यार्तुङ घौडा दौडमा अधिकारी च्याम्पियन

सुन्दरकुमार थकाली २०७९ साउन ३० गते ११:२८
तस्बिर सौजन्यः सुरज गुरुङ

जोमसोम ।
मुस्ताङको मुक्तिनाथ रानीपौवामा शनिबार सकिएको यार्तुङ महोत्सवको घोडा दौड प्रतियोगितामा सैनिक उच्च शिखर शिक्षालय जोमसोमका राजकुमार अधिकारी च्याम्पियन बनेका छन् । जनप्रिय युवाक्लव पुराङ रानीपौवाले आयोजनाको यार्तुङ महोत्सवमा अधिकारी २३ प्रतिस्पर्र्धीलाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।

यार्तुङ पर्वमा बर्सेनि क्लबले लामो दूरीको घोडा दौड र छोटो दूरीको घोडा दौड प्रतियोगिता आयोजना गर्ने गरेको छ । कोरोना कहरको २ वर्षपछि सञ्चालन भएको महोत्सवको लामो दूरीको साहसिक घोडा दौड च्याम्पियन अधिकारीले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारे । प्रतियोगितामा वारागुङ मुक्तिक्षत्रे २ झोङका वीरबहादुर विकको टीका नामको घोडाले दोस्रो स्थान हासिल गर्दै नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जित्यो ।

घरपझोङ गाउँपालिका ५ ढुम्बाका कर्मा टसी गुरुङको नाम्का नामको घोडा तेस्रो बन्दै नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको जनप्रिय युवाक्लवका सचिव छिरिङ नर्बु गुरुङले जानकारी दिए । लामो दूरीको घोडामा दौड प्रतियोगिता वारागुङ मुक्तिक्षेत्र १ झारकोटदेखि पुराङ रानीपौवा बजारसम्मको ३ किमी दुरीमा प्रतिस्पर्धा गराइएको क्लब सचिव गुरुङले जानकारी दिए ।

Advertisement

रानीपौवा बजार क्षेत्रमा भएको छोटो दूरीको घोडा दौड प्रतियोगितामा घरपझोङ ५ ढुम्बाका कर्मा टसी गुरुङको नुर्बु नामको घोडा च्याम्पियन बनेको छ । उनले नगद १५ हजार पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए । वारागुङ मुक्तिक्षेत्र १ खिङ्गाका लाक्पा टसी गुरुङको आनत घोडा दोस्रो हुँदै नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पायो भने झारकोटका राजकुमार विकको कान्छा नामको घोडा तेस्रो बनी नगद ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पायो ।

हिमाली क्षेत्रका आदिवासी जनजातिले स्थानीय चाडपर्वमा घोडा दौडाएर रमाइलो गर्ने गर्छन् । हिमाली क्षेत्रको मौलिक परम्परा र सम्यतालाई क्लबले प्रतियोगिताको रुपमा समावेश गर्दै आएको छ । मुक्तिनाथ यार्तुङ महोत्सवमा जनप्रिय युवा क्लबले तारा खेल र सेभेन ए साइड फुटबल र डोरी तान्ने खेल सञ्चालन गरेको छ । हिमाली क्षेत्रको परम्परागत तारा खेल प्रतियोगितामा म्याग्दीको सरो एन्ड ब्रो क्लबले १०३ स्कोर बटुल्दै च्याम्पियन बन्दै नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ ।

Advertisement

यस्तै, घरपझोङ गाउँपालिकाको फाइभ स्टार क्लब ९९ स्कोर जोड्दै उपविजेता बन्यो । फाइभ स्टारले नगद २५ हजारसहित नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने मिलिजुली युवा क्लब मार्फाले ९७ स्कोर निकाल्दै तेस्रो बन्यो । मिलिजुलीले नगद १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ । तारा खेल प्रतियोगितामा म्याग्दी दानाका कुमार पुर्जा विशिष्ट खेलाडी घोषित भए भने मनाङका सर्वोत्कृष्ट खेलाडी सोनाम लामा घोषित भए ।

यार्तुङ महोत्सवको सेभेन ए साइड फुटबल प्रतियोगितामा थोरङ्लापास युवा क्लब च्याम्पियन बन्यो । च्याम्पियन बनेको थोरङ्पासले नगद ४५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्‍यो भने जनहित युवा क्लब जोमसोम उपविजेता बन्दै नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जित्यो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता थोरङ्लापासका टाटु सुनुवार भए भने सर्वाेत्कृष्ट खेलाडी थोरङ्पासकै महेश लामा घोषित भए ।

प्रतियोगिता अन्तर्गत डोरी तान्ने खेलाडीलाई पनि नगद, मेडल, ट्रफी र प्रमाणपत्र दिइयो । यार्तुङमा आयोजित विभिन्न खेलका विजेतालाई स्थानीय जनप्रतिनिधि गुम्बाका अग्रज लामा र समाजसेवीबाट पुरस्कार हस्तान्तरण गरियो । बर्सेनि साउनमा मुक्तिनाथमा यातुङ महोत्सव आयोजना गर्ने गरिन्छ । तर, कोरना कहरका कारण विगतका २ संस्करण सामान्य रुपले मनाइएको पर्व यस वर्ष भव्य भएको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङ बताउँछन् । यारको अर्थ बर्खा र तुङको अर्थ पर्व हो । बर्खायामको महिनामा मनाइने पर्व भएकाले स्थानीय भाषामा यार्तुङ भनिएको देखिन्छ ।

यार्तुङ पर्वअघि स्थानीयले अन्नबाली थन्क्याईसकेका हुन्छन् । यार्तुङ पर्वपछि हिउँद यामको आगमन हुन्छ । यो पर्व जोमसोम माथिका ३ वटा पालिकाका गुरुङ समुदायले अलग अलग समयमा मनाउने चलन छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया