राष्ट्रपतिले फर्काएकाे नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताकाे तस्तै पारित

मत विभाजन गरेर निर्णय, पक्षमा १३५ मत र विपक्षमा ६० मत

समाधान संवाददाता २०७९ भदौ २ गते १८:५३

पाेखरा ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संशाेधनकाे अपेक्षा गर्दै फिर्ता पठाएकाे नागरिकता सम्बन्धि विधेयक प्रतिनिधि सभाले जस्ताकाे तस्तै पारित गरेकाे छ ।

अघिल्लाे पटक ध्वनी मतका आधारमा बहुमतबाट पारित भएकाे विधेयकलाई यस पटक भने मतदान गरेरै पारित गरिएकाे हाे । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ध्वनी मतबाट पारित गर्न नमान्दै मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकाेटाले मतदान प्रकृया अपनाएका थिए ।

Advertisement

प्रतिनिधि सभामा मतदान हुँदा विधेयककाे पक्षमा १३५ मत खस्याे भने विपक्षमा ६० मत खसे । मतदानमा १९५ सांसद सहभागी थिए ।

सत्तारुढ गठबन्धनकाे निर्णय अनुसार नै सरकारमा सहभागी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी सहित तराईवादी दलहरुले विधेयककाे पक्षमा मतदान गरे भने नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गरे ।

Advertisement

राष्ट्रपतिले विवाह गर्ने वित्तिकै बुहारीलाई नागरिकता दिने प्रावधान सहित ८ बुँदामा असन्तुष्टि जनाउदै विधेयक फिर्ता गरेकी थिइन् । तर सत्तारुढ दललेे बहुमतकाे आधारमा राष्ट्रपतिकाे आग्रहलाई अस्वीकार गरेर जस्ताकाे तस्तै विधेयक पठाउने गरी प्रतिनिधि सभाबाट पारित गरेकाे छ ।

तपाईको प्रतिक्रिया