्रम धाम संरक्षण समिति अध्यक्ष झविन्द्रराज आचार्यले जानकारी दिए । प्राचीन कालदेखि साधकको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन सकेको छैन । तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाएको समितिले धाम परिसरमा द्वादश ज्योर्तिलिंगसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको नर्मदेश्वर शिवलिंग स्थापना गर्ने लक्ष्य लिएको छ ।
१२ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवानका लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने जनाइएको छ । मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने र नेपाल आमा एवं अवतारी महापुरुषहरूको मूर्ति स्थापना गरी यस क्षेत्रकै दर्शनीय धाम बनाउने लक्ष्य समितिको छ । समितिले धाममा साधु, सन्त, वृद्धवृद्धा, ब्रम्हचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आएको छ । यसका लागि मुठ्ठीदानको आह्वान गरिएको छ ।
अध्यक्ष आचार्यका अनुसार समितिले धाममा गौशाला, विशाल अतिथि गृह, पोखरा तथा मुक्तिनाथमा आउने तीर्थालुका लागि सुविधा सम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिंग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १०८ दीप लगायत निर्माणका लागि लघु तथा गुरुयोजनाअघि सारेको छ । धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको छ । गुरुयोजनानुसार पूर्वाधार निर्माणका लागि ८ करोड लागत अनुमान छ ।
लक्षित योजनामध्ये ४० प्रतिशत काम भइसकेको छ । ऋषिमुनिको प्राचीन तपोभूमिका रूपमा रहेको यस तीर्थस्थलको अस्तित्व कहिलेदेखि रहेको भन्ने अझै कुनै यकिन तथ्य बाहिर आएको छैन । पितृतीर्थका रूपमा समेत रहेको यस धामका सम्बन्धमा केही रोचक किंवदन्तीसमेत छन् । परापूर्वकालमा वरवृक्षको छहारीमा बसी तपस्या, साधना एवं यज्ञादि हुने भएकाले नर्मदेवरलाई दायाँ पारी वर वृक्षको समीप हुँदै बग्ने नदीलाई बरगाछी भनिएको र पछि अपभ्रंश भई बगादी भनिएको किंवदन्ती छ ।
यसै स्थलमा कुनै साधकले तपस्या र साधनाको माध्यमबाट विशेष धार्मिक पर्वमा अदृश्य पुजारीको माध्यमबाट पूजाअर्चना गर्ने गरेको र पूजाका लागि भक्तजन पुग्दा पूजा भइसकेको देखिने जनश्रुती छ । धाममा वैशाख, साउन र माघे संक्रान्तिका साथै शिवरात्रि, नवदुर्गा, हरिशयनी एकादशी, हरिबोधिनी एकादशी, रामनवमी आदि महत्वपूर्ण तिथिमा विशेष मेला लाग्ने गर्दछ । धामको गरिमा र महत्वलाई उजागर गर्ने लक्ष्यका साथ समितिले विभिन्न महत्वपूर्ण तिथिमितिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
देश, विदेशबाट ख्याती कमाएका सन्त, महन्तको आगमन भइरहने यस धाममा विसं २०७३ फागुन ११ गतेदेखि २१ गतेसम्म सन्त सम्मेलन गरिएको थियो । लोक कल्याणको कामनासहित गरिएको अखण्ड हरिमान संकीर्तन आम सर्वसाधारणमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिएको बताउँदै अध्यक्ष आचार्यले यही साउन ३१ गते एक भव्य समारोहकाबीच समापन गर्ने जानकारी दिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया