सम्पादकीय: उडानअघिको तयारी

समाधान संवाददाता २०७९ साउन २७ गते ११:५५

आउँदो पुस १७ अथात् अंग्रेजी नयाँ वर्षबाट पोखरा विमानस्थल सञ्चालनमा ल्याउने तयारी नागरिक उड्डयन प्राधिकरणले गरिसकेको छ । तर, त्यसअघि गर्नुपर्ने अरु तयारी पनि थुप्रै छन् । आयल निगमको डिपो अझै बनेको छैन । आर्मी ब्यारेक बनेको छैन । रिठेपानी डाँडाकटान सकिएको छैन । अझ सबैभन्दा महत्वपूर्ण त पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटको विकल्प तयार गरेको छैन । यसका बाबजुद पोखरा विमानस्थल आयोजनाले आउँदो असोज कात्तिकतिर प्राविधिक उडान परीक्षण पनि गर्दैछ ।

महानगरले ल्यान्डफिल साइट अस्थायी रुपमै भए पनि छिट्टै सार्ने आश्वासन त दिएको छ, तर पत्यारिलो गरी काम भएको खबर सार्वजनिक भएको छैन । अहिलेसम्म फोहोर लगेर एयरपोर्ट भएकै वडा नम्बर १४ को बाच्छेबुडुवामा फाल्ने गरिएको छ । विमानस्थल आडैमा फोहोर फाल्दा चराहरु जहाजमा ठोक्किने जोखिम हुन्छ । महानगरपालिकाले अब पनि फोहोर पहिला झै एक ठाउँमा लगेर थुपार्ने विधि अपनाउनु हुँदैन । प्रविधिको जमानामा फोहोर बिसर्जनका थुप्रै नयाँ तरिका विश्वमा आइसकेका छन् ।

जस्तो कि कुहिने फोहोरबाट बिजुली निकाल्ने, मल बनाउने, ग्यास निकाल्ने लगायत काम गर्न सकिन्छ । पुनप्रयोग गर्न सकिने फोहोर पनि हुन्छ, प्रशोधन गर्न सकिने फोहोर पनि हुन्छ । तिनको वर्गीकरण गरी थान्को लगाउने आधुनिक विधि अपनाउनुपर्छ । फोहोरबाट ग्यास बनाउने विधि पोखराकै सांस्कृतिक सम्बन्ध रहेको धरानले अपनाइरहेको छ । पोखरामा धरानको भन्दा ४ गुना बढी फोहोर उत्पादन हुन्छ । त्यहाँको भन्दा ठूलो क्षमताको मेसिन ल्याएर त्यस्तै तरिकाले ग्यास निकाल्ने र बिक्री गर्ने एउटा उपाय हुनसक्छ ।

Advertisement

हेटौंडामा फोहोर जलाउने गरिएको छ । तर पनि वातावरण प्रदूषण नहुने विधि त्यहाँ छ । त्यो अर्काे विकल्प हुनसक्छ । विश्वका तमाम सहरहरुले फोहोरबाट बिजुली नै निकाल्छन् । आफ्नो सहरको फोहोरले नपुगेर अर्काेबाट किन्छन् । तर पोखरामा भने फोहोरको पैसा उपभोक्ताले उल्टै महानगरपालिकालाई तिरिरहेका छन् । महानगरले त फोहोर लिएबापत पैसा दिने योजना ल्याउन सक्नुपर्ने हो । पोखरा विमानस्थलबाट जहाज उडान नियमित उडान सुरु हुनुअघि नै आधुनिक किसिमका मेसिन स्थापित गर्नलाई महानगरपालिकालाई समय पनि छ । दृढ इच्छाशक्ति राखेर काम गर्ने हो भने त्यो असम्भव हुँदैन ।

Advertisement

तपाईको प्रतिक्रिया