
सञ्जय रानाभाट
पोखरा l
राति २ बजेसम्म पब्जी खेलेर बसेका स्याङ्जाको बिरुवा घर भएका १९ वर्षीय राम गुरुङले साउन ८ गते बिहान पोखरा १४ जागृति मार्गमा जीवन समाप्त पारे । राति ट्वाइलेट जान कोठाबाहिर निस्केका उनी ट्वाइलेटमा झुडिएको अवस्थामा बिहान फेला परे ।
ट्वाइलेटमा भित्रबाट चुकुल लगाइएको थियो । ट्वाइलेटको डण्डीमा झुण्डिएको अवस्थाबाट प्रहरीले उनलाई निकाल्यो । कास्की प्रहरीले पोस्टमार्टमका लागि शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्यायो । घटनाको १ महिना बित्दा पनि रामले आत्महत्या गर्नुको कारण पत्ता लागेको छैन ।
आत्महत्या गर्नेको संख्या बढिरहँदा यसका कारण अनुमान गरिन्छ, हत्तपत्त एकिन हुँदैन
३२ असारमा पोखराको ८ बगाले टोलमा डेरामा गरी बस्ने लमजुङ चितीकी एक युवतीले आत्महत्या गरिन् । २२ वर्षकी सुमना खनाल पनि झुण्डिएको अवस्थामा फेला परिन् । उनी पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा पढ्थिन् । उनको पोस्टमार्टम भयो तर आत्महत्या गर्नुको कारण खुलेन ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ७ पानीपोखरीको जंगलमा असार २७ गते एउटै रूखमा जोडी झुण्डिएको देखियो । प्रहरीले ती लास १ हप्ताअघिकै हुनुपर्ने अनुमान गर्यो । आत्महत्या गर्ने काभ्रेपलान्चोक बनेपा नगरपालिका १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ वर्षका दिवाकर थापा भएको खुल्यो । अनुसन्धानका क्रममा उनीहरु प्रेम सम्बन्धमा रहेको खुल्यो । तर, यसरी आत्महत्या नै गर्नुको कारणचाहिँ पत्ता लागेन ।
जेठ १८ गतेको घटना हो । पोखरा सिर्जनाचोक बस्दै आएका आमाछोरी मृत भेटिए । आमा झुण्डिएको अवस्थामा र छोरी खाटमा पल्टिरहेको अवस्थामा प्रहरीले भेट्यो । प्रहरीले छोरीको हत्या गरी आमा झण्डिएको निष्कर्ष निकाल्यो । महिलाका श्रीमानले पनि प्रहरीकै निष्कर्षसँग मिल्दो बयान दिए । चितवनको रत्ननगर नगरपालिकाकी ४० वर्षीया सुशीला शर्मा खतिवडा र सात वर्षकी बालिका सोनिकाको ज्यान गएको घटना अझै रहस्य नै छ ।
यसरी आत्महत्याका घटना बढिरहे पनि कारण भने अनुमानमात्र गरिएको छ । यसरी आत्महत्या गर्नेमा अधिकांश डेरामा बस्दै आएकहरु बढी छन् । परिवारबाट टाढा हुनु, शैक्षिक असफलता, प्रेममा धोका, व्यापार–व्यवसायमा घाटा, ऋण, घरेलु हिंसा तथा पारिवारिक कलह, साथीभाइसँगको झगडा, मनमुटाव, लैंगिक हिंसा, अपराध, सामाजिक अपमान तथा लागुऔषध दुव्र्यसन, पारिवारिक पृष्ठभूमि, हिनता बोध, गरिबी, परिवारिक झै–झगडा आत्महत्याका प्रमुख कारण हुन् ।
सोमबार पोखरामा आयोजित ‘सुसाइड र मिडिया’ विषयक अन्तक्र्रियामा आत्महत्याको जड मेन्टल्ली सिक हुनु भएको निष्कर्ष निकालियो । बढ्दो आत्महत्या रोकथाम गर्न गण्डकी मेडिकल कलेज मनोचिकित्सा र मानसिक स्वास्थ्य विभागको आयोजनामा पत्रकार, प्रहरी र डाक्टरले शनिबार समाधानका चुनाती, मुख्य कारण, समाजले हेर्ने दृष्टिकोण र अबको बाटोबारे छलफल गरे ।
आत्महत्या समस्या हो, समाधान होइन भन्ने चेतना नागरिकका बढाउनु जरुरी भएाके जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले औंल्याए । संसारमा सबै जसो मानिसमा केही न केही समस्या हुने उल्लेख गर्दै उनले समाधानको उपाय सुसाइड कुमार्थ हुन नसक्ने जनाए । ‘समस्या तपाईं, हामीसामु अहिले पनि छन् । भोलि पनि हुन सक्छन् । समस्यालाई समाधानको दृष्टिकोणले हेर्नुपर्छ,’ उनले भने, ‘आत्महत्या गरेर समस्या सकियो भन्ने होइन ।
यसले परिवारमा थप समस्या थप्छ ।’ तिवारीले नेपालमा गत आर्थिक वर्ष ६ हजार ७ सय ९२ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरे । सन् २०२१ मा नेपालमा आत्महत्याको दर वृद्दि भई प्रतिलाख २३.७५ पुगेको उनको भनाइ छ । नेपालमा दैनिक सरदर १९ मानिसले आत्महत्या गर्ने गरेका छन् । कास्कीमा पनि आत्महत्याको दर बढ्दो भएको उनको भनाइ छ । कास्कीका आत्महत्या गर्नेको संख्या महिलाभन्दा पुरुष बढी छ । ०७७/७८ मा ९५ पुरुष र ६२ महिलाले आत्महत्या गरेका छन् ।
२०७४ र ०७५ देखि नै बढ्दै आएको आत्महत्या दर अघिल्लो आवमा केही घटे पनि यसको रोकथाममा चुनौतिपूर्ण भएको उनको भनाइ छ । डा रविराज तिमिल्सिनाले मिडियाले आत्महत्याको विषयलाई हेडिङ बनाउन नहुने तर्क गरे । ‘आत्महत्यालाई प्रोत्साहन गर्न तपाईं, हाम्रो पनि भूमिका छ । पत्रकारहरुले आत्महत्याको विषयलाई हेडिङ नबनाउनु राम्रो हुन्छ ।’
गण्डकी मेडिकल कलेज मनोचिकित्सा र मानसिक स्वास्थ्य विभागका प्रमुख डा देवकुमार थापा, विश्व स्वास्थ्य संगठन नेपालका अध्यक्ष डा केदार मरहठ्ठा, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, डा तिमिल्सिनाले र डा निर्मल लामिछानेले आत्महत्या र मिडियाका विषयमा प्रस्तुति राखेका थिए ।
उनीहरुले आत्महत्या एउटा मनोवृत्ति भएकाले परिवारका सदस्यले विशेष निगरानी गर्नुपर्नेमा जोड दिए । जनसंख्याको २० देखि ४० प्रतिशत मानिसमा मानसिक समस्या हुने डाक्टर लामिछानेले औंल्याए । उनले परिवारका प्रत्येक सदस्यले आफ्नो घरमा भएका बिरामीलाई विशेष ध्यान दिनुपर्ने विचार राखे ।
‘यस्ता बिरामीलाई एक सेकेन्ड पनि छोड्नुभयो भने दुर्घटना हुन सक्छ । पछिल्लो समय किशोरावस्थाका बालबालिकालाई पनि बाबुआमाले बढी हेरचाह गर्नुपर्ने भएको छ,’ उनले भने । मुलुकी अपराध संहिता २०७४ (दफा १८५) ले कसैले कसैलाई आत्महत्या गर्न दुरूत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गरे ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया