गण्डकीका जिल्लामा राष्ट्रिय खेलकुदको रौनक

समाधान संवाददाता २०७९ साउन २९ गते ११:०८

पोखरा ।
आगामी असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक गण्डकी प्रदेशका जिल्लामा देखिन थालेको छ । प्रदेशका अधिकांश जिल्ला आफनो खेल सञ्चालन गर्ने जिम्मेवारी लिने तयारीमा छन् ।

प्रतियोगिताको तयारी स्वरुप शनिबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेशकुमार गुरुङ नेतृत्वको टोली गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ र पर्वत पुग्यो । टोलीले ती जिल्लामा पुगेर त्यहाँका जिल्ला खेलकुद विकास समितिको नेतृत्व, स्थानीय निकायका जनप्रतिनिधि, खेलाडी, खेल प्रशिक्षकसँग छलफल गरेको छ ।

गण्डकीका विभिन्न जिल्लाका खेलकुद समितिले आफूहरुलाई सञ्चालनको जिम्मा दिइने खेल चाडै टुंगो लगाउन माग गरेका छन्

Advertisement

छलफलका क्रममा ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता सफल पार्न सघाउने उनीहरुले प्रतिबद्धता गरेका छन् । प्रतियोगिता अन्तर्गतका कुनै पनि खेल खेलाउने जिम्मेवारी प्राप्त गरेमा सम्पन्न गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो । छलफल तथा खेलमैदान निरिक्षणका क्रममा आफ्नो जिल्लाको अवस्थाको आधारमा दिइने खेल आयोजनाको जिम्मा लिन तयार रहेको बताए ।

म्याग्दीको बेनीमा आयोजित छलफलमा बेनी नगरपालिकाका मेयर सुरजकुमार केसीले प्रतियोगिताको तयारी सुरु भइसकेको बताए । गण्डकी प्रदेशका भलिबल, तेक्वान्दो लगायतका विभिन्न खेलमा म्याग्दीबाट नेतृत्व सहितको प्रतिनिधित्व हुने गरेको भन्दै उनले प्राविधिक टिमले पूर्वाधार पुगेन भनेर समय दियो भने बनाउन तयार रहेकोसमेत बताए । प्रतियोगिताको लागि केही बजेट छुट्याइसकेको उनले खुलाए ।

Advertisement

‘गण्डकी प्रदेशमा नवौं प्रतियोगिता आयोजना हुँदा कुनै पनि खेल म्याग्दीमा पुगेन भने दुर्भाग्य हुने भएकाले हाम्रो जिल्लामा खेल आउनुपर्छ भन्ने हाम्रो दावी हो,’ मेयर केसीले भने । प्रतियोगिता सञ्चालन गर्ने जिम्मा आयो भने गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा राम्रो आफ्नो जिल्ला हुने ठोकुवासमेत उनले गरे ।

जिल्ला खेलकुद विकास समिति म्याग्दी अध्यक्ष दीनेश केसीले सम्भव भएमा महिला भलिबल, पुरुष भलिबल र तेक्वान्दोका खेल सञ्चालन गर्ने जिम्मेवारी दिन आग्रह गरें । बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले सबैको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिने बताए ।

जिल्लामा रहेका पर्यटकिय ठाउँको अवलोकनको व्यवस्था मिलाइने उनले सुनाए । तेक्वान्दोका सहायक प्रशिक्षक कर्ण प्रधानले तेक्वान्दोका लागि इन्डोर समस्या नभएको बताए । खेल खेलाउन र प्रशिक्षण गराउनको लागि पर्याप्त ठाउँ भएको उनको भनाइ छ ।

बागलुङमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङ अध्यक्ष कुमार खड्काले खेल सञ्चालन गर्ने जिम्मेवारी दिएमा कुशलतापूर्वक सम्पन्न गर्ने बताए । बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले पनि प्रतियोगिताका खेल आफ्नो जिल्लामा सञ्चालन गर्ने अवसर आएमा सहयोग गर्न तयार रहेको सुनाए ।

जिल्ला खेलकुद विकास समिति बागलुङका सचिव तारा शर्माले बागलुङले सुटिङ खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गर्न सके सजिलो हुने बताइन् । अन्य कुनै खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त भएमा पनि त्यसलाई स्वीकार गरेर सम्पन्न गरिने उनको भनाइ छ ।

कोषाध्यक्ष कल्पना श्रेष्ठले छिटोभन्दा छिटो जिम्मेवारी सम्बन्धी निर्णय भएमा तयारीलाई तीव्रता दिन सजिलो हुने सुनाइन् । समयमा नै जिम्मेवारी पाउन सके प्रतियोगिता भव्य बनाउन सजिलो हुने अन्य सहभागीको भनाइ थियो । पर्वतमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वत अध्यक्ष हर्कमान गुरुङले प्रतियोगिता अन्र्तगतका खेल सञ्चालन गर्न आफूहरु तयार रहेको बताए । पर्वतका लागि महिला भलिबल, पुरुष भलिबल वा तेक्वान्दो खेलको जिम्मेवारी पाउन सके राम्रो हुने उनको भनाइ छ ।

खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेशकुमार गुरुङले आफ्नो जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने इच्छा प्रकट गरेकोमा जिल्लाहरुप्रति आभार व्यक्त गरें । जिल्लाको आकांक्षाका बारेमा मुल आयोजक समितिमा कुरा पुर्‍याउने र निर्णय गराउने प्रतिवद्धता उनको छ ।

सबै जिल्लामा तयारी तीव्र पार्न उनले आग्रह गरे । ‘खेलाडी तथा प्रशिक्षकको बसोबास, खेल मैदान, इन्डोर हल, आवातजावत लगायतका लागि गुनासो नआउने गरी तयारी गर्नुहोस्,’ उनले भने । खेल सञ्चालन तथा प्राटिक्स गर्ने सम्भावित ठाउँको बारेमा विवरण संकलन गरी फोटो तथा भिडियोमार्फत पठाउनसमेत सदस्य गुरुङले निर्देशन दिए । कास्की भन्दा बाहिरका जिल्लामा देखिएको रौनक र खेल सञ्चालन गर्ने इच्छाले आफूलाई उत्साहित बनाएको उनको प्रतिक्रिया छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४ सय ७ इभेन्टमा पदकका लागि प्रतिष्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया