चुनावमा पुराना छान्ने कि नयाँ ?

समाधान संवाददाता २०७९ भदौ २ गते १९:४८

डा. सञ्जय कोइराला
मंसिर ४ गते संघीय र प्रदेश सभाको चुनाव एकै चरणमा हुने घोषणा भएलगत्तै देशमा अब चुनावी माहोल सुरु भएको अवस्था छ । पुराना पार्टीका पुराना नेताविरुद्ध सामाजिक सञ्जाल बेसरी तात्न थालिसकेका छन् । युवा राजनीतिमा आउनु पर्ने, पुराना नेता अब विस्थापित हुनुपर्ने चर्को आवाज उठिरहेको छ । नयाँ पुस्ता विस्तारै राजनीतिमा आवद्ध हुँदै गएका छन् । कांग्रेस र एमालेमा पनि नयाँ पुस्ताको थोरै आवाज उठे पनि माओवादीमा अर्को पुस्ताको नेतृत्वको खडेरी देखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कमल थापा युगबाट नयाँ पुस्ताको हातमा पुगेको छ ।

राप्रपाका नया अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिको फोहोरी रुपलाई यथार्थ चित्रण गर्दै आफ्ना पुराना एजेन्डामा नै अडिग रही फेरि जनतामाझ जाने जमर्को गरिसकेका छन् । रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले अस्तित्वको संघर्ष गरिरहेको अवस्थामा ‘विचारभन्दा माथि देश’ले राजनीतिमा अर्को तरंग पैदा गरेको छ । उनले अब के गर्लान् भन्ने पनि चासोको बिषय बनेको छ । नेपाली जनतामाझ इमान्दार छवि बनाएका पूर्व डिआइजी रमेश खरेल पनि नेपाल सुशासन पार्टीबाट जनतामाझ परीक्षणका लागि आएका छन ।

यस्तैमा वर्षौंदेखि जनतासँग सिधा कुरा गरेर ख्याति कमाएका टेलिभिजन प्रस्तोता रवि लामिछाने पनि आफ्नो व्यवसाय छोडेर राजनीतिमा होमिंदै देश दौडाहामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पाइरहेको जनसमर्थनले राजनीति वृतमा केही हलचल अवश्य पनि पैदा गरेको छ ।

Advertisement

पार्टीभक्त सिमितबाहेक आम जनमानसमा अब कसलाई पत्याउने, कसलाई राज्यसत्तामा पठाउने भन्ने ठूलो दुविधा हुन थालेको छ । वर्षौंको विरासत जोगाउन ठूला पार्टीलाई चुनौती थपिएको छ । परिवर्तनको बिगुल फुक्ने साना पार्टीका साथै नयाँ खुलेका र खुल्दै गरेका पार्टीहरु जनतालाई आफ्नो पक्षमा पार्न आकर्षक घोषणापत्र बनाउन कस्सिएका छन् । जनतामा अन्योलको अवस्था छ ।

पुराना ठूला दलहरु बारम्बार चुनावमा अब्बल तर राज्य सञ्चालनको परीक्षामा अनुत्तीर्ण हँुदै गर्दा पनि अझै उनीहरुप्रति नै आशा राख्नेहरुको जमात ठूलो छ । ठूलो विरासत बनिसकेका कारण नयाँ बन्ने पार्टीभन्दा स्थापित भइसकेकै पार्टीहरुबाट मात्रै राजनीति गर्न र चाहेको परिवर्तन गर्न सहज हुने विचार बोकेका परिवर्तन चाहने केही युवा नेता पुरानै पार्टीमा संघर्षरत छन् । यस्तोमा अब आउने चुनाव राज्यका लागि पनि ठूलो परीक्षा हुनेवाला छ ।

Advertisement

रवि, रवीन्द्र, रमेश र राजेन्द्र अहिले सोसल मिडिया र सञ्चारमाध्यममा चर्चाको केन्द्रमा छन्

पुराना पार्टीहरु परीक्षण भइसकेका र अझै पनि पुरानै नेतृत्वमै रहिरहेका हुँदा अब उनीहरुबाट आश गर्नु मूर्खता हुने मेरो बुझाइ छ । एकापसमा मिलेर राज्य सत्ता र राज्यको ढुकुटी हत्याउने काममा पोख्त यिनीहरु रहेसम्म भ्रष्टाचार र कु–शासन हट्ने आस राख्नु दूधको साक्षी बिरालो बराबर हो भन्दा फरक नपर्ला । यिनीहरु रहुञ्जेल कुनै पनि ठूला भ्रष्टाचारी जेल पर्ने वाला छैनन् ।
कुनै पनि ठूला ठेकेदारले काम समयमा सम्पन्न गर्ने वाला छैनन्, कुनै पनि ठूला अपराधी कानुनको कठघरामा उभिनेवाला छैनन् । जनार्दन शर्मा र एम अधिकारी काण्डलाई उदाहरणका रुपमा लिन सकिन्छ । न त सिसिटिभीको फुटेज भेटिन्छ, न एम अधिकारीको वास्तविकता जनतासामु आउँछ । यिनीहरु रहुञ्जेल यसरी नै राजनीति चलिरहनेछ ।

