लमजुङ जिल्ला अस्पतालको सम्झौता सरकारले खारेज गर्‍यो

समाधान संवाददाता २०७९ भदौ १ गते १४:३१

पोखरा ।
लमजुङ जिल्ला अस्पताल र मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडीसिएस) बिचको सम्झौता गण्डकी प्रदेश सरकारले खारेजी गरेको छ । गत साउन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले मानव विकास तथा सामुदायिक सेवा केन्द्रसँग लमजुङ जिल्ला अस्पताल सम्झौता भंग गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले दिए ।

सम्झौता खारेजी निर्णयसँगै अस्पताल सरकारको मातहतमा रहने बताइएको छ । सम्झौता खारेजीसँगै अस्पतालमा भएका भौतिक संरचना एवं उपकरण प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । स्वास्थ्य सेवा जस्तो नागरिकको आधारभुत आवश्यकताको क्षेत्रमा सरकार आफैले जिम्मेवारी वहन गर्नुपर्ने, अस्पतालले दिँदै आएको सेवाबाट नागरिक सन्तुष्ट हुन नसकेको, अस्पतालको सेवा सुविधा महंगो भएको जनगुनासो, अस्पतालको सामाजिक परीक्षण प्रतिवेदन प्राप्त नगरेको जस्ता विषयमा टिप्पणी गरेको अस्पताल स्रोतले बताएको छ ।

प्रदेश सरकारअन्तर्गत तत्कालिन सामाजिक विकास मन्त्रालय र मानव विकास तथा सामुदायिक सेवाबीच अस्पताल व्यवस्थापन र सञ्चालनका विषयमा २७ कार्तिक ०७७ मा सम्झौता भएको थियो । हाल उक्त सम्झौता भंग गरी पत्रमा उल्लेख छ । पछिल्लो पटक भएको सम्झौता अनुसार २०८१ सालसम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएको थियो ।

Advertisement

नेपाल सरकारको स्वामित्वमा १५ शैयामा रहेको जिल्ला अस्पताल ०५८ सालमा एचडिसिएसले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रुपमा सञ्चालन गरको थियो । संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको मातहतमा आएको सो अस्पताल थप पाँच वर्षका लागि पुन सोही संस्थाले सञ्चालन गर्नेगरी सम्झौता भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया