विद्युत प्राधिकरणको वार्षिकोत्सवमा ५४ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ भदौ २ गते ११:३१

पोखरा ।
नेपाली विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन गण्डकी प्रदेश समितिले बुधबार खुला रक्तदान आयोजना गरेको छ । प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटनमा भएको कार्यक्रममा ५४ युनिट रगत संकलन भएको युनियन अध्यक्ष नारायणप्रसाद पन्थीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख केदारराज सिलवालले पहिलो रक्तदातान गोविन्द अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । उनले आम कर्मचारीको साथ र सहयोगले प्राधिकरणले प्रगति तथा सफलता हासिल गरेको बताए । ‘कर्मचारीको मेहेनतको कारण प्राधिकरणले पाएको सफलतालाई निरन्तरता दिनु आजको आवश्यकता हो,’ उनले भने, ‘पछिल्लो समयममा प्राधिकरणले नयाँ ग्राहक थप्न सफल भएको छ ।

सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन प्रयाप्त ध्यान दिइएको छ ।’ उनले व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतालाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे । कर्मचारी युनियनका संस्थापक तथा पेशागत महासंघ नेपालका स्थायी समितिका सदस्य रामप्रसाद खनालले मुनाफामा चलेको प्राधिकारणले समेत आफैं विद्युत उत्पादन गर्नुपर्ने बताए । उनले ट्रेड युनियनकर्मीहरु अर्थवाद, अवसरवाद र अराजकतावादबाट मुक्त हुनुपर्ने उल्लेख गरे ।

Advertisement

कर्मचारी युनियन सचिवालय सदस्यहरु शंकरबहादुर क्षत्री, हरिभक्त पौडेलले सामूहिक र संस्थागत रुपमा काम गर्न एकल ट्रेड युनियन आवश्यक भएको चर्चा गरे । कार्यक्रममा विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार बरनपाल, कर्मचारी युनियन गण्डकीका पूर्व अध्यक्ष डिल्लीराम गिरी, सचिव सीता सिग्देल, नेपाल इन्जिनियर्स एसोसियसन गण्डकी कार्य समिति सदस्य अस्मिता खनाल, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ गण्डकीका सचिव हरिश्चन्द्र बुढा, रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया