नागरिक समाज कास्कीले घरजग्गा कारोबारमा लगाएको करको विरोध प्रदर्शन गर्ने

पोखरा ।
गण्डकी प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन करमा भारी वृद्धि गरेपनि नागरिक समाज कास्कीले भदौ १ गते (भोली) सहिद चोकको चौतारीमा विरोध प्रदर्शन गर्ने भएको छ ।
नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेलले सामाजिक सञ्जालमा लेख्दै बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएर विरोध प्रदर्शन गर्ने जनाएका हुन् । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ३ पुस्ता बाहिरको नामसारी गर्दा महानगरबासीले नामसारी सेवा शुल्क ३ हजार ५ सय तिर्नुपथ्र्यो ।
तर, नयाँ आर्थिक ऐनमा समावेश भएबमोजिम नामसारी सेवा शुल्क १५ हजार पुर्याइएको छ । जुन आघिल्लो आर्थिक वर्षभन्दा ३२८.५७ प्रतिशत बढी हो । अर्थात् महानगरबासीले ३ पुस्ताभन्दा बाहिर नामसारी गर्नुपर्यो भने १५ हजार सेवा शुल्कवापत बुझाउनुपर्ने हुन्छ । प्रदेश सरकारले बाउबाजेको घरजग्गा नामसारी गर्न लाग्ने सेवा शुल्कमा पनि वृद्धि गरेको छ ।
बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकैैै नामबाट बैंक वित्तीय संघ वा सहकारी संस्थाले आफ्नो नाउँमा दाखिल गर्दा महानगरवासीले सेवा शुल्कवापत १५ हजार बुझाउनुपर्ने हुन्छ । जुन अघिल्लो वर्ष ७ हजार बुझाउनुपथ्र्यो ।
सोही सेवाका लागि नगरवासीले १० हजार र गाउँपालिकावासीले ५ हजार बुझाउनुपर्ने ऐनले तोकेको छ । अघिल्लो आवमा यसका नगरवासीले ५ हजार र गाउँपालिकावासीले २ हजार बुझाउने गरेका थिए । आर्थिक ऐनले नामसारी मात्र नभई अन्य विभिन्न कार्यमा पनि शुल्क वृद्धि गरेको छ । शेषपछिको वकपत्रको लिखत, धितोपत्र, रोक्का कारोबारमा पनि अस्वाभाविक कर वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया