धौलागिरि प्राविधिक शिक्षालय २६ औं वर्षमा

सुन्दरकुमार थकाली २०७९ भदौ २ गते ११:५९

जोमसोम l
हिमाली जिल्ला मुस्ताङ पर्यटन,कृषि र पशुपालनले निकै संम्भावना भएको जिल्ला हो । यहाँका पर्यटकीय गन्तब्य, रैथाने स्याउ, उवा, फापर, जौ, मकै, ओखर, आडुबखडा, आलु, सिमी लगायतका अन्नबाली, यहाँ पालन गरिने याकचौरी र भेडाच्याँग्रा लगायतका पशुपालन व्यवसायले यहाँको कृषि र पर्यटन व्यवसायबाट मुस्ताङीले बर्सेनि मनग्ये आम्दानी गर्छन् ।

कृषि र पर्यटनको अथाह संम्भावना हुँदाहुँदै पनि यहाँको कृषि र पर्यटन व्यवसायलाई दक्ष प्राविधिक र काम गर्ने जनशक्ति नहुँदा कृषि र पर्यटनमा निकै समस्या पर्ने गरेको छ । यसो त पछिल्लो समयमा कृषि र पशुपालन व्यवसाय गर्नेले उचित परामर्श र सेवा दिने दक्ष जनशक्ति अभाव हुँदा स्थानीय कृषकले प्राकृतिक प्रकोपको पीडाँ व्यवहोर्न पर्ने अवस्था थियो । पर्यटन व्यवसायमा पनि उस्तै समस्या छन् ।

२०५० को दशकमा मुस्ताङमा नत सडक थियो, नत कुनै सुविधा नै थिए । त्यसबेला कृषि र पर्यटन क्षेत्रलाई उकास्न कुनै भरपर्दो सल्लाह दिने जनशक्ति थिएनन् । भौगोलिक विकटता , श्रोतसाधनको कमी र जनशक्ति नहुँदा कृषि र पर्यटनमा बग्रेल्ती समस्या जन्मिन्थे । तर, विकट हिमालपारिको जिल्ला मुस्ताङसहित धौलागिरिका ४ जिल्लालाई समेट्दै सीपमूलक शिक्षा सिकाउने लक्ष्यसहित धौलागिरि प्राविधक शिक्षालय मुस्ताङको थासाङ–३ कालोपानी लेतेमा २०५३ सालमा स्थापना भयो ।

Advertisement

त्यसपछि कृषि र पर्यटनमा सैद्धान्तिक र प्राविधिक शिक्षा आर्जन गर्ने सुनौलो अवसर धौलागिरिका ४ जिल्लाका विद्यार्थीले शिक्षालय मार्फत पाउन थाले । धौलागिरि हिमालको काखैमा थासाङको लेत कालोपानीमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आङ्गिक शिक्षालयको रुपमा धौलागिरि प्राविधिक शिक्षालय स्थापना भयो । अहिले यो प्राविधिक शिक्षालयले २५ औं वर्ष पुरा गरी २६ वर्षमा प्रवेश गरिसकेको छ ।

नेपाल सरकार अन्तर्गत सीटीईभिटीको लक्ष्य ‘सीपयुक्त नेपाल,समृद्ध जनता भन्ने दुरदृष्टिलाई आत्मसाथ गर्दै मुस्ताङमा पहिलो पटक २०५३ सालमा प्राविधिक शिक्षालय स्थापना भएको थियो । प्राविधिक शिक्षालय थासाङ–३ लेते कालापानीको करिव ४ सय रोपनी जग्गामा स्थापित छ । यसको संञ्चालक समितिको अध्यक्षमा जिल्लाका प्रजिअ हुन्छन् । सरकार अन्तर्गत सीटिईभिटीबाट स्वीकृत ४२ जनाको दरबन्दी सरकारले गरेको छ । जसअन्तर्गत २८ जना पर्यटन र कृषि प्राविधिक प्रशिक्षक छन् भने १४ जना प्रशासनिक कर्मचारी छन् ।

Advertisement

बर्सेनि २ सय जना जनशक्ति यस प्राविधिक शिक्षालयले सीप सिकाएर जनशक्ति उत्पादन गर्ने गरेको पाईएको छ । अन्नपूर्ण सरक्षण क्षेत्रमा अवस्थित होटल तथा रेष्टुरेण्टका कामदारलाई सीपयुक्त बनाउने उद्देश्यले यस प्राविधिक शिक्षालयले आफ्नै सुविधा सम्पन्न पाईन फरेष्ट लज एण्ड रेष्टुरेण्ठ संञ्चालन गरेको छ । मुस्ताङसहित म्याग्दी, बाग्लुङ, पर्वत कास्की, लमजुङ र मनाङ जिल्लालाई प्राथमिकतामा राखेर विभिन्न पर्यटकीय तथा कृषि सम्वन्धि समुदायको माग बमोजिम धौलागिरि प्राविधिक शिक्षालयले प्राविधिक धारको शिक्षा प्रदान गर्दै आइरहेको छ ।

समयसँगै शिक्षालयलाई अघि बढाउन सुरुआती स्थापना कालखण्डदेखि पर्यटनतर्फ १ वर्षे लज,होटल कुकिङ, १ वर्षे लज, होटल व्यवस्थापन र ६ महिने लज होटल बेटिङ/बार/हाउस किपिङ तालिमहरु सञ्चालनमा ल्याएको थियो । शिक्षालयले पर्यटन तालिममा मात्र सीमित नराखी नेपाली युवाहरुलाई पशु सम्वन्धि भेटनरी शिक्षाको तालिम दिएर दुध तथा मासुजन्य उत्पादनमा परनिर्भरता न्यूनिकरण गर्ने उद्देश्यले २०५८/०५९ सालदेखि पशु स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्यायो ।

पछिल्लो समय शिक्षालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय आवश्यकता र मागलाई सम्वोधन गर्दै २०७१/०७२ सालदेखि पर्यटन तर्फ प्रि–डिप्लोमा ईन कुलिनरी आटैस,कृषि तर्फ प्रि–डिप्लोमा ईन वालि विज्ञान र २०७२/०७३ सालदेखि प्रि–डिप्लोमा ईन होटल व्यवस्थापन बिषयका कार्यक्रमहरु थप सञ्चालनमा ल्याएको छ ।

सुरुआती चरणमा छोटो अवधिको प्राविधिक शिक्षा तालिमलाई धौलागिरि प्राविधिक शिक्षालयले चालुवर्षदेखि फराकिलो बनाउन विभिन्न कक्षा सञ्चालनमा ल्याएको जनाईएको छ । शिक्षालयले चालु आवदेखि पर्यटनतर्फ ३ वर्षीय डिप्लोमा होटल व्यवस्थापन, १८ महिने होटल व्यवस्थापन र १८ महिने कुलिनरी आर्टसको प्राविधिक शिक्षा सुरु गरेको छ भने,कृषितर्फ १८ महिने वालि विज्ञान र पशु विज्ञानको प्राविधिक शिक्षा संञ्चालनमा ल्याएको शिक्षालय प्रमुख खड्गबहादुर सुब्बाले जानकारी दिए ।

उनका अनुसार यस शिक्षालय मार्फत ३ वर्षीय होटल व्यवस्थापन सम्वन्धि तालिम पुरा गरेका बिद्यार्थीलाई सतप्रतिशत रोजगारीको सुनिश्चितता शिक्षालयले गरेको छ । मुस्ताङको लेत स्थित धौलागिरि हिमालको सुन्दर वातावरणमा यो शिक्षालय रहेकाले यहाँ आएर प्राविधिक शिक्षा लिने बिद्यार्थी उत्साहित हुँने गर्छन् । शिक्षालयको पर्याप्त भौतिक संरचना, प्राविधिक प्रशिक्षण लिने पर्याप्त खेतीयोग्य जमिन र शिक्षालयको आफ्नै होटल तथा लज भएकाले विद्यार्थीलाई प्राविधिक शिक्षा लिन सहज भएको शिक्षालय प्रमुख सुब्बाले बताए ।

उनका अनुसार सरकारी सिटीईभिटी मान्यता प्राप्त शिक्षालयले त्यहा शिक्षा लिन आउने बिद्यार्थीलाई सुपथ मुल्यमा खाने र बस्ने व्यवस्था मिलाएको छ । यस विद्यालयमा अन्नपूर्ण सरक्षण क्षेत्र बाहेकका ताप्लेजुङ, ईलाम, झापा, मोरङ, दैलेख, सुर्खेत, जाजरकोट, रुकुम, रोल्पा, जुम्ला र मुगु जिल्लाबाट समेत प्राविधिक शिक्षा लिन मुस्ताङ आउने गरेको शिक्षालय प्रमुख सुब्बाको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया