मुग्लिन पोखरा सडक विस्तार योजना
आँबुखैरेनी–जामुने खण्डमा ५७ करोड खर्च

पोखरा ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी–जामुने सडक खण्डमा ५७ करोडभन्दा बढी खर्च भएको छ । १ वर्षको अवधिमा उक्त खण्डमा ५७ करोड ४ लाख ४२ हजार ९६ खर्च भएको सडक योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/७९ मा उक्त खण्डका लागि २ अर्ब ५१ करोड ४७ लाख ८२ हजार विनियोजन भएको थियो । उक्त खण्ड अन्तर्गत विभिन्न ठाउँमा भित्ता काट्ने र सडक चौडा पार्ने काम भइरहेको प्रमुख सुवेदीले बताए । सडक दायाँबायाँका रुख कटान गरिएको छ । तनहुँ खण्डमा मात्रै ६ हजार ५ सय रुख कटान गरिएको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
बाक्लो बस्ती भएको ठाउँमा ४१ मिटर र अरु ठाउँमा दुईतर्फी २५/२५ मिटरको सडक बन्दै छ
आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो ।
४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।
पश्चिम खण्डमा १३८ संरचना हटाइने
जामुनेदेखि कोत्रेसम्म (पश्चिम खण्ड)तर्फ १ सय ३८ संरचना हटाउनका लागि मुआब्जा प्रक्रिया सुरु भएको छ । जामुनेदेखि कोत्रेसम्मका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायतका संरचना हटाउन २ करोड ४५ लाख ३९ हजार ६ सय ३३ मुआब्जा वितरण गर्न लागिएको छ ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजकत्वमा गठित उपसमितिले म्याग्दे गाउँपलिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्मका १ सय ३८ वटा संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको छ ।
एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएरमात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण गर्न लागिएको हो । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ ।
समितिका सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ छन् ।
तपाईको प्रतिक्रिया