सम्पादकीयः राष्ट्रिय खेलकुदको रौनक

समाधान संवाददाता २०७९ साउन ३१ गते ११:५८

२०४२ सालमा पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । त्यसै बेला हो पोखरा रंगशालामा खेलकुदका पूर्वाधार निर्माण भएको । त्यसपछिका वर्षमा पोखरा रंगशालामा ठूला प्रतियोगिता आयोजना हुन पाएनन् र राज्यको नजरमा पनि पर्न सकेन । बल्लबल्ल फुटबल मैदान र प्यारापिट तयार भएको छ । यो पनि केही वर्षअघिको राष्ट्रिय खेलकुदका केही प्रतियोगिता गर्ने अवसरका लागि काम लाग्यो ।

अब पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताले यस क्षेत्रमा एउटा रौनक थपेको छ । यहाँको खेल क्षेत्रमा सुखद सञ्चार गराएको छ । गण्डकी प्रदेशका सबै जिल्लालाई यो प्रतियोगिताले छोइसकेको छ । सबै जिल्लाका खेलकुद समिति पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जोडिने र जिम्मेवारी सम्हाल्ने तर्खरमा छन् । यो भनेको सबैले अर्थात प्रदेशले नै उक्त प्रतियोगिताका अपनत्व ग्रहण गर्ने सन्देश हो ।

जिल्लाहरु कुनै पनि खेल आआफ्ना ठाउँमा भए त्यसका लागि आफूहरु तयार रहेको सन्देश दिइरहेका छन् । यसको मतलब राष्ट्रिय खेलकुदलाई सबैले गर्वका साथ लिएको पुष्टि हुन्छ । आखिर यस्ता ठूला खेल गतिविधि वा कार्यक्रम कुनै एकल संस्थाको मात्रै प्रयासबाट सफल हुने होइन । मिलीजुली सबै क्षेत्रले सहयोग गरेमा पक्कै पनि भव्यतापूर्वक प्रतियोगिता सम्पन्न हुनेछ ।
गण्डकी प्रदेशमा राष्ट्रिय प्रतियोगिता हुँदा यहाँको खेल जगतलाई नै यसले सकारात्मक झंकारसहितको प्रेरणा प्रदान गर्छ ।

Advertisement

तसर्थ यो ठूलो अवसर पनि हो । अवसरको सदुपयोग पनि सबैले गर्नुपर्छ । योगदानमा पनि सबैथरीको हिस्सेदारी हुनुपर्छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४ सय ७ इभेन्टमा पदकका लागि प्रतिष्पर्धा गर्ने छन् । यो भनेको खेलकुदको ठूलो चाडपर्व हो । सधैं यस्तो अवसर गण्डकीलाई प्राप्त भइरहँदैन । यसै पनि पोखरामा राष्ट्रिय प्रतियोगिता दोहोरिनका लागि ३९ वर्ष लाग्यो ।

अब फेरि भने त्यत्तिकै वर्षको प्रतीक्षचाहिँ यो प्रदेशले गर्नु नपरोस् भन्ने गण्डकी प्रदेशवासीको चाहना हो । यसपालिको प्रतियोगितालाई सबैले होस्टेमा हैंसैं गर्दै, हातेमालो गरी भव्य बनाउन सके फेरि यही प्रदेशमा यो र योजस्तै अरुमात्रै नभई अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि भित्रर्याउन सजिलो हुनेछ । खेलकुद केवल खेलमात्रै नभई जीवनशैली पनि हो । स्वास्थ्यसँग पनि यसको अनोन्याश्रित सम्बन्ध छ । पर्यटन र समृद्धिमा पनि खेलले उत्तिकै योगदान पुर्‍याउँछ ।

Advertisement

तपाईको प्रतिक्रिया