पोखरामा फैलिँदै फुड डेलिभरी

समाधान संवाददाता २०७९ भदौ २ गते १७:५४

अभिषेक अधिकरी
पोखरा ।

कोराना महामारीले संसारका सबैजसो क्षेत्र तहसनहस हुँदा अनलाइनका लागि भने यो स्वर्णीम्काल बन्यो । औषधी, खानेकुरा, दैनिक उपभोग्य सामानदेखि सबै जसो वस्तु अनलाइनबाटै अर्डर गर्ने प्रचलन बढ्यो । भौतिक दूरी कायम गर्दै स्वास्थ्य सजगता अपनाउनुपर्ने हुँदा अनलाइन डेलिभरी लोकप्रिय बन्यो ।

अनलाइन फुड डेलिभरीसमेत यो कालमा निकै बढ्यो । पहिलो चरणको लकडाउनमा सरकारले निकै कडाइ गरेकाले अनलाइन फुड डेलिभरी दिन नसकेको व्यवसायी बताउँछन् । दोस्रो लकडाउनमा भने उच्च सावधानीका साथ सेवा दिएको व्यवसायी बताउँछन् । महामारी छिचोल्दै यहाँसम्म आउँदा यो व्यवसायले राम्रो गति लिएको छ ।

अचेल घरमा अरु थोक सकिए पनि वाइफाइ भने हुन्छ । समय अभाव, पार्किङको समस्या जस्ता कारणले घरमै बस्नुपर्दा रेस्टुरेन्ट जान मिल्दैन । यस्तो अवस्थामा रहेकालाई अनलाइन डेलिभरीले निकै मद्दत गरेको छ । नयाँ परिकार खान, पाहुन आउँदा स्वागत गर्नदेखि कसैलाई खानेकुरा लगिदिन, पठाउन पनि यसले सघाएको छ ।

Advertisement

अहिले पोखरामा दर्जन बडी अनलाइन फुड डेलिभरी दिने फर्म छन् । ती फर्मले समय तोकेरै घर घरै खानेकुरा ल्याइदिन्छन् । कम्पनी दर्ता गरेर सञ्चालन दर्ता गर्नेमा पोखरा फुड डेलिभरी, फुडमुड, फुडमाण्डु लगायत छन् । आफ्नै भान्छा भएका ‘क्लाउड किचन’ अन्र्तगत रक्सी सुकुटी, फुड स्वाइप, खानपिन लगायतका कम्पनी छन् ।

सामान्यतः पोखराका फुड डेलिभरी कम्पनीले यहाँका नामी रोस्टुरेन्टका खाना ग्राहकको घरमा लैजान्छन् । ‘क्लाउड किचन’ अन्तर्गतका ‘रक्सी सुकुटी’ लगायतका कम्पनीले आफ्नै भान्छाका परिकार पु¥याउँछन् । यस्ता रोस्टुरेन्ट भौतिक रुपमा आउने ग्राहकका लागि भन्दाअनलाइन व्यवपारमै केन्द्रित छन् ।

Advertisement

फुड डेलिभरी व्यवसायी ग्राहकको रुचि अनुसारतातो सुपदेखि या चिसो जुससम्म सबै खालका खानेकुरा ग्राहकलाई दिन सक्ने बताउँछन् । आफूहरुसँग तातो–चिसोमेन्टेन गर्न सक्ने डेलिभरी ब्यागहरु रहेको फुडमान्डुका पोखरा इन्चार्ज विवेक सापकोटाले सुनाए । फुडमान्डुले कोल्ड ड्रिंक्स, आइसक्रिम जस्ता खानेकुराका लागि फरक डलिभरी डिपार्टमेन्ट नै बनाएको छ । ‘त्यसो त ग्राहकले थुप्पा र ककटेल जस्ता खाद्यान्न हम्मेसी अर्डर गर्दैनन् । हामीसँग आइसक्रिम, कोल्ड डिंक्स डोलिभरी गर्न छुट्टै सुविधासहितको स्पेसल टिम छ’, उनले भने ।

फुडमुड पोखराबाट सुरु भएको कम्पनी हो भने फुडमान्डु काठमाडौंको कम्पनी हो । फुडमान्डुले पोखरामा शाखा चलाएको छ । फुडमुडले अहिले पोखरासँगै बुटवल, भैरहवा र चितवनमा शाखा खेलिसकेको म्यानेजर सोनु लामाले बताए । अनलाइन फुड डेलिभरी व्यवसायीले बेलाबेलामा अफर ल्याउने गरेका छन् । अनलाइनमा फोनबाट भन्दा ‘एप्स’मार्फत अर्डर गर्दा फाइदाजनक हुने म्यानेजर लामालेजानकारी दिए ।‘कहिले खानामा डिस्काउन्ट, त कहिले घुमफिरको कार्यक्रम ल्याएका हुन्छौं । यो सबै जानकारी एप्समा हुने नै भयो,’ फुडमुड प्रबन्धक लामाले भने,‘सबै अफर सेवाग्रहीलाई फोनमा बताउन सम्भव हुँदैन, त्यसैले पनि एप्स बढी लाभदायक हुन्छ ।’

पोखरेलीका प्रिय खाना
पोखरामा हाल बिरयानीको माग अत्यधिक रहेको व्यवसायी बताउँछन् । हलाल अन्तर्गत पर्ने स्वादिलो र स्वास्थ्य खाना भएकाले पनि बिरयानी पोखरेलीले निकै रुचाएका हुन् । ‘बिरयानी हलाल खाना अन्तर्गत पर्ने भएकाले पनि मासु स्वस्थ्य रहन्छ भन्ने उपभोक्ताको बुझाइ छ । जुन सत्य हो,’ फुडमान्डुका इन्चार्जसापकोटा भन्छन् । फुडस्वाइपका सञ्चालक बिराज थापाको बिरयनी पोखरेलीको स्वाद अनुसारको खाना भएको अनुभव छ ।

खानपिनका सहसंस्थापक प्रसिद्धसिं अधिकारीले सेवाग्राहीको रोजाईमा ‘पोर्क’ बिरयानी पर्ने गरेको सुनाए । सर्वाधिक बिक्रीहुने खानामा मःम पर्ने पोखरा फुड डेलिभरीका सहसंस्थापक कृति श्रेष्ठ बताउँछिन् । पिज्जा पनि पारखीहरुले रोज्ने गरेका छन् ।
क्लाउड किचन अन्तर्गतको ‘रक्सी सुकुटी’का सञ्चालक महेश्वर भण्डारीले आफ्नो विशेषता नै सुकुटी रहेकाले सेवाग्राहीको मुख्य मागमा यो पर्ने जनाए ।‘हाम्रो नाम रक्सी सुकुटी भएकाले ग्राहकले नाम अनुसारकै खाना पाइन्छ भन्ने सोच्नुहुन्छ,’भण्डारी भन्छन्,‘हामी सयभन्दा बढी रेसिपी पस्कन्छौं । हाम्रो बिरयानीलाई ग्राहकले निकै रुचाउनु भएको छ ।’

विदेशी बढी भरपर्दा
पोखरा आउने सार्क राष्ट्र बाहिरका पर्यटकले अनलाइन फुड डेलिभरीमा निकै विश्वास गर्ने गरेका छन् । ‘विदेशमा लामो समयदेखि फुड डेलिभरीको सेवा लिँदै आएका भएर पनि होला कहिलेकाँही केही मिनेट ढिला हुँदा पनि मलाई ताजा खाना ल्याइदिनुस् भन्छन्’, खानपिनका सहसंस्थापकअधिकारीले भने, ‘नयाँ भएर पनि होला नेपालीलाई शंका गरेको देखिन्छ ।’

अनलाइन फुड विदेशीको आदत भएकाले पर्यटक बढ्दा व्यवसाय फस्टाउने पोखरा फुड डेलिभरीकी सञ्चालक कृति श्रेष्ठ सुनाउँछिन् ।

व्यवसायका चुनौती
खानपिनका सहसंस्थापक अधिकारीले ग्राहकले खानामा नून चर्कोमात्रै भए पनि तत्काल अर्डर ‘रिप्लेस’ गरिने बताए । ‘हाम्रो खानामा नून चर्को भयो भन्ने गुनासो आयो भने पनि तत्काल फिर्ता ल्याउँछौ,’ उनले भने, ‘हामी उक्त खाना चाख्छौं, के कारणले गडबडी भयो जाच्छौँ र फेरि यस्ता कमजोरी नगर्न विशेष ध्यान दिन्छौं ।’ अरुको खानाको गुणस्तर आफ्नो कम्पनीले चेकजाँच गर्न नमिल्ने भएकाले पनि आफ्नो भान्छाबाट मात्रै खाना ग्राहकलाई खाना दिने गरिएको उनको भनाइ छ ।

खानाको तातोपन जोगाइराख्न उत्कृष्ट ‘डेलिभरी ब्याग’ प्रयोग हुँदै आएको व्यवसायीहरु दाबी गर्छन् । पोखरा फुड डेलिभरीका म्यानेजर लामाले आफ्नो कम्पनीले विभिन्न डेलिभरी ब्यग अध्ययन गरेर उत्कृष्ट छनोट गरेको जनाए । ‘हामीले पाँच खालका झोला अध्ययन गर्‍यौं । कर्मचारीलाई बोक्न सजिलो र खानाको गुणस्तर मेनटेन गर्ने ब्याग रोज्यौ,’ लामाले भने ।

फुडमुडका सञ्चालक प्रगत कायस्थले अपरिपक्व व्यवासयीले गर्दा व्यवसाय थप चुनौतीपूर्ण भएको बताए । ‘अपरिपक्व व्यवसायीले दर्ता नगरी काम गर्नुहुन्छ, सुरुमा निशुल्क सेवा दिनुहुन्छ, गोजीको पैसा रित्तिएपछि बल्ल व्यापार घाटामा गएको थाहा हुन्छ । अनि कम्पनी बन्द गरिहाल्छन्’, उनले भने‘यस्ता गतिविधिले अस्वास्थ्य प्रतिस्पर्धामात्र बढाउँछन्’ । सामाजिक सञ्जालमाविज्ञापन गरी करको दायरामा नआउनेहरुले अनलाइन व्यवसायलाई अस्वस्थ बनाएको ब्यवसायी बताउँछन् । सरकारले दर्ता विना चलेका फामलाई कारवाही गर्दै करको दायरामा ल्याउनुपर्ने पोखरा फुड डेलिभरीकी कोफाउन्डर कृति श्रेष्ठ सुनाउँछिन् ।

फुड डेलिभरी कम्पनीको पोखरामा संगठन छैन । व्यवसायिक एकता नभएकाले पनि आफूहरुका माग सम्बोधन नभएको फुडमुडका प्रबन्धक लामाको तर्क छ । ‘रक्सी सुकुटी’का सञ्चालक महेश्वर भण्डारीले पोखरामा फुड डेलिभरीको विस्तार हुने क्रममा रहे पनि भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनपश्चात उचाईमा पुग्ने आकलन सुनाए ।

२४ घण्टा डेलिभरी गर्दा पनि अहिलेसम्म डेलिभरी कर्मचारी र सेवाग्राही कसैलाई समस्या नपरेको व्यवसायीहरु बताउँछन् ।उनीहरु पोखरामा बड्दो सहरीकणले उत्साहित देखिन्छन् । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै सहर २४ औ घण्टा व्यस्त रहने आशा गरेका छौं,’खानपिनका सहसंस्थापक अधिकारीले भने,‘यसले हाम्रो व्यवसायलाई सुरक्षित र नयाँ उचाईमा पुर्‍याउँछ ।’

तपाईको प्रतिक्रिया