कालिगण्डकी नदीमा पुल बन्ने सपना अधुरै,स्थानीयलाई सधैको सास्ती

सुन्दरकुमार थकाली २०७९ साउन ३० गते १५:३९

जोमसोम ।
जोमसोम–हिमाली कनेक्टीभिटी जोड्ने राष्ट्रिय राजमार्ग अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको पूर्वतर्फ करिव ८ सय मिटरको दुरीमा थासाङ गाउँपालिका–२ को सौरु र सिर्खुम बस्ती अवस्थित छ ।त्यहाँ करिव १२० जती घरधुरी छन् । त्यहाँका स्थानीयको जिविकोपार्जको माध्यम नै कृषि र पशुपालन व्यवसाय हो ।

थासाङको सौरु र सिर्खुम सदिंयौवर्षदेखि आर्थिक र भौगोलिक दृष्ट्रिकोणले पीछडिएको गाउँ हो । गाउँसम्म पुग्न सडक ट्र्याक छैन । एउटै वडामा पर्ने कोवाङ र खन्ती अनि सौरु र खन्ती गाउँलाई कालिगण्डकी नदीले अलग गराईदिएको छ । एउटै वडाको सौरु र खन्तीबाट कोवाङ र खन्ती जान कालिगण्डकी नदीको सतह कम हुँदा हिउँदयाममा १५ मिनेटको मात्र दुरी हो । तर, बर्खायाम लागेपछि कालिगण्डकी नदीको सतह उच्च हुँदा कालिगण्डकी नदी तर्न सक्ने अवस्था रहँदैन । बर्खायाममा कालिगण्डकी नदीको बाहव उच्च हुँदा त्यहाँ मानिसहरु मुख्य राजमार्ग सडकमा आईपुग्न पैदल ३ घण्टाको समय लाग्छ ।

हिउँदयाम खोलो तर्न बर्सेनि कार्तिक महिनामा त्यहाँ स्थानीयले कालिगण्डकी नदीमा काठको अस्थायी साँघो राख्छन् । साँघो तरेर सौरु र सिर्खमबासीले हिउँदमा कालिगण्डकी वारपार गर्छन् । कालिगण्डकी नदी तर्न कार्तिकमा राखेको साँघो त्यहाँका स्थानीयले जेठ÷असार महिनामा कालिगण्डकी नदीले बगाएर लैजाने भएकाले साँघो झिकेर कालिगण्डकी किनारमा राख्छन् । हिउँदयाममा राखेको काठको साँघो बर्खायाममा नदीले बगाउने भएकाले झिकेर नदी किनारमा राखेपछि कालिगण्डकी नदी फैलिदा त्यो पनि बगाईदिन्छ । शनिवार नदी किनारमा जम्मा गरी राखेको काठको साँघो गाउँका मानिसले डोरी बाँधेर पुन बाहिर निकालेर राखे । यो समस्या सौरु र सिर्खुमबासीले सदिंयौंदेखि भोग्दै आईरहेका छन् ।

Advertisement

थासाङ गाउँपालिकाको केन्द्र कोवाङ÷खन्तीमा छ , त्यहाँ स्वास्थ्य चौकी र प्राविधिक धारको कृषि विद्यालय पनि छ तर, हिउँदयाममा नदीको सतह कम हुँदा खोला तर्न सहज हुने भएपनि बर्खायाम नदी तर्न सक्ने अवस्था रहँदैन । नदी उच्च हुँदा पालिका भवन र अन्य सेवा सुविधा लिन समस्या पर्ने गरेको सौरुका स्थानीय सोजन हिराचनले बताए । उनले बर्खायाममा नदीकै कारण सदरमुकाम जोमसोम र पोखरा–काठमान्डौं आउजाउ गर्न समस्या पर्ने गरेको हिराचनले सुनाए । ‘हामीलाई सेवा प्रदायक निकायसम्म पुग्न र दैनिक कामकाजमा सेवा लिन असहज परेको छ, उनले भने,’ कालिगण्डकी नदीमा चाँडै पुल बनेको भए हामीलाई निकै राहत हुन्थ्यो ।’

बर्खायाममा कालिगण्डकी नदी उच्च हुँदा सौरु र सिर्खुममा उत्पादित कृषि जन्य उत्पादनको सहज बजारिकणमा समेत अप्ठ्यारो पर्ने गरेको छ । श्रावण र भदौमा आलु र असोज महिनामा स्याउ फल्ने भएपनि त्यससमय कालिगण्डकी नदीको सतह घट्दैन । गाउँसम्म सडक र पुल नभएकाले कृषि उत्पादनको ढुवानी महङ्गो पर्ने भएकाले व्यापारीहरु त्यहाँबाट कृषि उपज सामाग्री खरिद गर्न चाहदैनन् ।

Advertisement

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा २०७७ सालमा सस्पेन्सन ब्रीज डिभिजन कार्यालय मार्फत कोवाङ–सौरु जोड्ने पुलको योजना प¥यो । कोवाङ –सौरु जोड्ने ५७० मिटर लामो पुल सस्पेन्स ब्रीज डिभिजनले ५ करोड लागतमा ईलाईट रुविना जेभीसंग ३० महिनामा सक्नुपर्ने ठेक्का सम्झौता भयो । कोवाङ –सौरु जोड्ने पुल सस्पेन्सन पुल बन्ने भएपछि सौरु र सिर्खुमबासी उत्साहित भएका थिए । तर, पुलको ठेक्का सम्झौता भएको साँढे २ वर्ष बितिसक्दा समेत १० प्रतिशत पनि भौतिक प्रगती भएको छैन ।

पुल ढिलाईको बिषयमा जानकारी लिन कन्ट्रक्सनका निर्देशक जयदेव थापालाई फोन सम्पर्क गर्दा त्यससमय कोरोना माहामारीको कारणले ढिलाई भएको उल्लेख गरेका थिए तर, कोरोना कहरको बेलामा समेत मुस्ताङमा पूर्वाधार विकासको कामहरु रोकिएको थिएन । सस्पेन्स ब्रीज डिभिजन कार्यालयका सिनियर डिभिजन ईन्जिनीयर गौरीकुमार श्रेष्ठले पुल निर्माणमा ढिलाई भएको र निर्माण कन्ट्रक्सनलाई पटक÷पटक ताकेता गरिरहेको बताएका थिए ।

तर, पुलको सम्झौता भएको लामो समय बितिसक्दा समेत निर्माण कम्पनीले पुल बनाउन चाँसो दिएको देखिन्न । यता ईलाईट रुविना जेभी कन्ट्रक्सनले पुल बनाउन दोश्रो प्रतिनिधिसंग मौखिक सहमती गरेको छ । ईलाईट रुविना कन्ट्रक्सनले दोस्रो प्रतिनिधि युनिस निर्माण सेवाका प्रतिनिधि निकेश श्रेष्ठसंग पुल बनाउने मौखिक सहमती गरेको छ ।

पुल बनाउने दोस्रो प्रतिनिधि श्रेष्ठले करिव ३० लाख बराबरको काम गरेको भएपनि अख्तियारवाला कन्ट्रक्सनमा प्रतिनिधि थापासंग फोन सम्पर्क हुन नसकेको बताए, ‘ठेक्का सम्झौता गर्ने प्रतिनिधिसंग आर्थिक कारोवारका बिषयमा मौखिक सहमती भएको थियो, तर सम्झौता कार्यान्वय गर्न ढिलाई भईरहेको छ, दोस्रो प्रतिनिधि श्रेष्ठले भने, ‘भुक्तानी प्रक्रियाको बिषयमा कुरा मिल्यो भने हामीले पुलको काम सम्पन्न गर्छाैं । यथाअवस्थामा काम गर्न हामीलाई निकै गाहे परेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया