अदालत र अपेक्षा

मुगा सुवेदी २०७९ साउन २९ गते १२:१५

अदालत र न्यायालय भन्ने शब्दावली पर्यायवाचीको रूपमा लिन सकिन्छ, जहाँ न्याय र अन्न्यायको निरूपण गरिन्छ त्यो पवित्र थलो जहाँ नियम, कानुनअनुसार न्यायमूर्तिद्वारा अपराधीलाई सजायँ र निर्दोषलाई उन्मुक्ति दिइन्छ । त्यस्तो न्यायप्रणाली भएको हाम्रो देश नेपाल अहिलेको परिप्रेक्ष्यमा कताकता प्रतिगमनतर्फ उन्मुख भएको त हैन भन्ने कुरामा प्रशस्त शड्ढा गर्ने ठाउँ रहेको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्थित न्यायालयको परिकल्पना त गर्यो तर अहिले जनताले सोचेअनुरूपको न्यायनिरूपण हुन सकिरहेको छैन । संविधानले महिला, दलित र विपन्न वर्गका लागि भनेर बलियो कानुन ल्यायो , लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापना गर्यो । राज्यद्वारा जनतालाई अनेक प्रकारका आश्वासन बाँडियो तर जनताका दुख ज्युँकात्युँ रहे ! जनतालाई राहतको सट्टा आहत थपियो । झन् न्यायालयको अवस्था त यति कमजोर बन्यो कि न्याय पैसामा बिक्न थाल्यो ।

‘कानुनका दृष्टिमा सबै समान’ भन्ने आदर्श वाक्यको परिपालना होस् । अर्काको दुस्प्रचार गर्ने हिम्मत कसैले नराखोस् । अदालतमा हुने अनियमितता र भोलिवादको सिद्धान्त हटोस् ।

Advertisement

न्यायाधीश र वकिलहरू नै पैसाको चलखेल गर्न थाले । आँखा बन्द गरेर हातमा तराजु लिएर न्यायमूर्तिद्वारा बिना भेदभाव ठुलोसानो नभनी आफ्नो अर्को नभनी अत्यन्त सूक्ष्म ढंगले सत्यलाई सत्य र असत्यलाई असत्य भनेर न्यायको छिनोफानो गर्ने पवित्र ठाउँमा आज पैसाको फोहोरी खेल चलिरहेको छ भन्ने कुरा सार्वजनिक भएका विभिन्न अडियोक्लिपरूबाट पनि प्रमाणित हुन्छ ।

वर्तमान अवस्थामा नेपाली समाज र राजनीति झनै घृणित बन्दै गएको छ । हिंसा, आतंक, अराजकता, अन्याय, अत्याचार, घुसपैठ जस्ता आपराधिक मानसिकता दिन दुई गुना रात चौगुना बढिरहेका छन् । ‘सतीले सरापेको देश’ भएर हो कि समाजमा कोही सोझो ,ईमानदार र आफ्नो मिहिनेतमा अगाडि बढेको देख्यो भने गर्न नसक्नेहरूको मन पोल्छ र अनेक बखेडा रचेर खुट्टा तान्ने काम हुन्छ । जसरी पनि उसलाई विभिन्न प्रपन्च गरेर उसको सामाजिक छवि गिराउनुका साथै जीवन नै धरापमा पारिन्छ । व्यक्तिगत रिसिबी साँधिन्छ र कसैलाई उक्साएर अनि हतियार बनाएर जालझेल बुनेर षड्यन्त्रपूर्वक खाडल खनेर फसाउने काम गरिन्छ ।

Advertisement

राम्रो कलाकारका साथै समाजसेवाको क्षेत्रमा उत्कृष्ट छवि बनाएका पलशाहलाई आफ्नै नजिकका मित्रहरूले एनजीओ तथा अइएनजीओ को कमाउधन्दामा लागेर आज जेलमा पुरयाएका छन् । भनिन्छ ‘नजिकको मित्र नै ठूलो शत्रु हुन्छ’ किनकि उसलाई एबिसिडी सबै थाहा हुन्छ तसर्थ कुनै पनि बेला साथीले मौकाको फाइदा लिएर छाड्छ । यौटा संघर्षशील पृष्ठभूमिबाट अगाडि बढेको अत्यन्त मिहिनेती कलाकार पलको जीवन अहिले तहसनहस बनेको छ । उनलाई बलात्कारजस्तो जघन्य अपराधको ट्याग भिराइएको छ । तर पलले भने सुरुदेखि नै आफू निर्दोष भएको कुरा बताइरहेका छन् र इन्कारी बयान दिइरहेका छन् ।

उता नाबालिकाले पनि पछिल्लो समयमा आएर पल निर्दोष भएको बकपत्र गरेकी छिन् । कसैको उक्साहट अथवा कसैले दिएको प्रलोभनमा परेर त्यसो गरेको बताइरहेकी छिन । यति हुँदाहुँदै पनि पलको केस लम्बिइरहेको छ । जनताको आशाको केन्द्रविन्दु न्यायालयको अवस्था कमजोर र पैसामुखी भैदिँदा कतिपय निर्दोष मानिसहरू पनि कठघरामा बस्नुपरिरहेको छ । सुन्नमा आएअनुसार करिब ७० प्रतिशत मानिस निर्दोष भएर पनि जेलजीवन बिताउन बाध्य भएका छन् ।

न्याय सम्पादनको कुरा यति फितलो भन्नै लाजमर्दो ! राजनैतिक रवाफ अनि पैसाको चलखेलले न्याय किनिन्छ यहाँ , कठै ! न्याय हराएको मेरो देश । अदालतको न्यायाधीश पनि राजनैतिक नियुक्तिले चुनिन्छ । कस्तो विडम्बना उदेकलाग्दो छ । न्यायालयमा राजनीति हावी भएपछि कस्तो न्याय मिल्छ ? अपराधी पनि आफ्नो पार्टीको भए मुद्दा नै खलास । इतर पार्टीको भए मात्रै कानुन लाग्ने आफ्नो पार्टीको भए ज्यान मार्ने केसमा पनि उन्मुक्ति मिल्ने यहाँको चलन नै बनेको छ । ‘सानालाई ऐन ठूलालाई चैन’ कहाँ त्यसै भनिएको हो र ? अहिले अदालत निर्दोष व्यक्तिका लागि झूटो सावित बनेको छ । सम्मानित अदालत र न्यायाधीशहरूको अकर्मण्यता चुलिँदै गएको छ ।

वास्तविक अपराधी ,घुसाखोर,तथा चोरहरू खुलेआम छाती फुलाएर हिँडिरहेका छन् भने झुठो प्रमाणका आधारमा सोझा र निर्दोष मानिसहरू कानुनको कठाघरामा बन्दी बनेका छन् । वर्तमान सन्दर्भमा त महिलाले आफ्नो अधिकारको प्रशस्त मात्रामा दुरुपयोग गरेका छन् । अधिकारको नाममा मनलागीतन्त्र अपनाएका छन् ।‘मिल्दा चमत्कार रिस उठे बलात्कार’ सिद्धान्तलाई अँगालेका छन् । यस्तो तरिकाले त भोलि धेरैजसो पुरुषहरू एकएक गर्दै कठघरामा तानिँदै जान्छन् ।

लोकप्रिय नायक तथा सार्वजनिक व्यक्तित्व सबै जनताको मनमुटुमा बस्न सफल पलशाहलाई आज अपराधीको आरोपमा कष्टकर जीवन व्यतीत गर्न बाध्य पारिएको छ । उनको इज्जतमा दाग लगाउने काम भएको छ । वास्तवमा उनका विगतका चालचलन र आचरण तथा व्यबहारलाई नियाल्दा कतै पनि खोट लगाउने ठाउँ छैन । उनको साथीभाइसँगको सम्बन्ध , उनको मान्यजनप्रतिको आदर आफूभन्दा सानालाई राख्ने स्नेह र सद्भाव अत्यन्तै प्रशंसनीय भएको र आफ्नो कामप्रतिको समर्पण पनि उत्तिकै उल्लेखनीय रहेको सबैले बताएका छन् ।

आज पलले मात्रै नभएर उनको विरुद्धमा उक्सिने र उक्साउनेहरू पनि सामाजिक बहिष्कारमा परेका छन् । तिनीहरू पनि समाजमा सहज ढंगले गतिशील हुन पाएका छैनन् । उत्कृष्ट सामाजिक छवि बनाएका पललाई फसाउन खोज्दा उनीहरु पनि नराम्रोसँग फसेका छन् । समाजबाट उनीहरु तिरस्कृत बनेका छन् । आज पलको नाममा कयौं मिडियाहरूले तथ्यहीन र भ्रामक समाचार बनाएर भ्युज बढाउने काम गरेका छन् । कतिपयबाट त पलको विषयलाई ‘मागी खाने भाँडो’ बनाइ पैसा कुम्ल्याउने काम भएको छ ।

‘मुखमा रामराम बगलीमा छुराभनेझैँ’ बाहिर पलको समर्थन गरेझैं गर्नेभित्र उनको विपक्षमा घातप्रतिघात भइरहेकै छ । तर अदालत भने कानमा तेल हालेर बसिरहेको छ । आज पलको यो हबिगत हुनुमा आफ्नै सहकर्मी साथीहरूको कुनियत, नाबालिका र उनका अभिभावकको अपरिपक्व तथा काँचो व्यवहार , विभिन्न प्रलोभनमा परी छोरीको इज्जतलाई नै दाउमा राखी सही अभिभावकत्व निभाउन नसक्ने बाबुआमा पनि यसका प्रमुख दोषी पात्रहरू हुन् भन्ने मलाई लाग्छ । कहिले हो कहिले हैन अचम्म ! यसो भनिरहँदा कानुनले के हेरेर बसेको छ ?

यसरी अधिकारका नाममा मनलागी गर्नेहरूका लागि कानुन किन चुप छ ? पललाई फसाउनका लागि तानाबाना बुन्नेहरूलाई कानुनी कठघरामा किन नल्याउने ? उनीहरुलाई सामान्य सोधपुछ पनि किन गरिँदैन ? साँचो के हो झुठो के हो किन यो बारेमा बुझ्न ढिलाइ गरिन्छ ? यो मुद्दा टुंगोमा पुरयाउन आलटाल किन र के का लागि ! ऊ निर्दोष भएको बयान दिइसकेको अवस्थामा पनि अदालतको उदासीनता कसैको निम्ति पनि सहय हुँदैन ।

उनी दोषी नै हुन् भने सोहीअनुसारको कारबाही हुनुपरयो हैन भने उनले छिटोभन्दा छिटो उन्मुक्ति पाउनुपरयो । ऊनी निर्दोष भएर निस्के भने अहिलेसम्मको उनको मानहानी, मानसिक तनाव अनि उनको करोडौं कमाइको घाटाको क्षतिपूर्ति कसले भर्छ ? उनको कमाईबाट राज्यले लाखौं राजस्व गुमाएको छ । राष्ट्रको गहना, हिजो कोरोनाले सताएको अवस्थामा आफ्नो ज्यानको बाजि लगाएर कर्णालीका विकट जिल्लाहरूमा गएर आफ्नो कमाईको ५० प्रतिशित दीनदुखीलाई राहतस्वरूप बाँडेको पललाई कसैले पनि बिर्सनुहुँदैन ।

तर ‘चोरलाई चौतारी साधुलाई शुली’ गर्ने हाम्रो देशको कानुनको के विश्वास गर्ने ! कहीँ नभएको जात्रा हाँडी गाउँमा ! न्यायालय र न्यायाधीश पैसामा बिक्ने देश ! यहाँ ठूल्ठूला ज्यानसम्बन्धी मुद्दा र बलात्कारपछि हत्या अनि देशदोहन गरेका भ्रष्टाचारीहरूलाई पनि सर्वोच्चले सफाई दिएका कयौं उदाहरण छन् । तर सोझा र कानुनको निर्णयलाई पर्खेर बस्नेहरूले न्याय कहिले हो पाउने ?
अब भने अदालत तात्नैपर्छ । लाखौं जनताहरू पल कहिले छुट्छन् भनेर कुरिबसेका छन् । आज पलबिना नेपाली चलचित्र तथा म्युजिक भिडियो सुस्ताएको अवस्था छ ।

कति पलका समर्थकहरूले त पल ननिस्केसम्म चलचित्र नै नहेर्ने प्रतिज्ञा गरिरहेका छन् । पलको मुद्दा छिटो नटुङ्गिनु भनेको नाबालिकालाई पनि यसको नकारात्मक असर पर्नु हो । यो विवेक किन पुगिरहेको छैन ? ‘दूधको दूध पानीको पानी छुट्याउन’ न्यायालयलाई किन सकस परेको छ जनताले जवाफ खोजेका छन् । पलको मुद्दालाई खालि पेसी सार्ने काम किन र केका लागि ! अदालती प्रक्रियाको ढिलासुस्तीले जनताको धैर्यको बाँध अब टुट्नेवाला छ । यसतर्फ राज्यको ध्यान जावोस् । यसरी निर्दोष भनिएका पलको कारागारको बसाइले भोलि मानसिक स्थिति गुम्न नपरोस् ।

भोलि उनले हरेस खाएर दोस्रो बाटो रोजे भने त्यसको जवाफदेहिता कसले बहन गर्छ मेरो प्रश्न यहाँनेर छ । हो दोषीले सजाय पाउनैपर्छ तर निर्दोष फस्नुहँदैन । यो मुद्दामा यति धेरै षड्यन्त्रको गन्ध मिसिएको रहेछ भन्ने कुरा मेरो आत्माले ठम्यायो । मेरो विवेकले ऊ कुनै पनि हालतमा बलात्कारी होइन भन्ने लाग्छ । श्रीमान् न्यायालय निश्पक्ष बनोस् । सानाठूला सबैले समान न्याय पाऊन् । न्यायसम्पादनमा राजनीतिको गन्ध नमिसियोस्। आर्थिक चलखेल पूर्णतया बन्द होस् ।

राष्ट्रिय सम्पत्तिका रूपमा रहेका पलशाहको मुद्दा छिटोभन्दा छिटो छिनोफानो होस् । देशमा सुशासनको अनुभूति जनताले गर्न पाऊन् । ‘कानुनका दृष्टिमा सबै समान’ भन्ने आदर्श वाक्यको परिपालना होस् । अर्काको दुस्प्रचार गर्ने हिम्मत कसैले नराखोस् । अदालतमा हुने अनियमितता र भोलिवादको सिद्धान्त हटोस् । कुनै पनि काम आजको आजै गर्ने बानी सबैले बसालौँ । यसो भएमा कोही पनि अन्यायमा पर्दैन ।

                                                      [email protected]

तपाईको प्रतिक्रिया