अब साना र नयाँ दल पनि त धेरै नै छन्, किन यी ४ जनाको मात्रै नाम आएको होला भन्ने जिज्ञासातिर जाऊँ । रवि, रवीन्द्र, रमेश र राजेन्द्र अहिले प्रायः जसो सोसल मिडिया, टेलिभिजन या पत्रपत्रिकामा सबैभन्दा बढी चर्चामा रहेका नाम हुन् । रवि लामिछानेको देश दौडाहा कार्यक्रमले राजनीतिलाई निकै तताइरहेको छ । उनको समर्थनमा आएको जनलहरले धेरैलाई सशंकित बनाएको छ, एमाले अध्यक्ष ओलीसमेत उनलाई कटाक्ष हान्ने तहमा उत्रिसकेका छन् । रवि र ओलीको दोहोरी टिकटकमा भाइरल भइरहेको छ ।

रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी विघटनको चरणमा पुगेता पनि मिडियामा उनको विचारभन्दा माथि देशको निकै चर्चा चलिरहेको छ । आफू गणतन्त्र, धर्म निरपेक्षताको पक्षमा भए पनि हाम्रो जस्तो देशका लागि आवश्यक रहेको भनी राजसंस्थासहितको मोडरेट कन्जर्भेटिभ डेमोक्रसी, संघीयता खारेजी र हिन्दू–बौद्ध राज्यको बिषयमा जनमत संग्रहको आवाज उठाएका उनले अहिले सोसल मिडियामा तरंग पैदा गरेका छन् । जनताले कसरी मूल्यांकन गर्छन् भन्ने त समयले नै देखाउने छ तर मिडियाले कत्तिको प्रभाव पार्न सक्छ भन्ने त स्थानीय तह निर्वाचनमा बालेनको विजयले झल्काइसकेको छ ।

राज्यको सुरक्षाको मामिलामा आफूलाई खरो चरित्रको रुपमा उभ्याएर जनतामाझ कुनै समय चर्चामा रहेको परिचित नाम हो भूतपूर्व डिआइजी रमेश खरेल । राष्ट्रको सुरक्षा सेवामा आफ्नो कार्यकाल लगभग बिताएका उनी अपराधीहरुका लागि कुनै बेला खतराका घन्टी र जनताका लागि मसिहाको रुपमा आफूलाई उभ्याउन सफल पनि भएका थिए । आफ्नो इमान्दारिताका लागि जनतामाझ लोकप्रिय बनेका रमेश खरेल पनि अहिले राजनीतिमा होमिएका छन् ।

देशमा व्याप्त टिके प्रथाको कारण आफ्नो जागिर छोडेर नेपाल सुशासन पार्टीबाट अहिले राजनीतिको मैदानमा आएका रमेश खरेलको चर्चा अरु जत्तिको नभए पनि उनको राष्ट्र र जनताप्रतिको व्यवहार सबैले देखेको हुनाले म उनलाई पनि भविष्यको कुशल राजनीतिज्ञको रुपमा देख्न चाहन्छु । अर्का पात्र राजेन्द्र लिङ्देन पनि बेला बेलामा चर्चामा बसिरहेका अर्का पुरानो समूहका नयाँ पात्र हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा उनको उदयले सुषुप्त अवस्थामा रहेका हिन्दूहरु र राजतन्त्रवादीमा एउटा उत्साहको लहर थप्ने काम गरेको छ ।

उनको राजनीति र प्रचलित नेताहरुप्रतिको कटाक्षले जनतालाई आफ्नोपनको अनुभूति दिने काम गरिरहेको छ । जनताले सोचेकै जसरी सोच दिन केहि हदसम्म सफल पनि भएका छन्, उनको पक्षमा जनलहर बढिरहेको देखिएको छ ।

अर्को एउटा नाम पनि लिनु पर्छ जस्तो मलाई लाग्छः डा. बाबुराम भट्टराई । देशले पाएका प्रधानमन्त्रीमा केही उल्लेख्य काम गर्न खोजेका र जनताले सम्झिने गरी आफूलाई प्रस्तुत गरेका उनी नमुना नेता हुन् । उनको शैक्षिक योग्यता, राजनीतिक उतारचढाव, नयाँ नयाँ पार्टी खोल्ने कार्यले उनको चर्चा रोकिन दिएको छैन । उनीबाट पनि जनताले केही आस गर्न छोडेका त छैनन् तर उनको उतारचढाव पूर्ण राजनीतिले उनलाई आसलाग्दो नेताको क्रमांकमा केही तल नै पु¥याएको मेरो विश्लेषण छ ।

