
जोमसोम ।
मुस्ताङ कृषि उत्पादनको प्रबल सम्भावना भएको जिल्ला हो । मुस्ताङी स्याउ, फापर, उवा, काँडे मकै र आलुको माग स्वदेश तथा विदेशमा निकै छ । समुन्द्री सतहको २५ सय मिटर भन्दा माथि उत्पादन हुने मुस्ताङको अर्गानिक उत्पादन स्वादिलो र पोसिलो मानिन्छ ।
सहर बजारका खाद्य तथा फलफूल पारखी मुस्ताङमा उत्पादित सामग्री भनेपछि हुरुक्कै हुन्छन् । चिसो हावापानीमा उत्पादित यहाँको कृषि उत्पादन हिउँले सिञ्चित हुन्छ । मुस्ताङमा जति पनि कृषि उत्पादन हुन्छ, त्यो मुस्ताङको हो कि होइन भन्ने पहिचान गर्न उपभोक्तालाई अझै कठिन छ । मुस्ताङी उत्पादनको ब्रानिडङ र प्याकेजिङ नहुँदा सहर बजारमा व्यापारीले मुस्ताङको नाम बेचेर अन्य स्थानका कृषि उत्पादन बिक्री गरी फाइदा लिएको पाइन्छ ।
ब्रान्डिङ र प्याकेजिङ नहुँदा नहुँदा उपभोक्ता ठगिने तथ्यलाई मध्यनजर गरी घरपझोङले आलु ब्रान्डिङ गर्ने योजना ल्याएको छ
मुस्ताङको घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ५ वटै वडामा उत्पादन हुने आलुको ब्रान्डिङ तथा प्याकेजिङ गर्न थालेको छ । घरपझोङमा उत्पादित स्वादिलो आलुको चिनारी दिने सन्देशसहित पालिकाले चालु आर्थिक वर्ष १० हजार थान आलु प्याकेजिङ गर्ने बोरा कृषकलाई ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालेको कृषि अधिकृत रोशन थकालीले जानकारी दिए ।
घरपझोङलाई आलु जोनका रुपमा विकास गर्ने र सहरबजारका पारखीलाई पालिका क्षेत्रको उत्पादन हो भन्ने चिनारी दिइने थकालीले बताए । घरपझोङले गाउँसभाबाट आलु प्याकेजिङ बोरा अनुदानमा वितरण गर्ने कायक्रम स्वीकृत गरी आलु प्याकेजिङ बोरा वितरण अभियानलाई प्राथमिकता दिएको कृषि अधिकृत थकालीको भनाइ छ । ‘हामीले पालिकाको उत्पादन हो भन्ने सन्देशसहित आलु प्याकेजिङ बोरा वितरण गर्न थालेका हौं ।
यसले स्थानीय कृषक र व्यापारीलाई समेत फाइदा पुर्याउनेछ,’ कृषि अधिकृत थकालीले भने, ‘पहिला कृषकको माग संकलन ग¥यौं, त्सपछि वडा स्तरबाट बोरा बाड्न थालेका छौं ।’ चालु आर्थिक वर्षमा घरपझोङले ५ वटै वडाका ३ सय ६३ घरधुरी कृषकलाई पालिकाको लेबल लगाइएको १० हजार थान आलु प्याकेजिङ बोरा वितरण गर्ने कार्यक्रम छ । बोरामा मुस्ताङको लोकल आलु लखिएको छ । अनुदानमा उपलब्ध गराइने प्याकेजिङ बोरामा ३० केजी आलु अटाउँछ ।
स्याउ, फापर, उवा, काँडे मकै जस्तै मुस्ताङी आलुको डिमान्ड पनि उक्तिकै छ । मुस्ताङमा दुई प्रकारको आलु उत्पादन हुने गर्छ । मुस्ताङमा विकासे आलु मंसिर महिनामा खेतबारीमा रोपेर जेठ महिनामा खनिन्छ भने स्थानीय जातको आलु फागुन/चैत महिनामा रोपेर साउन/भदौमा खेतबाट निकाल्छ । मुस्ताङमा उत्पादित विकासे आलुभन्दा स्थानीय जातको लोकल आलुको माग बढी छ ।
नेपालका ७७ वटै जिल्लामा आलु उत्पादन हुने भए पनि हिमाली जिल्लामा उत्पादन हुने आलुको क्रेज बेग्लै छ । हरेक तरकारीसँग सहजै मिलाएर खाने मिल्ने आलुलाई तरकारी र उसिनेर पनि खाइन्छ । मुस्ताङको ५ वटै स्थानीय तहमा आलु फल्छ । मुस्ताङमा आलु खेती स्याउ बगैचाभित्र लगाएर कृषकले दोहोरो फाइदा लिने गर्छन् । आलु उत्पादन गरेर मुस्ताङीले बर्सेनि लाखौं आम्दानी गर्ने गरेका छन् ।
मुस्ताङको अन्न भण्डारको रुपमा चिनिने थासाङको कुञ्जोमा सबैभन्दा बढी आलु उत्पादन हुन्छ । यसका अलावा थासाङको टुकुचे, कोवाङ, सौरु आदि स्थानमा पनि आलु लगाइन्छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्रका विभिन्न स्थानमा पनि व्यवसायिक रुपमा आलु खेती गर्ने गरिन्छ । आलु किन्न जिल्ला बाहिरका व्यापारी मुस्ताङमै आउने गरेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया