बाह्य पर्यटकको रोजाइमा मनाङ

नवीन लामिछाने २०७९ साउन ३० गते १२:५०

मनाङ l
नेपाल आउने बाह्य पर्यटकले मनाङलाई मुख्य गन्तव्य बनाउने गरेका छन् । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्य स्थल मानिन्छ । नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् । सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव संगाल्ने लक्ष्यका साथ उनीहरु यहाँ आउने गर्दछन् ।

Advertisement

अघिल्ला २ वर्ष भने कोभिडको संक्रमणले पर्यटक आगमन ठप्प भयो । गत आर्थिक वर्षमा भने कोभिडको संक्रमण केही मथ्थर हुँदै गएपछि मनाङ भित्रिने बाह्य पर्यटकको संख्या बढेको छ । यस अवधिमा नेपालमा भित्रिने २ लाख ८५ हजार ३ सय ६३ बाह्य पर्यटकमध्ये मनाङमा ७ हजार २० पर्यटक भित्रिए ।

आर्थिक वर्ष २०७८/७९ मा पुरुष ४ हजार ७ सय ४९ र महिला २ हजार २ सय ७० गरी ७ हजार २० बाह्य पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कात्तिक, चैत र वैशाखमा बढी विदेशी पर्यटक मनाङ आएका छन् ।

Advertisement

एक्याप पर्यटक जाँच केन्द्र धारापानीमा अनुमति प्रवेश लिएको आधारमा यो तथ्यांक संकलन गरिएको हो । आव २०७७/७८ मा कोभिड सङ्क्रमणका कारण मनाङमा ६ सय ३ बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सार्क राष्ट्रबाट पर्यटक भित्रिएका छन् । वर्षायाममा सवारीसाधन आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको छ । सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटली लगायतका देशका नागरिक मनाङको भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ ।

हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ पुग्ने गर्दछन् । थोरालाङ्ला पास गरी मुस्ताङ हुँदै पोखरा पुग्नेगरी अन्नपूर्ण पदमार्गमा केही पर्यटक पदयात्राका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका ७ मनाङ्गे चौतारामा छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्ला जोडिएको छ ।

Advertisement

४ लाख ५२ हजार राजस्व
मनाङमा भित्रिने पर्यटकबाट ६ महिनाको अन्तरालमा ४ लाख ५२ हजार राजस्व संकलन भएको छ । सन् २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा सो परिमाणको राजस्व संकलन भएको हो । विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये पर्यटकीय क्षेत्रको एकमा यस अन्नपूर्ण पदमार्ग मानिन्छ । जनावरीदेखि १४ जुनसम्म मनाङमा ५ हजार ५६ पर्यटकले प्रवेश गरेको एक्यापको पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।

यस अवधिमा १ हजार ६ सय ६२ जना पर्यटकले मनास्लु र अन्नपूर्णमार्फत फर्किएका थिए । ६ महिनाभित्र १ सय २ पर्यटक अनुमतिबिना जिल्लामा प्रवेश गरेका छन् । सार्क राष्ट्रका ४० जना र अन्य ६२ जना गरी १ सय २ पर्यटक अनुमतिबिना नै मनाङ प्रवेश गरेको पाइएको छ ।

अनुमतिबिना मनाङ प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति २ हजार र अन्य राष्ट्रबाट आएका पर्यटकलाई प्रतिव्यक्ति ६ हजार जरिवाना लिएर प्रवेश गर्न दिइन्छ । सार्क राष्ट्रका पर्यटकलाई १ हजार र अन्य मुलुकका पर्यटकलाई ३ हजार मनाङ प्रवेशका लागि शुल्क तोकिएको छ ।

तपाईको प्रतिक्रिया