अब यो दोधारको अवस्थामा जनताले कसरी योग्य नेतृत्व छान्ने भन्ने प्रश्न अहम् बनेर आउँछ । लोकतन्त्रमा जनताका लागि महत्वपूर्ण भनेको ५ वर्षमा जम्मा १ दिन हो, त्यो हो निर्वाचनको दिन । एक दिन, त्यो पनि एकदमै छोटो समयमा जनताले आफ्नो र राज्यको लागि आफ्नो तर्फबाट प्रतिनिधि छान्ने दिन । यो एक दिनले हाम्रो आफ्नो र देशको भविष्यमा निर्णायक भूमिका खेल्छ । वियालयमा एउटा बिषयमा वर्षभरि पढेको कुराको परीक्षा एकै दिन दिइन्छ तर त्यसको लागि हामीले वर्षभरि नै मेहनत गर्नु पर्छ ।

विद्यालयको परीक्षा त एक पटक फेल भएमा अर्को वर्ष तयारी गरेर फेरि दिन पाइन्छ तर निर्वाचनमा हामीले एक दिन दिने भोटले अयोग्य नेतृत्व चुनिएमा हामी आफू र राज्यले अर्को ५ वर्ष दुःख पाउनु पर्छ । अतः ५ वर्ष महत्व राख्ने एक दिनको हाम्रो त्यो परीक्षाका लागि हामीले कति विचार, कति मेहनत गर्नु पर्ला, एकपल्ट गहिरिएर सोचौं । हामीले अहिलेसम्म के गरिरहेका छौँ, कसरी आफ्ना जनप्रतिनिधि चुनिरहेका छौँ, अब एकपल्ट गहिरिएर सोच्नुपर्ने बेला भएको छ ।

रवि, रवीन्द्र, रमेश या राजेन्द्र भनेर भनिरहँदा म कसैको पक्ष या विपक्षमा आफूलाई उभ्याउन चाहन्नँ । हरेक मानिस आफूले चाहेको प्रतिनिधि रोज्न स्वतन्त्र छ । मैले सोचेको जस्तै अरुले पनि सोच्नु पर्छ भन्नु एउटा भूलमात्र होला । यी पत्रहरु मात्र प्रतिनिधिका लागि उभ्याएको हुँ । हामीले आफ्नो आफ्नो क्षेत्रबाट उठ्ने प्रतिनिधिको शैक्षिक योग्यता, बिषयगत कार्यकुशलता, मानवीय चरित्र, समाजमा पु¥याएका योगदान जस्ता विभिन्न पक्षलाई सुनेको भरमा भन्दा आफैले विस्तारमा बुझेरमात्रै आफ्नो भोट उनीहरुलाई दिनु पर्छ ।

क्षणिक लोभ, लालचमा परेर गरिने १ दिनको निर्णयले ५ वर्ष पछुताउनुभन्दा उमेद्वारी दर्ता भएदेखि नै हामी सबैले उनीहरुको बारेमा विस्तृतरुपमा बुझेरमात्र आफ्नो निर्णय गर्नुपर्छ भन्ने मेरो आग्रह हो । यो हाम्रालागि परीक्षा हो र हामी यसमा उत्तीर्ण हुन केही मेहनत आफैंले पनि गर्नुपर्छ । उनीहरुको योग्यता, दूरदृष्टि, प्रस्तुति सबैको बारेमा जान्न अहिले सोसल मिडियाले धेरै सजिलो पनि बनाइदिएका छन् ।

मेरा बा कांग्रेस या एमाले, त्यसैले म पनि कांग्रेस या एमाले । यी भए भने मेरो काम गर्देलान्, यी मेरा आफन्त हुन्, यिनलाई जिताउनै पर्छ आदि जस्ता मनोभावनामा बगेर हैन, यी मान्छे खूबी भएका इमान्दार छन्, यिनले राज्यका लागि केही गर्न सक्छन भन्ने कुरामा ढुक्क भएरमात्र नेता छानौं । बोल्न जान्ने तर योग्यता र कार्यकुशलता नभएकालाई पहिचान गर्न गाह्रो हुने भए पनि प्रयासचाहिँ गरौँ । यो हाम्रालागि मात्र होइन, हाम्रो सन्ततिको भविष्यका लागि पनि हो भन्ने बुझौं । राष्ट्रिय स्वार्थका लागि व्यक्तिगत स्वार्थ छोडेर विचार गरौँ ।

तपाईको प्रतिक्रिया